समाचार

बहुमतको नयाँ सरकार नबने अल्पमतको ओली सरकारले बजेट ल्याउने

काठमाडौं । आज वैशाख २९ गते । अबको १७ दिनमा आर्थिक वर्ष ०७८/०७९ को बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । तर, यतिबेला देशमा सरकार ढलेको अवस्था छ । अर्थात् केपी ओली नेतृत्वको सरकार कामचलाउ अवस्थामा छ ।

नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गतेसम्मको समय दिएकी छन् । तर, आजसम्मको स्थिति हेर्दा बहुमतको सरकार गठन हुने देखिएको छैन । किनभने नयाँ सरकार गठनमा जसपा निर्णायक बनेको छ । तर, त्यो पार्टी अहिले आधा ओलीतिर आधा कांग्रेस–माओवादी केन्द्रतिर लागेको छ । यदि जसपा एकढिक्का भएर निर्णय नगरेसम्म कांग्रेस–माओवादी केन्द्रको गठबन्धन सरकार बन्दैन ।

यदि बिहीबार रातिसम्म नयाँ बहुमतको सरकार नबने भोलि नै राष्ट्रपति भण्डारीले संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नेछिन् । त्यही अल्पमतको सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ । तर, अल्पमतको ओली सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट संसदबाट पास हुने अवस्था भने छैन । किनकि ओलीले संसदबाट बहुमत गुमाइसकेका छन् ।

आगामी आर्थिक बर्षको बजेट निर्माण प्रक्रिया चलिरहेका बेला सरकार ढलेसँगै अर्थमन्त्री विष्णु पौडेलले बजेट लेखन बन्द गरेका हुन् । यदि एमालेको अल्पमतको सरकार बनेमा सामान्य हिसाबले बजेट ल्याउन पाउँछ, राज्यकोषमा व्ययभार पर्ने गरी बजेट ल्याउन पाउँदैन । संसद भए संसदबाट, नभए अध्यादेशबाट बजेट ल्याउन सकिनेछ । अहिलेको अवस्था हेर्दा अध्यादेशबाट बजेट आउने निश्चितप्रायः छ ।

तर, अल्पमतको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट संसदले पारित गरेन भने अध्यादेशबाट बजेट आउन सक्ने विज्ञहरु बताउँछन् । ठूलो दलको हिसाबले केपी ओली नै प्रधानमन्त्री बने भने उनले एक महिनाभित्र फेरि संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ । नीति तथा कार्यक्रम र बजेटमा हुने भोटिङले पनि संसदमा ओलीको बहुमतको परीक्षण हुन सक्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *