समाचार

माधव नेपाल पक्षमाथिको अनुशासनको कारबाही फिर्ता लिन ओली तयार

काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली झलनाथ खनाल र माधव नेपाल पक्षका नेताहरूमाथि चलाएको अनुशासनको कारबाही फुकुवा गर्न तयार देखिएका छन् । तर, एकलौटी थपेका पार्टी पदाधिकारी र सदस्य फिर्ता लिन माधव पक्षले राखेको माग सम्बोधन गर्न भने उनी अहिलेसम्म तयार देखिएका छैनन् । जसका कारण ठोस सहमति भइसकेको छैन । आज साँझसम्म एउटा सहमति हुने बुझिएको छ ।

एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाकालीन विवादलाई लिएर प्रधानमन्त्री ओलीले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीको साधारण सदस्यबाट ६ महिनाका लागि निलम्बन गरे । थप २७ जना माधव पक्षका सांसदलाई कारबाहीका लागि स्पष्टीकरण सोधेका छन् ।

माधव नेपाल पक्षविना पनि एमाले चलाउँछु भनेर हिँडेका ओली दुई महिनामै गलेका छन् । विश्वासको मत लिन तीन दिन बाँकी छँदै माधव नेपाल पक्षविना एमाले चलाउन सकिन्न र एमाले रहँदैन भन्ने महसुस भएपछि ओली अहिले माधव समूहलाई फकाउन तारन्तार छलफल र बैठकमा जुटेका छन् । कतिसम्म भने आफूले नसकेपछि उनले राष्ट्रपतिलाई पनि परिचालन गरेका छन् । ओली आफैंले पनि बिहीबार राति माधव नेपाललाई टेलिफोनमा कुराकानी गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन आग्रह गर्दा नेता नेपालले २०७५ जेठ २ कै अवस्थामा फर्के मात्र त्यो सम्भव भएको नत्र जस्तोसुकै कदम चाल्न पछि नपर्ने बताएपछि राति नै ओलीले माधव नेपाललाई फोनमा कुराकानी गरेको बताइएको छ ।

विष्णु पौडेल, ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङ दिनदिनै माधव पक्षका नेताहरू योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसालसँग संवादमा छन् । माधव पक्षले लुम्बिनी, कर्णालीमा झैँ फ्लोर क्रस गर्ने संस्थापन पक्षको डर छ । माधव पक्षले चाह्यो भने केन्द्रमा ओली मात्र होइन, चारवटै प्रदेशका मुख्यमन्त्रीको पद तत्काल गुम्ने निश्चित छ । सोही कारण अहिले ओली र नेपाल पक्ष विन विनको पक्षमा सहमति खोज्न थालेका छन् ।

ओलीले आजै दिउँसो बालुवाटारमा आफू निकटस्थको अनौपचारिक बैठक डाकेका छन् । ओलीनिकट एक नेताले नेपाल पक्षमाथिको कारबाही फुकाउने एजेन्डाका लागि त्यो बैठक डाकिएको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट