राजनीति

लुम्बिनी प्रदेशमा राष्ट्रपति शासन लागू होला ?

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । आफूविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेस हुने दिन नै उनले पदबाट राजीनामा दिएका छन् । त्यससँगै उनले प्रदेश सभा पनि अन्त्य गरिदिएका छन् ।

पोखरेलले प्रदेश सभामा बहुमत गुमाएका छन् । प्रदेश सभामा बहुमत गुमाएको मान्छे मुख्यमन्त्री पदमा कायमै रहनु नहुने हो । तर, प्रदेश प्रमुखले अर्को सरकार नबनिञ्जेलसम्म सरकारको काम गर्न जिम्मेवारी तोकेका छन् ।

लुम्बिनी प्रदेशमा राजनीतिक उथलपुथल भएपछि केन्द्र सरकार चिन्तित बनेको छ । प्रधानमन्त्री केपी ओली आफ्ना सबैभन्दा विश्वास पात्र पोखरेलको पद जाने भयले हतार हतार राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शीतल निवास पुगे ।

स्थायी कमिटी बैठक बीचमै छाडेर शीतल निवास पुगेका ओलीले लुम्बिनी प्रदेश सभा भंग गरी त्यहाँ राष्ट्रपति शासन लागू गर्न सिफारिस गरेको बालुवाटार उच्च स्रोतले जानकारी दिएको छ । राष्ट्रपति कार्यालयले भने अहिलेसम्म प्रधानमन्त्रीसँग भएको भेटबारे कुनै औपचारिक जानकारी दिएको छैन ।

राष्ट्रपति र प्रधानमन्त्रीको भेटवार्तापछि राजनीतिक वृत्तमा लुम्बिनी प्रदेश सभा भंग गरी राष्ट्रपति शासन लागू हुने वा स्वास्थ्य संकटकाल लागू गर्नेमध्ये कुनै एक घोषणा हुन सक्ने आकलन गरिएको छ । आफ्नो एकल सरकार बन्न सक्ने अवस्था नभए प्रदेश सभा नै भंग गर्ने सल्लाह एमालेका बहुमत स्थायी कमिटी सदस्यले दिएको बुझिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *