देश

खोप खरिदमा डामिए प्रधानमन्त्री ओली, वैद्य र दुगडकै कारण भारतबाट आएन १० लाख डोज खोप

काठमाडौं । जनता अस्पतालमा बेड र अक्सिजन नपाएर धमाधम मरिरहेका छन्, तर प्रधानमन्त्री केपी ओली निकट व्यापारीले भारतबाट आउनुपर्ने १० लाख डोज कोभिसिल्ड खोप आउन नदिएर अपराध गरेका छन् ।

नेपालले सिरोम इन्स्टिच्यूट इन्डिया प्रालिसँग २० लाख डोज खोप खरिदका लागि सम्झौता गर्दै अग्रिम भुक्तानी गरिसकेको थियो । तर, सेरुम इन्स्टिच्यूटका नेपाली कमिसन एजेन्ट सुरज वैद्य र विजय दुगडले त्यसबाट आफूलाई आउनुपर्ने १० प्रतिशत कमिसन नपाएपछि खोप आउनै नदिएको चर्चा चलेको छ ।

यस विषयमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरे पनि उनले ‘ए तिनीहरूले त्यसो गरेछन्ड भनेर चासो नदेखाएको बुझिएको छ । सम्झौताअनुसार सो खोप फागुनमै आइसक्नुपर्ने थियो । नेपालले प्रतिखोप चार अमेरिकी डलरमा खरिद गरेको थियो । नेपाली एजेन्ट वैद्य र दुगडले आफूले पाउनुपर्ने कमिसन नपाएसम्म खोप नेपालमा नपठाउन लबिङ गरेपछि सिरमले स्वास्थ्य मन्त्रालयलाई ‘खोप दिन नसकिने, पैसा फिर्ता लैजाऊ’ पत्र लेखेको बताइन्छ ।

बेलायतको अक्सफोर्ड विश्‍वविद्यालयले विकास गरेको अष्ट्राजेनिका खोपको व्यावसायिक उत्पादन भारतको पुणेस्थित सेरुम इन्स्टिच्यूटले भारतको आग्रहमा नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएको थियो । नेपालले सेरमसँग थप २० लाख डोज खोपको सम्झौता गरेको थियो । त्यसमा १० लाख डोज खोप आइसकेको थियो । १० लाख डोज खोप आउन बाँकी थियो ।

वैद्य एमालेसँग निकट व्यवसायी हुन् । प्रधानमन्त्री ओलीसँग उनको भित्री सम्बन्ध छ । सोही कारण ओलीले वैद्यलाई ‘भिजिट नेपाल २०२०’ को संयोजक बनाएका थिए । उता, विजय दुगड प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोती दुगडका आफन्त हुन् । अहिले ओलीलाई व्यापारीहरूले घेरेका छन् । सोही कारण हरेक सरकारी निर्णयमा व्यापारी हाबी हुँदै आएको देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *