विचार

अन्तत: अप्रिय लागे पनि निकास त निर्वाचन नै हो


कोरोनाको अत्यासलाग्दो डढेलो सल्किरहेको समयमा सत्ता राजनीतिको फोहोरी खेलमा राज्यको सम्पूर्ण संयन्त्रको ध्यान केन्द्रित भएको छ । जनतउत्तरदायी शासन व्यवस्थाका गैरजिम्मेवार शासक प्रशासकले महामारीमा जनतालाई आश्वस्त बनाउन सकेका छैनन् । औषधि खरिदमा कमिसन खोरहरु बाधक भएको जानकारी गराएर स्वास्थ्यमन्त्री पानीमाथिको ओभानो बन्न खोजेका छन् । दलाल तस्करहरुको जालो तोड्न नसक्ने शासकहरुलाई राज्यको सेवा र सुविधा लिएर झन्डा हल्लाउने अधिकार छैन । राज्य जनताको सेवा, सुरक्षा र सहयोगका लागि आवश्यक हो । जब राज्य यी न्यूनतम कार्यभार पूरा गर्न असमर्थ हुन्छ, तब त्यो राज्यलाई मान्नुपर्छ भन्ने छैन । गैरजिम्मेवार सरकारका हरेक निर्णय पालना गर्न नागरिक बाध्य छैनन् । लोकतान्त्रिक शासन व्यवस्थाका निरंकुश शासकहरुका व्यवहार, गतिविधि र क्रियाकलापले आम नागरिकमा चरम निराश सञ्चार गरेको छ ।

विश्वासको मत लिने प्रधानमन्त्री ओलीको निर्णय बेमौसमको बाजा हो । सम्पूर्ण ध्यान जनताको स्वास्थ्य सेवा र उपचारमा लगाउनुपर्ने समयमा विश्वास र अविश्वासको खेलले सत्ता राजनीतिको कुरुपता प्रदर्शित भएको छ । प्रतिनिधि सभाको विघटन, पुनस्र्थापना र पुनस्थापनापछि नबनेको वैकल्पिक सरकारको परिदृश्यले दलहरुको क्षमतामाथि गम्भीर प्रश्न चिह्न लागेको छ । राजनीतिक संकटको समाधान दिन सक्ने सामथ्र्य दलहरुमा देखिएन । देश र जनताप्रति इमान्दार भएर प्रस्तुत हुने राजनीतिक संस्कारको अभावमा अराजकता फस्टाउँदै गएको छ । आफैले जारी गरेको संविधानबमोजिम चल्ने न्यूनतम, राजनीतिक इमान्दारिता पनि देखिएन ।

आफ्नो अनुकूल सत्तालाई चलाउने र घुमाउने काम कम्युनिष्टहरुको नेतृत्वमा भएको छ । जनप्रतिनिधि मुलक संस्था संसदको अपमान गर्ने र संसदलाई आफ्नो कार्य गर्नबाट रोक्ने चालबाजी र तिकडम गर्नु नै सफलता ठान्ने काम भएको छ । आफ्नो न्यूनतम जिम्मेवारी बहन नगरी सत्ता र शक्ति हत्याउने एकमात्र खेल संघ र प्रदेशमा भएका छन् । त्यसको अगुवाइ गरेका प्रधानमन्त्री ओली प्रतिपक्ष दलका नेताको निवासमा पुगेर सहयोगको याचना गरिरहेका छन् । प्रजातान्त्रिक संस्थाहरु कमजोर बनाएर शासन गर्न खोज्ने प्रधानमन्त्रीलाई चाहिएको सहयोग उपलब्ध गराउन सकिने अवस्था नभएको बुझ्दाबुझदै पनि दौडधुप रोकिएको छैन ।

आम नागरिकलाई निषेधाज्ञा लगाएर राजनीतिक जोडघटाउनको दौडधुप व्यापक चलेको छ । समयले यस्तै अनुमति दिएको छ त ? असामान्य अवस्था छ भन्ने कुरा सबै घटनाबाट पुष्टि भएको छ । अस्पतालमा आवश्यक औषधिोपचार नपाएर मानिसले अकालमा ज्यान गुमाएका छन् । प्रयाप्त मात्रामा परीक्षण हुनसम्म सकेको छैन । उपचार नपाउने, चर्को शुल्क तिर्नुपर्ने त सामान्य भएको छ । त्यसमा राज्य सञ्चालकहरुलाई सरोकार नै छैन । निजी स्वास्थ्य संस्थाहरुले गरेको कालो बजारीप्रति सरकार मौन छ ।

औषधि खरिदमा बाधा खडा गर्ने एजेन्टहरु प्रधानमन्त्रीका नजिकका सहयोगी नै रहेछन् । कसिमन नपाएर औषधि खरिदमा भाजो हाल्ने यस्तो व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउन किन ढिलाइ भएको छ त ? यसको जवाफ मन्त्री वा प्रधानमन्त्रीले दिनुपर्दैन ?

प्रशस्त सवाल जवाफ गर्न सक्ने र रुचाउने प्रधानमन्त्रीको मौनता र बैमौसमी सत्ता संघर्ष अनौठो विषय रहेको छ । यस्तै किसिमले सत्ता सञ्चालन गर्ने छुट सरकारमा कही पनि पाइँदैन । कोभिड प्रकरणमा नै संसारका धेरै शासकहरु दण्डित भएका छन्, पदच्यूत गरिएका छन् । जनताप्रति उत्तरदायी नभएको संविधान र कानुनको पालना नगरिएको तथा राज्यको घोषित नीति विपरितका कार्य भएको आरोपमा र अभियोगमा संसारका विभिन्न शासकहरुले सजायको भागिदार हुनुपरेको दृष्टान्त छ । तर, हाम्रो देशमा त्यो जिम्मेवारी बहन गर्नुपर्ने संस्थाहरु सरकारको लाचार छाया भएर बसेका छन् । यस्ता लाचार छायारुपी सेतो हात्ती पाल्नु आवश्यक छैन । आफ्नो घोषित संवैधानिक एवम् कानुनी जिम्मेवारी बहन गर्न÷गराउन नसक्ने संस्था खारेज गर्दिए हुन्छ । भ्रष्टाचार, दलाली, तस्करी गर्नेहरुका लागि मात्र अनुकूल हुने संस्थाहरुको उत्तरदायित्वमाथि गम्भीर प्रश्नचिह्न लागेको छ ।

वास्तवमा कम्युनिष्टहरुले व्यवस्थालाई बिथोले । लोकतान्त्रिक शासन व्यवस्थामा कम्युनिष्टहरु सरकारमा हुनु नै दुर्भाग्य भयो । हरेक मोर्चामा असफल भए । राजनीतिक होस वा सामाजिक दायित्वको क्षेत्रमा उनीहरुको असफलताले सिंगो व्यवस्थामाथि प्रश्नचिह्न लाग्यो । पचास वर्ष शासन गर्छौ, देउवा कांगे्रसको अन्तिम प्रधानमन्त्री हुन भन्ने ओली–दाहालको हुँकार तीन वर्ष पनि टिक्न सकेन । देउवाको आँगनमा प्रधानमन्त्री बनिदिनुस् भन्ने बिन्ती चढाउन फरक फरक नामधारी कम्युनिष्टहरुलाई भ्याइनभ्याइ छ । कसको सहयोग र समर्थनमा हुने भन्ने आकर्षक प्रस्तावबाट देउवा हायलकायल भएका छन् । कम्युनिष्टहरुको विश्वास हुँदैन भन्ने बुझेका छन् कि क्या हो, देउवा धेरै रौििसएका छैनन् ।

समान्यतः आफ्नो स्वभावभन्दा फरक व्यवहार देखाएका छन्– देउवाले । आफैले बुझेका हुन् वा अरुले बुझाएको हो, देउवाले यो पटक ठीकै बुझेका छन् । तुलनात्मक रुपमा अघिल्लो वर्षहरुको भन्दा परिपक्व व्यवहार देखाएका छन् । रेल, पानीजहाज, ग्याँसको नारा क्रमशः सेलाउँदै गएको छ भने सुखी नेपाली र समृद्ध नेपालको सपना नराम्रोसँग भत्किएको छ । यसप्रति कुनै खेद छैन प्रधानमन्त्रीलाई, मन्त्रीलाई, शासक, प्रशासकलाई, नेकपा बनाएर चमत्कार देखाउँछौं भन्ने दाहाल–नेपालहरुलाई । ओली मात्र होइन दाहाल, नेपाल, खनाल सबै सबै जिम्मेवार छन् । अनुत्तरदायी राज्य संयन्त्रका लागि जिम्मेवारी सबैले लिनु आवश्यक छ ।

कोरोनाले कस्तो स्वरुप ग्रहण गर्ने हो यसै भन्न सकिने अवस्था छैन । सरकार एकठाउँमा होइन धेरै ठाउँमा चुकेको छ । समयमा सावधानी अपनाउनेदेखि आवश्यक प्रबन्ध मिलाउने कार्यमा समेत तत्परता देखाउन सकेन । हरेक क्षेत्रलाई तयार राख्नुपर्ने आवश्यकताप्रति ध्यान दिएन । कुर्सी जोगाउने ध्याउन्नमा मात्र समय खर्चियो । सांसद खरिद बिक्रीको योजनामा व्यस्त रह्यो । आफ्ना प्रतिनिधि खरिद बिक्रीमा बडाबडमा लागेको समाचारले जनता दुःखी भए, मतदाता विक्षिप्त भने । तर सरोकारवालाहरुको ध्यान त्यसतर्फ गएन । नाफा घाटाको व्यापार व्यवसाय गरेको अर्थमा बोलकबोललाई सामान्य रुपमा लिइयो । यसलाई सच्चाउने र शासकहरुको अहं तोड्ने लोकतान्त्रिक विधि र प्रक्रियाबाट नै हो । त्यो भनेको निर्वाचन नै हो ।

संसदमा वैकल्पिक सरकारको सम्भावना न्यून देखिन्छ । मिलिजुली भागशान्ति गर्दा पनि सकरात्मक सन्देश जाँदैन । केही गर्न सक्ने आधार छैन । मानसिकता नै खराब भएको छ । त्यसलाई तोड्न इमान्दार व्यक्तिहरुको छनोट आवश्यक छ । हरेक दलका इमान्दार र निष्ठावान व्यक्तिहरुलाई निर्वाचित गराउने दायित्व जनताको हो । त्योभन्दा अगाडि दलको नेतृत्वले आफ्ना उम्मेदवार तय गर्दा विचार पु¥याउनु अति आवश्यक छ । सच्चाउने समय सधें उपलब्ध हुँदैन । जनताले एक दुई पटक मौका दिन्छन्, त्यो मौका गुम्यो भने पुनः फर्केर आउँदैन भन्ने चेत आउनुपर्छ । गलत निर्णयले कत्रो क्षति हुन्छ भन्ने आंकलन गर्न सक्नुपर्छ । केही न केही उपद्रो, सजाय वा दाउ पाएको व्यक्तिलाई नै योग्य ठान्ने मानसिकतामा बदलाव ल्याउन सक्नुपर्छ ।

दलाल, छुद्र, तस्कर, व्यपारी, डन, विचौलिया, व्यवसायीबाट राजनीति सेवामुखी सामाजिक कार्यमा रुपान्तरित गराउनुपर्ने अवस्था आएको छ । कस्तो कस्तो सोच, चिन्तन र दृष्टिकोण भएका मानिस राजनीतिमा छन् ? ख्याल गरिएको छ ? समाजले पचाउन नसक्ने असामाजिक, अव्यवहारिक, नाफाखोर, नक्कली मुखण्डो लगाएका दुव्यपिचासहरु अग्रपंक्तिमा देखिन्छन् । सेवाभाव र सहयोगी मन नभएका सुविधाभोगीहरुको जगजगी छ । तिनीहरुले राजनीतिक दलको उद्देश्य र आदर्श नै बुझेका छैनन् । मिलाएर खाने, खुवाउने, असुल्ने, कला भएका व्यक्तिहरु नै रुचाइएका छन् । त्यस्तो पात्र र प्रवृत्तिले लक्ष्य हासिल हुँदैन । बिग्रिएको जनसम्बन्ध र सामाजिक दायित्व निर्वाध गर्न सक्ने विश्वास जाग्रत गर्ने सम्भावना हुँदैन । परपीडकहरुकै संरक्षण र पृष्ठपोषण हुने सम्भावना प्रवल हुन्छ । माथिबाट नै सुधार भए तल दबाब सिर्जना गर्न सकिन्छ, होइन भने महामारीमा समेत भ्रष्टाचार, कमिसन, कालोबजारी र तस्करी गर्न आफ्नो अभिष्ट पूरा गर्ने प्रवृत्ति हाबी हुनेछ, स्थापित हुनेछ । मूल्य, मान्यता, सिद्धान्त, आदर्श सेवाभाव र असल संस्कार संस्कृति एकादेशको कथा मात्र हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *