राजनीति

राष्ट्रिय सभा निर्वाचन : बादल, देवकोटा र तामाङबीच भिडन्त

काठमाडौं । बागमती प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि तीनजनाको उम्मेदवारी परेको छ । सत्तारुढ एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल, कांग्रेस–माओवादी केन्द्र गठबन्धनको तर्फबाट खिमलाल देवकोटा र नेमकिपाबाट कृष्णबहादुर तामाङको उम्मदेवारी परेको हो।

शुक्रबार वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा थापा, देवकोटा र तामाङले उम्मेदवारी दर्ता गराएका हुन्।

बादलको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत छन्।देवकोटाको प्रस्तावकमा माओवादी केन्द्र वाग्मती प्रदेश सभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थक कांग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घले छिन्। उनलाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एमालेको माधव नेपाल समूहको समर्थन छ।

नेमकिपाका उम्मेदवार तामाङको प्रस्तावकमा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं र समर्थकमा सिर्जना सैंजु रहेका छन्।
माओवादी केन्द्रबाट निर्वाचित थापा एमाले प्रवेश गरेपछि बागमती प्रदेशको राष्ट्रिय सभाको सिट रिक्त भएको थियो। जसमा जेठ ६ गते मतदान हुँदै छ।

एक पदका लागि तीनजनाको उम्मेदवारी परेकाले कसको पक्षमा कति मत पर्ला भन्ने अनुमान सुरु भएको छ । बागमती प्रदेशमा एमालेको मात्रै ५१ सय बढी मत छ । कांग्रेस र माओवादी केन्द्रको गरी झन्डै चार हजार मत छ । तर, एमालेको माधव समूहले फ्लोर क्रस गरेमा एक हजार मत घट्ने छ । जनमोर्चा र विवेकशील साझाको मत विपक्षी उम्मेदवारलाई नै पर्ने भएकाले बादल र देवकोटामध्ये एकले बाजी मार्ने निश्चित छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *