राजनीति

ओलीको माधव पक्षको मागबारे एक शब्द बोलेनन्, विश्वासको मत चाहिँ मागे

काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पार्टीका सांसदहरूलाई अनुचित निर्णय नलिन आग्रह गरेका छन् । माधवकुमार नेपाल पक्षले सामूहिक राजीनामा दिने तयारी गर्दै गर्दा सोमबार बिहान ट्विटमार्फत ओलीले केही समस्या भए छलफल गर्न र अनुचित निर्णय नलिन आग्रह गरेका हुन् ।

माधव पक्षले पार्टी एकताका लागि आफूहरूले दिएको समयसीमासम्म ओलीले कुनै रेसपोन्स नगरेको भन्दै संसद् सचिवालयमा राजीनामा दिने तयारी गरेका थिए । अन्तिम समयमा आएर ओलीले ट्विटको झटारो हानेका हुन् । उनले आफूलाई निसर्त विश्वासको मत दिन पनि आग्रह गरेका छन् । तर, माधव पक्षले उठाएका मागबारे एक शब्द पनि उल्लेख गरेका छैनन् ।

‘नेकपा एमाले संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ ।त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ। यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं,’ उनले ट्विटमा लेखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *