बागमती प्रदेश

कोभिडबाट शङ्खरापुर -४ का वडाध्यक्ष तामाङको निधन

काठमाडौँ । नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड –१९) का कारण शङ्खरापुर नगरपालिका वडा नं.–४ का अध्यक्ष बुद्धिबहादुर तामाङको निधन भएको छ । उनलाई कोभिड भएपछि उपचारका लागि गोकर्णेश्वर नगरपालिका वडा नं. –८ स्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा राखिएको थियो ।    

वडाध्यक्ष तामाङको उपचारका क्रममा आज दिउँसो निधन भएको नगरपालिकाका प्रवक्ता हितमान तामाङले जानकारी दिए। उनको यही वैशाख २१ गते साँखुस्थित पिपुल्स लाइफ केयर अस्पतालले स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकामा पोजेटिभ रिपोर्ट आएको थियो । एक रात नगर अस्पताल इन्द्रायणीमै राखी उपचार गरिएको थियो ।    

 नगर अस्पतालमा उपचार गराइरहेका बेला वडाध्यक्ष तामाङलाई अप्ठ्यारो भएपछि थप उपचारका लागि नेपाल मेडिकल कलेज लगिएको नगरपालिकाको वडा नं.–७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए। त्रिचालीस वर्षीय तामाङ मधुमेह रोगबाटसमेत पीडित थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन ।

साविकको लप्सेफेदी गाविसको वडा नं.–३ निवासी तामाङ विसं २०७४ को निर्वाचनमा हालको शङ्खरापुर वडा नं.–४ बाट नेपाली काँग्रेसका तर्फबाट निर्वाचित थिए । उनी काँग्रेसको वडा सभापतिसमेत थिए ।    
 नगरपालिकामा नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ८२ पुगेको छ । यसअघि पहिलो चरणमा १६९ जना सङ्क्रमित भएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक एवं कोभिड सम्पर्क व्यक्ति लक्ष्मीराज जोशीले जानकारी दिए ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *