राजनीति

देउवाको भविष्यवाणी फेरि सही सावित, ओली र माधव नेपाल फेरि मिल्न सक्छन्

काठमाडौं । सत्ताको खेलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सही सावित भएका छन् । बहुमतको गठबन्धन सरकार बनाउने अवस्था नभएको भन्दै उनी लामो समयसम्म केपी ओली सरकार ढाल्न अनिच्छुक थिए । तर, राजनीतिक परिस्थितिले ओलीको आफ्नै बुद्धिले उनले संसदमा बहुमत गुमाउन पुगे । र, अहिले कामचलाउमा परिणत भए ।

ओली सरकार ढलेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति ९ बजेसम्म बहुमतको सरकार गठन गर्ने समयसीमा तोकेकी छन् । तर, केपी ओलीले एमाले नेता माधवकुमार नेपालसहित चारजनामाथि गरेको निलम्बन फुकुवा गरेसँगै एमालेमा किचलो मत्थर हुने देखिएको छ ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । ओलीको यो चालबाजीले आजै उनी सबैभन्दा ठूलो दलको हैसियतमा अल्पमतको सरकारको प्रधानमन्त्री नियुक्त हुने सम्भावना बढी छ ।

यद्यपि ओलीले कारबाही फिर्ता गरे पनि २०७५ जेठ २ अघिकै अवस्थामा फर्किनुपर्ने नेपाल पक्षको अडान छ । त्यसबारे नेपाल पक्षले कुनै जानकारी गराएको छैन । तर, ओली फेरि एकपटक माधव नेपालसँगको विवादमा पराजित भएका छन् ।

आज नेता नेपाल पक्षका २० सांसदले राजीनामा दिने तयारी गरेका थिए । जसपाले साथ नदिने भएपछि नेपाल पक्षको निर्णयले नयाँ सरकारको प्रारुप स्पष्ट हुन्थ्यो । तर, नेपाल पक्षका २० सांसदलाई उपनिर्वाचनमा जिताएर ल्याउन निकै कठिन हुन्थ्यो । सोही कारण देउवाले अहिले बहुमतको नयाँ सरकार गठन असम्भव भएको बताउँदै आएका थिए । एमालेमा कारबाही र फिर्ताको नाटकले देउवाको अनुमान सही सावित भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट