समाचार

भरतपुर अस्पतालमा कोभिड शय्या र जनशक्ति थप

चितवन । भरतपुर अस्पतालले कोरोना भाइरस संक्रमित बिरामीको सङ्ख्या बढ्दै गएपछि शय्या र जनशक्ति थप गरेको छ । अस्पतालले १ सय ३६ चिकित्सक स्वास्थ्यकर्मी करारमा नियुक्त गरेको छ भने ५५ शय्या थप गर्दैछ ।

अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीका अनुसार हाल कायम १ सय ४५ शय्यामा ५५ थप गरी २ सय पु¥याउन लागिएको हो । हाल अस्पतालमा १ सय ४५ शय्या भरिएका छन् ।

अस्पतालको अन्य बिरामीका लागि छुट्याइएको १० शय्याको सघन उपचारकक्षलाई कोभिडका लागि छुट्याइने भएको छ । अन्य बिरामीका लागि पोष्टअपमा व्यवस्थापन गरिँदै छ ।

पैँतीस शय्याको अब्जर्बेशन वार्ड र क्याबिनका केही शय्या कोभिडका लागि प्रयोग गरिँदै छ । अस्पतालले माग गरेको जनशक्ति व्यवस्थापन गरी दुई दिनभित्रमा शय्या थप गरिँदै छ ।

यसैगरी अस्पतालले स्वास्थ्य मन्त्रालयको स्वीकृति लिएर १ सय ३६ जना जनशक्ति थप गरेको छ । तीमध्ये १ सय ८ नर्स, २४ मेडिकल अफिसर, तीन रेडियोग्राफर र एक बायोइञ्जिनीयर रहेका छन् । उनीहरूलाई करारमा नियुक्त गरिएको अधिकारीले जानकारी दिए ।

एक सय आठ नर्समध्ये ८० अस्पतालमा दैनिक ज्यालादारीमा कार्यरतबाट र २८ नयाँ नियुक्त गरिएको हो । यस्तै २४ मेडिकल अफिसरमध्ये २१ अस्पतालको दैनिक ज्यालादारीबाट र तीन जना नयाँ लिइएको अस्पतालले जनाएको छ ।

जिल्लाका अस्पतालमा बिरामीले शय्या पाउन सकेका छैनन् । सघन उपचारकक्ष भरिएका छन् । सघन उपचारकक्षको प्रतीक्षामा बिरामी आकस्मिक कक्षमा रहेका देखिन्छन् ।

जिल्लाका अस्पतालमा अहिले ४ सय ३० बिरामी उपचाररत रहेका छन् । तीमध्ये २ सय ४० सघन उपचारकक्षमा, एचएफएनसीमा ४९, एचडीयुमा ६३ र आइसोलेसनमा १ सय २७ जना रहेका छन् ।

जिल्लामा हालसम्म १० हजार १ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये सक्रिय संक्रमित दुई हजार ९ सय ९ रहेका छन् । सक्रिय संक्रमित २ सय अस्पतालको आइससोलेसनमा र दुई हजार ७ सय ९ होमआइसोलेसनमा छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार हालसम्म सात हजार १ सय ४५ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने १ सय ४५ को मृत्यु भएको छ । जिल्लामा भेटिएका संक्रमितमध्ये चार हजार ३ सय ६७ महिला र पाँच हजार ८ सय २७ पुरुष रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *