सम्पादकीय

ओली अस्त्र निशस्त्र



पद, प्रतिष्ठा, सत्ता र शक्ति स्थायी होइनन । केवल क्षणिक मात्र हुन । सत्ता र शक्तिले अधिकांश शासकमा अहंकारको बिजारोपण गर्छ । र, त्यही अहंकार शासकको पतनको मुख्य कारक बन्छ । त्यसको ज्वलन्त उदाहरण हुन एमाले अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद ओली ।

२०७४ फागुन ३ मा दुई तिहाइ नजिकको बहुमत जुटाएर प्रधानमन्त्रीको पदभार ग्रहण गरेदेखि नै दिशा बिहिन बनेका प्रधानमन्त्री ओलीको कार्यशैली अझै लयमा फर्कन सकेको थिएन । बलुवाटार प्रवेश गरेदेखि नै ओली एक पछि अर्को अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्न उद्त थिए । आफ्नै दल र सत्ता सहयात्रीहरुको ठूलो हिस्सा यतिबेला ओलीको विपक्षमा उभिएको छ । त्यस कारण प्रधानमन्त्री ओली संसदमा अल्पमतमा परे । र, विश्वसाको मत प्राप्त गर्न सकेनन । यो अवस्था सिर्जना गर्ने मुख्य भूमिका ओली कै हो । दोष त माधव नेपाल समूहलाई पनि लगाउन सकिएला ! माधव नेपाल समुहको विद्रोह ओलीको पेलाइको उपज हो । जुन स्वभाविक छ । एउटा उक्ति छ गल्ती गर्नु भन्दा गल्ती सहनु अपराध हो । यही भनाईमा आधारित भएर ओली दमनको विद्रोह माधव नेपाल पक्षले ग¥यो । एउटै पार्टीभित्र यो अवस्था आउनुले ओली–नेपालबीचको द्वन्द्व कहाँ पुगेको रहेछ भन्ने स्पष्ट हुन्छ ।

प्रधानमन्त्री ओलीले सत्ताको दुरूपयोग गरेर राज्यका अंग कब्जा गरी आफू अनुकुल परिचालन गर्न सम्पूर्ण ध्यान केन्द्रित गरे । संविधानको परिकल्पनाभन्दा बाहिर गएर अध्यादेशमार्फत चोरबाटोबाट गरिएका नियुक्ति र सिफारिसले प्रधानमन्त्रीको कलुशित मनसाय स्पष्ट हुन्छ । आफू अनुकुल भए संविधान, नभए अध्यादेशमार्फत आफ्नो अभिष्ट पुरा गर्दै आएका थिए प्रधानमन्त्री । त्यस कार्यमा कहिले राष्ट्रपति त कहिले प्रधानन्ययधीशको साथ ओलीले पाउँदै आएका थिए ।

प्रधानमन्त्री ओलीले पटक पटक दोहो¥याउदै आएको स्थिरता र संमृद्विको व्याख्या तर्कसंगत छैन । मुलुकमा अस्थिरता निम्त्याउने मुख्य पात्र ओली नै हुन । प्रधानमन्त्री भएदेखि नै ओलीले अस्थिरताका छिद्र खोजेर स्थिरताको ढोका बन्द गरे । र,अस्थिरतालाई खुला रूपमा अमन्त्रण गरे ।

लोकतान्त्रिक शासन व्यवस्थाको चीरहरण गर्ने तानावुनामै उनले अधिकांश समय खर्चे । जुन कार्य संविधान र विधिको शासन विपरीत थियो । प्रधानमन्त्री बन्नैका लागि अपवित्र र अवैधानिक मार्ग रोजे । ओली–प्रचण्ड सम्मिलित गठवन्धन राजनीतिक भन्दा स्वार्थप्रेरित थियो । जुन गठवन्धन अप्राकृतिक र अबैधानिक भएको कुराको पुष्टि सर्वोच्च अदालतको फैसलाले गरिदयो । तीन वर्ष उनले एकिकृत कम्युनिष्ट गठवन्धनको बहुमत देखाएर सत्ता यात्रा गरे । न्यायीक परिक्षणबाट एमाले र माओवादी केन्द्र अलग अलग भएपछि पनि सत्ता संकटमोचनका लागि ओलीले गरेका गतिविधि शोभनीय थिएनन ।

ओलीको सत्ताप्रतिको आशक्ति रहस्यमय छ । औचित्य नदेखेर आफैले विघटन गरेको प्रतिनिधिसभा पुनस्र्थापना हुदा समेत लाचार भएर प्रधानमन्त्रीको कुर्सीमा टासिइ रहे । उनी प्रधानमन्त्री पदमा टिकिरहन जसपाको टेको खाजेका थिए । जसपा भित्र विश्वासको विषयमा दुई खेमामा विभाजित भएपछि ओलीको विश्वासको मत लिने सपनामा ग्रहण लाग्यो । पार्टीभित्रका विरोधीहरूलाई सफाय गर्ने अभियन नै चलाएका ओलीका लागि आज त्यो कदम अभिसाप सावित भएको छ ।

सत्ता सहयात्री नेकपा माओवादीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओली सत्ता जोगाइदिन आग्रह गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगे । ओलीका कदमले लोकतन्त्रलाई नै गिज्याइरहेका बेला कांग्रेस सभापति देउवाले ठाडै अस्वीकार गरिदिए । उनले जनता समाजवादी पार्टीको साथ धेरै खोजे । तर, जसपालाई पनि ओलीको कदम स्वीकार्य भएन । ओलीलाई विश्वासको मत दिन सकेन । संसदका साना दलले पनि ओलीको कर्यशैली नरुचाएर होला विश्वासको मत दिएनन । अन्तत ओलीले संसदमा विश्वासको मत पाउँन सकेनन ।

लोकतान्त्रिक संविधानको जगमा निर्वाचित सार्वभौम संसदलाई ओलीको कार्यशैली, प्रस्तुति र शासकीय शैली पाच्य नभएको पुष्टि आज बैधानिक रुपमा नै प्रमाणित भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट