देश

कांग्रेस नेता रामचन्द्र पौडेलले नेपाली जनताको जीवनरक्षा गर्न विदेशीलाई गरे अपिल

काठमाडौं । देशमा अहिले कामचलाउ सरकार छ । कोरोना भाइरसबाट दैनिक मृत्यु हुने नेपालीको संख्या बढ्दै गएको छ । तर प्रधानमन्त्री केपी ओलीले कोरोना रोकथाममा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिलसमेत गरेनन् । बरु उनले कोरोना नेपाल सरकारको नियन्त्रणमा रहेको दाबी गरे ।

दैनिक संक्रमित बढ्न थालेपछि र अक्सिजन नपाएर नेपालीको मृत्यु हुन थालेपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आज अन्तर्राष्ट्रिय समुदायलाई सहयोगका लागि अपिल गरेका छन् । उनले मानवीयताका नाताले पनि कोरोनाविरुद्धको लडाइँमा सहयोगका लागि विदेशीलाई हारगुहार गरेका हुन् । कांग्रेसले अहिले विभिन्न जिल्लामा रहेका आफ्नो पार्टी कार्यालयलाई आइसोलेसन वार्ड बनाउन दिइरहेको छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्–
कोरोना संक्रमण तिव्र रुपमा फैलिएको कारण हाम्रो देश नेपालको अवस्था अहिले विकराल बन्दै गएको छ । हामी अहिले आफ्नो स्वास्थ्य संरचनाले धान्न नसक्ने अवस्थामा पुगेका छौ । अक्सिजन र अस्पतालको अभावमा संक्रमितहरुले उपचार नै नपाएर दिनहुँ ज्यान गुमाउनेको संख्या सयौँ पुग्न लागेको छ । यो विकराल अवस्थाबाट नेपाललाई जोगाउनका लागि म हाम्रा मित्र राष्ट्र, विदेशस्थित नेपाली नियोगहरु, नेपालमा रहेका विदेशी नियोगहरु, दातृ निकायहरु, गैरआवासीय नेपाली संघ, नेपाली जनसम्पर्क समितिहरु, सहयोगी भावना भएका मित्रहरु तथा नागरिकहरुलाई हार्दिक अपिल गर्दछु । नेपालमा अहिले देखिएको कोरोनाको संकट देशले आफ्नै बल बुताले पार पाउने अवस्था नदेखिएकाले नेपाली जनताको जीवन रक्षाका लागि मानवियताका आधारमा नेपालीलाई सहयोग गर्नका लागि म हार्दिक अपिल गर्दछु ।।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *