समाचार

कोभिडको ‘हट स्पट’ भनिएको बागलुङमा पूर्वाधार र जनशक्तिको अभाव

बलेवा । कोरोना महामारीसँग जुध्न आवश्यक साधन स्रोतको जिल्लाभर अभाव देखिएको छ । धौलागिरि अस्पताल र स्थानीय तहले निर्माण गरेका अस्थायी कोभिड अस्पताल तथा आइसोलेशनमा साधन स्रोतको अभाव हुन थालेको हो । साथै आवश्यक मात्रामा पूर्वाधारको खाँचो त यहाँ छँदैछ ।

कोरोनाका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापनमा जिल्लामा सबैभन्दा ठूलो चुनौती देखिएको छ । जिल्लाभर एक शवबहान समेत नरहेकाले संक्रमितको शव व्यवस्थापनमा समस्या रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

‘‘शव व्यवस्थापनको लागि डबल क्याब्व पिकअप भ्यान भएपनि केही महिनालाई भाडामा लिनुपर्ने अवस्था छ’’ स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोतव्यक्ति देव प्रकाश घिमिरेले भने, ‘‘अहिलेको मुख्य चुनौती एम्बुलेन्स, शवबहान, पीपीई र अन्य स्वास्थ्य सामग्री हुन् ।’’

अस्पतालको आइसोलेशनमा काम गरिरहेका स्वास्थ्यकर्मीले समेत स्वास्थ्य सामग्रीको अभाव महसुस गर्न थालेका छन् ।

‘‘राम्रो खालको पिपीई अस्पतालको आइसोलेशनमा पनि आवश्यक छ ।’’ धौलागिरी आइसोलेशन इन्चार्ज शान्ति भण्डारीले भनिन् । महामारीकै समयमा विदेश र जिल्ला बाहिरबाट आउनेहरु बढेकाले बागलुङ नगरपालिकाले होल्डिङ सेन्टरको महसुस गर्न थालेको छ ।

रामरेखामा रहेको कर्भड हलमा ३० जना अट्नेगरी होल्डिङ सेन्टर बनाउने तयारी थालेको स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।

जिल्लाको जैमिनी नगरपालिकामा कोरोना सङ्क्रमण भएका बिरामी बोक्ने सवारीको अभाव छ । नगरपालिकाले निर्माण गरेको आइसोलेशनसम्म बिरामी पुर्याउन सवारी साधनकै अभावमा कठिन हुने गरेको स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले बताए ।

नगरपालिकाले निजी सवारी साधन भाडामा लिएर कोरोना सङ्क्रमित बिरामीको लागि उपलब्ध गराउने तयारी थालेको छ । कोरोना कोष तथा कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक बजेट बिनियोजन नभएका कारणले पनि स्थानीय तहहरु समस्यामा छन् । स्थानीय स्तरमा नै स्रोत साधनको व्यवस्थापन गर्न बजेटको समेत अभाव हुन थालेको बताउँछन् ।

गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हिमबहादुर भण्डारीका अनुसार गलकोटमा अक्सिजनको अभाव छ । अक्सिजन भर्न गलकोटमा रहेका सिलिण्डर पोखरा पठाउने तयारी भैरहेको भण्डारीले बताउनुभयो । तत्काल अक्सिज सकिँदा त्यसमा पुनः भर्न पठाउनुपर्ने हुन्छ । वैकल्पिक व्यवस्था नहुँदा गलकोटमा अक्सिनको अभाव हुने छ । उहाँका अनुसार गलकोटमा पिपीई सेट, मास्क र स्यानिटाइजरको समेत अभाव छ ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आइसोलेशनमा भेण्टिलेटरको आवश्यकता महसुस गर्न थालिएको स्वास्थ्य शाखा प्रमुख घनश्याम शर्माले बताए । काठेखोला गाउँपालिकाले ज्वरो नाप्ने थर्मल गनको आवश्यकता रहेको बताएको छ । अक्सिजन र अन्य स्वास्थ्य सामग्री पर्याप्त रहेको स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र लामाले बताए ।

सक्रिय सङ्क्रमित ३२ जना रहेको ताराखोलामा पिपीई सेट, मास्क र स्यानिटाइजरको समेत अभाव छ । बिरामी बढेकाले आइसोलेशन शय्या थप गर्नुपर्ने, भाडाकुँडा, खाद्यान्न, सर्भिङ टर्ली समेतको अभाव रहेको स्वास्थ्य शाखाले जनाएको छ । ताराखोलामा थर्मल गन समेत छैन ।

वडिगाड गाउँपालिकामा शय्याका लागि आवश्यक समाग्री र निसीखोला, तमानखोला र बरेङ गाउँपालिकामा अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्रीको अभाव रहेको छ । बरेङ गाउँपालिकाले एम्बुलेन्सको अभावकै कारण गाउँपालिका अध्यक्ष र उपाध्यक्षको सवारी साधन एम्बुलेन्सका रुपमा सञ्चालनमा ल्याएको छ ।

विदेशमा रहेका नेपालीहरुले महामारीसँग जुध्नका लागि सहयोग गर्ने भएका छन् । पत्रकार महासंघको संयोजनमा स्थानीय तहलाई सहयोग गर्न तयार भएको तथ्याङ्कअनुसार बागलुङका स्थानीय तहमा स्वास्थ्य सामग्रीको समेत अभाव रहेको जिल्ला शाखा अध्यक्ष नरेश कँडेलले बताउनुभयो । स्थानीय तहले गरिरहेको तयारीबीच बिरामीको उपचार र सम्भावित जोखिमसँग जुध्न स्रोत साधनको अभाव भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *