समाचार

बिहे भोजमा सामेल होटल हायातका १८ कर्मचारीलाई कोरोना संक्रमण

काठमाडौं । सरकारले धेरै मानिस जुटाएर बिहेभोज गर्न रोक लगाएको छ । कोरोना संक्रमण तीव्र फैलिएकाले सरकारले निषेधाज्ञासमेत लगाएको छ । तर, पनि सरकारको सो निर्देशनलाई अटेर गर्दै निषेधाज्ञामा पनि बिहे भोज दिने पाँचतारे होटल हायातका १८ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।

बिहेभोजको लागि भारतबाट आएका कालिगढबाट कर्मचारीमा कारोना सरेको होटल स्रोतले जनाएको छ। एक सय ४० भन्दा बढी कर्मचारीमा गरिएको परीक्षणमा १८ जनालाई कोरोना पुष्टि भएको हो। कतिपय कर्मचारीको कोरोना रिपोर्ट आउन बाँकी छ।

केही दिनअघिको वैवाहिक कार्यक्रमको लागि खाना बनाउन र फूल सजाउन आएका भारतीय कालिगढबाट कोरोना सरेको हुन सक्ने सम्बद्ध स्रोतले जनाएको छ। धेरै कर्मचारीमा एकसाथ कोरोनाको जस्तै लक्षण देखिएपछि स्वाब परीक्षण गरिएको थियो। आइतबारसम्म होटलले वैवाहिक समारोहका बुकिङ जारी नै राखेको छ। स्रोतको अनुसार सोमबारका लागि समेत करिब सयजना सहभागी हुने गरी विहेभोजको तयारी छ।

निषेधाज्ञा अवधिमा विवाह, व्रतबन्धमा १५ जनाभन्दा बढी भेला हुन नपाउने नियम छ। तर हायात परिसरमा निरन्तर वैवाहिक कार्यक्रम हुँदै आएको स्रोतको दाबी छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *