विचार

भट्याउने नेता, स्वर मिलाउने कार्यकर्ता

एकजना सज्जनका तीन भाइ छोरा रहेछन । जेठो राजनीति गर्दो रहेछ,माइलो साहित्य क्षेत्रमा लागेको रहेछ । कान्छोले खेती किसानी गरेर सबै परिवारलाई पाल्दै आएको रहेछ । एकदिन ती सज्जनका पुराना मित्र भेट्न आएका रहेछन । ती मित्रले एक आपसमा भलाकुसारी पछि सज्जनलाई सोधेछन, तपाईंको सन्तान चाहिँ कति भए नि ? सज्जनले उत्तर थियो तिनभाइ छोरा छन,एउटा राजनीति गर्छ , ठूलो नेता भैसकेको छ । कुनै पनि बेला मन्त्री बन्न सक्छ । अर्को साहित्यकार बनेकोछ उसले पनि ठूलो पुरस्कार पाँउने सम्भावना छ । मित्रले पुनः सोधेछन अनि अर्को नि ? सज्जनले उत्तर दिए, भो त्यो पाजिको त कुरै नगर्नुस खत्तम छ । खेत जोतेर खाइरहेको छ । जसले हलो जोतेर, कडा परिश्रम गरेर घर परिवार पालेको छ । उसलाई घृणा गर्ने हाम्रो समाज । नेता भन्नेलाई ठूलो मान्छे, अब्बल दर्जाको ठान्ने हाम्रो समाज । आजसम्मको अवस्थामा आइपुग्दा नेतालाई घृणा गर्ने परिस्थितिमा पुग्नु राजनीतिक नेताका बिकृत आचरण र व्यबहार नै मुख्य कारक हुन सक्दछ । यति चाहिँ नेपालीको बुद्धि फिरेको नै भन्नू पर्दछ ।

हामी सानो छदा दशै तिहार जस्ता ठूला-ठूला चाडपर्व आउँदा खुबै रमाउथ्यौं । किनकी नयाँ नयाँ लुगा लगाउने अवसर, पिङ्ग खेल्ने रहर,अनि आफूभन्दा मान्यजनको हातबाट टीका लगाउने रहर । दशैमा बिजयादशमीको दिन हजुरबुबाको हातबाट टीका लगाइन्थ्यो । हजुरबुबाले आशीर्वाद दिदा भन्नुहुन्थ्यो मेरो नाति जर्नेल कर्णेल भएस । तर ठूलो नेता भएस भनेर कहिले पनि आशीर्वाद दिनु हुन्थेन । किनकी हाम्रो हजुरबुबालाई पनि नेता भन्दा सैनिकको कर्णेल जर्नेल नै ठूलो लाग्थ्यो होला । हाम्रा पुर्वजहरुले कुनै कुराको दृष्टान्त भन्ने गरेको भनाइ अहिले पनि त्यत्तिकै सान्दर्भिक लाग्छ । तर सबैभन्दा ठूलो टाठोबाठो , जान्नेसुन्ने,मान्यगन्य त नेता मात्रै हुन भन्ने सस्कारको विकास भएको छ ।

अहिले नेता बन्नको लागि आकर्षण बढ्दो छ । भुंइफुट्टे झोले नेतादेखि सांसद्को हैसियत राख्ने सम्मका ठुटे नेताका हाउभाउ, लवाइ खवाइ, ठाँट ,रबाफ दरवारको भन्दा कमि छैन।

अर्को ठूलो चाडपर्व तिहार आउँथ्यो, तिहारमा मासको फुलौरा र सेलरोटी खाने रहर, देउसी भैलो खेल्ने रहर हुन्थ्यो । भाइटिकाको दिनमा दिदीबहिनीको हातबाट टीका लगाइन्थ्यो । टीका लगाइसके पछि राती अबेरसम्म पनि देउसी भैलो खेलिन्थ्याे। त्यतिबेला देउसी भैलो भट्ट्याउने पनि राम्रो वाचन शैली भएको नै हुन्थ्यो । प्रखर, बोलिमा तिखार भएको, छन्द र अनुप्रास पनि मिलाउन सक्ने हुन्थ्यो । उसले देउसी भैलो भट्ट्याउन सुरु गथ्र्यो,हामी स्वरमा स्वर मिलाउदै वाचक अगुवाले भन्थ्यो भनभन भाइ हो देउसुरे, हे भन मेरा भाइ हो देउसुरे, हे छानामाथी घिरौंला, के के दिन्छन हेरौंला, हे यो घर कत्रो, सिंहदरबार जत्रो भन्दै घरबेटिबाट अलि धेरै दक्षिणा झार्न सकिन्छ कि भन्दै प्रसंशापूर्वक भट्ट्याउथ्यो । यथार्थमा हामी सबै भ्रान्त धारणा मा बांचिरहेकाछौं । हामी यस्तो छौं कि जस्ले भ्रमित बोल्न, सिकाउन जानेको छ उसैको पछि लागिरहेका छौं । वर्तमानमा काम गर्दैनौं,तर भविष्यमा रकेट उंडाउने भाषण दिइरहेका हुन्छौं । वर्तमानलाई बिगारेर वा वास्ता न गरेर भविष्यको सपना देख्छौं । जुन सपना देख्नु भनेको खरायो को सिङ्ग खोज्नु जस्तै हो । यतिबेला हामी दुनियाँलाई सुनाइरहेका हुन्छौं कि हामी नयाँ नेपाल बनाउने अभियानमा छौं । वर्तमान संरचना भत्काएर नयाँ नेपालको परिकल्पना गर्छौं । तर कस्तो हो नयाँ नेपाल ? कसरी बन्छ नयाँ नेपाल ? भएको संरचना सदुपयोग गरेर बन्छ कि बिगारेर बन्छ ? कि नयाँ नेपाल भनेको कतैबाट फुत्त आउने बनिबनाउ वस्तु हो ? हामिसबै नेपालीले बुझ्नु पर्ने गाँठी कुरो यहि हो ।

नेताले जे जे भट्टयाएपनि ताली पिट्न बन्द गर्ने र आफ्नो स्वविवेकले चल्ने कार्यकर्ता हुने हो भने नयाँ नेपाल बनाउने आधार तयार हुन्छ । जस्तैः दुधलाई बिगारेर दहि बन्छ, दहिलाई बिगारेर घिउ बन्छ । त्यसपछि अरुकुनै परिकार बनाउनु छ भने घिउलाई पनि बिगार्नु पर्छ । तर बिगार्नु पर्छ भन्दैमा दूध दिने गाइभैंसी कै नाश गरिदिने , अन्डा पार्ने कुखुरा नै मासिदिने हो भने कसरी बन्छ नयाँ नेपाल ? बर्तमानमा बिनाकारण , बिनाकाम बेरोजगारीलाई पछि लगाउने नेता अनि पछि लाग्ने पछुवा को बथान भएपछि नारा र भाषणमा बन्छ नयाँ नेपाल । नयाँ नेपाल बनाउन त कडा परिश्रम गर्नु पर्छ, धेरै दुख र मेहनत गर्नुपर्छ । देशको युवा जनशक्तिलाई पार्टीको झन्डा बोकाएर, नेता स्वयंले बेरोजगार उत्पादन गरेर आफ्नो जयजयकार मात्र गर्न लगाएपछि आम्दानी कसरी प्राप्त हुन्छ ? आयस्रोत कांहाबाट आउँछ ? रोजगार बिना नेताको झोला बोक्ने हरिलठुवा कार्यकर्ता भएसम्म देशले दुख पाउंछ , जनताले सास्ति भोगिरहन्छन । एक कौडिको सीप र ब्यबसाय नभएकाका पाछुवा हरुलाई ती नेता भनौंदाले उनको लालन पालन काहँंबाट गर्छन ? त्यो पनि राज्यको ढुकुटी बाटै गर्नु पर्ने हुन्छ । अनि भ्रष्टाचार नभए के हुन्छ ? तपाईं हामी दुई चार जना सज्जन, इमान्दार र देशभक्ति हुंदैमा केही फरक पर्ने वाला छैन । यो देश बन्छ कि बन्दैन हामिले चिन्ता लिएर पनि केही हुँदैन । चिन्ता लिनुको सट्टा थोरै समय कुनै उर्जाशील क्षेत्रमा लगाउंदा देशको लागि केही सिन्को भांचेको ठहरिएला । जुन सरकार आएपनि देश र जनताको लागि केही लछारपाटो लगाएको देखिएन । कसैलाई गाली र कसैलाई ताली ठोक्दै घोक्रो फुलाउनु बेकार छ । देश र जनताप्रति उत्तरदायी सरकार बनेहुन्थ्यो भन्ने गांडेगुंडे कुराको पनि कुनै अर्थ छैन । गरिब र निमुखा जनताको लागि कोहि उत्तरदायी हुनेवाला छैन । भकारीमा धान छउन्जेल मुसाको तांती लाग्छ , तब भकारी रित्तिन्छ , मुसाहरु अन्तै अनाजको खोजी तिर लागेजस्तै कार्यकर्ताहरु नेताको ढोकामा लम्पसार पर्ने छन । शिक्षित युवायुवतिहरु पनि नेताको ढोका चाहार्दै हिंड्ने छन । नेताको मुखारबिन्दुबाट थोत्रो आश्वासन सुनेर आ-आफ्नो तुम्लो काम्लो भिरेर आफ्नै गन्तव्य तिर लाग्नेछन ।

मर्ने, दुख भोग्ने त गरिब निमुखाहरु नै हुन । तिनिहरुको दुख पीडा बुझ्ने कसलाई के कतलव ? मर्ने मरिरहन्छन बांच्ने बांचिरहन्छन ।

२०४६ साल चैत्र २७ गतेको कुरा होस : काठमाडौंको टुंडिखेलमा सङ्गै बहुदलीय नेताहरुले भाषण गर्ने खुलामंच थियो । त्यो खुलामञ्चमा हामि पनि नेताको भाषण सुन्न भेला हुन्थ्यौं । नेताले घोक्रो फुलाइ फुलाइ दरवार(राजा)लाई गाली गर्दै भाषण गर्थे । हामी तररर ताली ठोक्थ्यौं । भाषण गर्ने मध्येका पुराना बामपंथी नेता (सर्वहारा ) भनिने कम्युनिस्ट नेता निर्मल लामाको भाषण मैले सुनेको थिए । उहाँको भाषण यस्तो थियो ः याहँं दुइथरी भाषा बोल्नेहरु छन । एउटा भुजा ज्युनार गरिबक्सिन्छ, अर्को भात खान्छन । एउटा सवारी होइबक्सन्छ अर्को जान्छन जस्ता भाषणले राजालाई ब्यांग्यात्मक गाली गर्थे । अहिले उनै निर्मल लामाजस्ता वा उनका शिष्यहरु(सर्वहारा)भनिनेहरु नै सत्तामा बिराजमान छन । सर्वहाराका नाम जप्नेहरु खरबपती बनिसकेका छन । कुनै पनि पांचतारे होटेलको भन्दा कम बिलाशी बंगला छैन । बिदेशी महंगा मदिराले सजिसजावट बार छन । यसरी सर्वहाराको परिचय सुरु हुन्छ । मुखमा सर्वहारा व्यबहारमा जनतामारा । अब यो भन्दा धेरै बिरोध, आलोचना , विश्लेषण, संस्लेषण गर्नुपर्छ जस्तो पनि लाग्दैन । मैले मेरो यति विवेक प्रयोग गर्दा कम्युनिस्ट तथा गैरकम्युनिष्ट नेताको आँखा खुल्छ कि खुल्दैन थाहा छैन । तर दुई चार जना मेरा शुभचिन्तक हरुले पढेर तितो मीठो प्रतिक्रिया चाहिँअवश्य दिन्छन भन्ने मलाई बिश्वास छ । त्यति भए पनि म कृतज्ञ हुनेछु ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *