देश

देउवा निवासमा महन्थ र राजेन्द्र, नयाँ सरकार गठनबारे सघन वार्ता

काठमाडौँ । बहुमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिनको समयसीमा आज राति ९ बजेदेखि सकिँदैछ । त्यसअघि नै बहुमत जुटाउन नेपाली कांग्रेस र जसपाका शीर्ष नेताबीच कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा सघन भेटवार्ता भइरहेको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका हुन् । उनीहरू बिहान ११ बजे बुढानिलकण्ठ पुगेका थिए । देउवाले आज नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गर्ने भएकाले त्यसअघि छलफल गर्न ठाकुर र महतो गएका हुन् । नेताहरूबीच कसरी जाने भन्ने विषयमा सघन वार्ता भएको बताइएको छ ।

जसपाको उपेन्द्र यादव समूह देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा छ । तर, अहिलेसम्म ठाकुर र महतो विपक्षमा छन् । यस्तो अवस्थामा महतो देउवा निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । देउवाले कांग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन दिन लागेको काँग्रेस एक नेताले बताए ।

कांग्रेस र जसपाबीच चुनावी सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुटेमा ओली सरकार विस्थापित भएर नयाँ सरकार गठन हुने सम्भावना धेरै रहेको स्रोतले बतायो । अहिले देउवाले सरकारको नेतृत्व गर्ने र चुनावी सरकारको नेतृत्व ठाकुरले गर्ने गरी सहमति जुटाउने प्रयास भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *