राजनीति

नेपाल–खनाल समूहका २० सांसदले राजीनामा दिने !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई सरकारबाट हटाउन नेपाल–खनाल पक्षका सांसदहरुले सामुहिक राजीनामा दिने भएका छन् । निर्णय भएको छैन, तर यस विषयमा उनीहरु गम्भीर छलफलमा जुटेका छन् । छलफलमा सहमति जुटे नेपाल–खनाल समूहका ३० जना सांसदले राजीनामा दिने बुझिएको छ ।

प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिने निर्णय गरेसँगै एमालेको नेपाल–खनाल पक्षका सांसद सामूहिक राजीनामा गर्ने छलफलमा जुटेको हुन् ।

सांसदबाट राजीनामा गर्ने राजनीतिक निर्णयबारेमा छलफल भइरहेको छ । तर, यसबारेमा टुंगो लागिसकेको नेपाल निकट स्रोतले भन्यो । नेपाल पक्षका सांसदमध्ये कम्तीमा २० जनाले राजीनामा दिएको अवस्थामा विपक्षी गठबन्धनलाई सरकार बनाउन सहज हुने देखिएको छ ।

त्यसो हुँदा संसदमा २ सय ५१ जना सांसद हुनेछन् । र, कायम रहेको सांसद संख्याको बहुमतले सरकार बनाउन बाटो खुल्नेछ । त्यसअनुसार १ सय २८ जना भए बहुमत पुग्छ । त्यसका लागि कांग्रेस–माओवादी गठबन्धनसँग रहेको १ सय ९ सिटमा १९ जना सांसद भए पुग्ने देखिएको हो ।

जसपाको उपेन्द्र–बाबुराम भट्टराई पक्षका १८ सांसद र जनमोर्चाको १ सांसद जोड्दा बहुमत संख्या पुग्न सक्छ । सरकार बन्ने अवस्था आउँदा उपेन्द्र यादव पक्षका सांसदको संख्या २२ सम्म पुग्न सक्ने देखिएको छ ।

२७ वैशाखमा विश्वासको मत लिनु अघि नेपाल पक्षका ३० जना सांसदहरूले राजीनामा दिएमा ओलीलाई थप समस्या पर्ने देखिन्छ । नेपाल पक्षका नेताहरू ओलीलाई सत्ताबाट ओराल्न जुनसुकै राजनीतिक निर्णय लिन सक्ने बताउँदै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *