देश

कोरोना संक्रमणका कारण निषेधाज्ञा गर्ने जिल्ला ४२ पुगे (सूचीसहित)

काठमाडौं । कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्ने उद्देश्यले पूर्ण तथा आंशिक निषेधाज्ञा जारी गरिएका जिल्लाहरुको संख्या ४२ पुगेको छ ।
कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले ३१ जिल्लामा पूर्ण र ११ जिल्लामा निश्चित स्थान तोकेर आंशिक निषेधाज्ञा जारी गरेका हुन् ।

सोमबार बिहानदेखि बर्दियामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ । यसअघि ठाउँ विशेषमा निषेधाज्ञा जारी गरिए पनि आज बिहान ६ बजेदेखि आउँदो ३१ गते बिहान ६ बजेसम्म पूर्णरुपमा निषेधाज्ञा लागू भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

बझाङमा र बैतडीमा आज बिहानैदेखि निषेधाज्ञा लागू भएको छ । बझाङमा आज बिहान १ बजेदेखि २६ गते राति १२ बजेसम्म र बैतडीमा आज बिहान ८ बजेदेखि जेठ २ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी भएको गृहमन्त्रालयको विवरणमा उल्लेख छ । अर्घाखाँचीमा आज राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

कपिलवस्तुमा वैशाख २१ गते बिहान ४ बजेदेखि ३१ गते राति १२ बजेसम्म, धादिङमा पनि वैशाख २१ गते बिहान ६ बजेदेखि ३१ गते राति १२ बजेसम्म, नुवाकोटमा २१ गते बिहान चार बजेदेखि २७ गते राति १२ बजेसम्म र धनुषामा २१ गते विहान ६ बजेदेखि ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा हुने सूचना जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेका छन् । यसैगरी दैलेखमा पनि मंगलबार राति १२ बजेदेखि २८ गते राति १२ बजेसम्म जिल्लाभर पूर्ण निषेधाज्ञा लागू हुने छ ।

बागलुङ नगरपालिका क्षेत्रभर मंगलबार बिहान ६ बजेदेखि ३० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । यसअघि बागलुङ नगरपालिकाका वडा नम्बर १२, १३ र १४ मा १७ गतेदेखि २४ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १६ गतेदेखि नै निषेधाज्ञा जारी छ ।

बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, मोरङ, गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालीकोट, स्याङ्जा, रामेछाप, ताप्लेजुङ र बैतडीमा निषेधाज्ञा जारी गरिएको छ ।

यस्तै रामेछाप, ताप्लेजुङ, अर्घाखाँचीमा आज रातिदेखि लागू हुनेगरी र नुवाकोट, धनुषा तथा दैलेखमा मङ्गलबारदेखि लागू हुने गरी आदेश जारी गरिएको छ । त्यसमध्ये रामेछाप, ताप्लेजुङ, स्याङ्जा, कालीकोट, मकवानपुर, बाजुरा, गोरखा, काभ्रेपलाञ्चोक, मोरङ, दार्चुला र बाग्लुङमा आंशिक निषेधाज्ञा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *