देश

कांग्रेस पदाधिकारीको बैठक स्थगित, अब भोलि बस्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी र पूर्वपदाधिकारी बैठक स्थगित भएको छ । कांग्रेसका केही नेतामा स्वास्थ्य समस्या देखिएपछि बैठक स्थगित भएको हो ।

प्रधानमन्त्री केपी ओलीले बैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि त्यसबारे धारणा बनाउन देउवाले आज दिउँसो पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका थिए । अब सो बैठक मंगलबार दिउँसो बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएकाले बैठक स्थगित भएको बताइएको छ । पौडेलले आजको बैठकमा आफू उपस्थित हुन नसक्ने जानकारी गराएका थिए ।

सोमबार मात्रै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण देखिएको छ । केन्द्रीय सदस्यहरु शंकर भण्डारी र चीनकाजी श्रेष्ठ कोरोना संक्रमणका कारण आइसोलेसनमा छन् । भण्डारीको परिवारका सबै सदस्यलाई कोरोना संक्रमण देखिएको छ ।

कांग्रेस बैठकमा पार्टी महाधिवेशनको आन्तरिक विषयसँगै प्रधानमन्त्री ओलीले बहुमतको विश्वास छँदाछँदै संसद अधिवेशन आह्वान गरेर विश्वासको मत लिन लागेको विषय पनि छलफलको मुद्दा बन्ने बताइएको थियो । प्रधानमन्त्री ओलीले विश्वावको मत लिन लाग्दा पार्टी रणनीति कस्तो हुने र अन्य दलसँगको सहकार्य कसरी अघि बढाउने भन्ने विषयमा कांग्रेसले पदाधिकारी बैठकबाटै रणनीति तय गर्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *