अर्थ

निषेधाज्ञामा पनि नागढुंगा सुरुङमार्गको निर्माण नियमित गतिमा

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि नागढुङ्गा सुरुङमार्गको निर्माण नियमित गतिमा नै भइरहेको छ । विश्वव्यापी महामारीको समयमा समेत आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर निर्माण अघि बढाइएको आयोजनाले जनाएको छ ।

आयोजनामा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिएकाले विगत महिनामा जस्तै अहिले पनि यहाँ ६ सय ५० भन्दा बढी कामदार कार्यरत छन् । अहिले निर्माणस्थलमा बाहिरबाट कोही पनि सकेसम्म नआउने र आउनै पर्ने व्यक्ति पनि स्वास्थ्य जाँच गरेर मात्रै आउन दिइएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । बाहिरबाट जानैपर्ने व्यक्तिलाई ज्वरो जाँच गरेर मात्रै छिर्न दिइने गरिएको छ । आयोजनामा सम्बन्धित व्यक्तिबाहेक बाहिरबाट आगन्तुक जान रोक लगाइएको छ । उनले भने, “अहिलेको अवस्थालाई विचार गरेर हामी पनि आवश्यक हुँदा मात्रै जाने गरेका छौँ ।”

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरिएको र त्यति गर्दागर्दै कसैलाई सङ्क्रमण भएको शङ्का लागेमा छुट्टै बस्नका लागि व्यवस्था मिलाइएको आयोजनाले जनाएको छ । निर्माणस्थलमा नै २५ जना क्षमताको १० कोठाको आइसोलेसन बनाइएको छ । तीन ठाउँमा २५÷२५ जना बस्न सक्ने गरी छुट्टाछुट्टै क्याम्पको व्यवस्था मिलाइएको छ । कोही व्यक्ति सङ्क्रमित भइहालेमा उसलाई तत्काल छुट्याएर राखिने प्रमुख शाक्यले बताए ।

निर्माणस्थलमा कार्यरत व्यक्तिलाई समस्या आउँदा तत्काल समाधान गर्न अक्सिजन सिलिन्डर र मेडिकल टोली पनि व्यवस्था रहेको प्रमुख शाक्यले जानकारी दिए । मेडिकल टोलीमा अहिलेसम्म चिकित्सक नभएकामा त्यसको पनि आवश्यक रहेकाले ल्याउने योजना रहेको उनले बताए । आवश्यक पर्दा एम्बुलेन्स पनि तयारी रहेको बताइएको छ । उनले भने, “हामीले सकेसम्म आवश्यक पर्ने सबै कुराको व्यवस्था मिलाइएको छ ।”

निर्माणस्थलमा अहिलेसम्म जनशक्ति र निर्माण सामग्रीको अभाव छैन । निषेधाज्ञामा व्यवस्था गरिएअनुसार निर्माण सामग्री रातको समयमा ल्याउने गरिएको छ । निषेधाज्ञाको नियम पालना गरेर काम भइरहेको प्रमुख शाक्यले जानकारी दिए । निर्माण सामग्री उत्पादन गर्ने ठाउँमा कोभिडले अवरोध गरेर रोकिए पनि अहिलेसम्म निर्माणस्थलमा कुनै पनि किसिमको अवरोध छैन । उनले भने, “अहिले जोखिमलाई विचार गरेर साइटबाट अन्यत्र सङ्क्रमण नसरोस् भनेर ध्यान पुर्याइएको छ ।”

गत महिनासम्म काम गरिरहेका कामदारमध्ये कोही पनि अहिलेसम्म निर्माणस्थल छाडेर गएका छैनन् । कामदार निर्माणस्थलभित्र नै क्याम्पमा बसेर काम गरिरहेका आयोजनाले जनाएको छ । बाहिरबाट आवतजावत कम गर्दा सङ्क्रमण फैलन सम्भावना कम हुने भएकाले सकेसम्म अरुलाई पनि भित्र बस्ने व्यवस्था मिलाइएको छ । प्रयोगशाला प्राविधिक (ल्याब टेक्निसियन) सामान्य अवस्थामा बाहिरबाट आउजाउ गरेकामा अहिले भित्र बस्न व्यवस्था मिलाइएको छ । नेपाली र जापानीलाई थोरै सङ्ख्यामा मात्रै पास दिइएको उनले बताए । उनले भने, “पाँच गाडीलाई पास दिएर कम आवतजावत गरिएको छ ।”

सुरुङ निर्माणको काम अहिलेसम्म तोकिएको तालिकाभन्दा एक महिना पछाडि रहेको छ । गत आवमा कोभिडका कारण लामो समयसम्म निर्माणमा अवरोध भए पनि तालिकाभन्दा कम मात्रै पछाडि रहेको छ । निर्माणस्थलमा काठमाडौं र धादिङ गरी दुवैतर्फबाट सुरुङ खन्ने काम भइरहेको आयोजनाले जनाएको छ । धादिङतर्फ माटो फिलिङ गरेपछि दुवैतर्फबाट खन्ने योजना बनाइएको थियो । तर सुरुङभित्र माटो लैजान भित्र जाम हुने भएकाले अहिले कहिले काठमाडौँतर्फ त कहिले धादिङतर्फ खन्ने काम भइरहेको छ ।

सुरुङ खन्नका लागि पाँच थान उपकरण भए पनि तीन थान प्रयोग भइरहेका छन् । अहिले धादिङमा निर्माणाधीन ‘अन्डरपास’ सकिएपछि चार ठाउँबाट काम गर्न सकिने उनले बताए । उनका अनुसार त्यसपछि कामको गति अझै बढ्नेछ । धादिङतर्फ ‘अन्डरपास’ बनिरहेकामा एक महिनामा सकाउने योजना रहेको छ । काठमाडौंमा सुरुङको मुखमा ‘ओभरपास’ निर्माणाधीन रहेकामा सकिने अवस्थामा पुगिसकेको छ ।

बलम्बुमा एउटा ‘फ्लाइओभर’ निर्माण गर्नुपर्ने छ । त्रिभुवन राजमार्गबाट मोडिएर सुरुङमार्ग जाने बाटोमा ‘फ्लाइओभर’ को योजना रहेको छ । सो निर्माणका लागि जग्गाको मुआब्जाको काम सङ्क्रमण बढेकाले रोकिएको छ । उनले भने, “सङक्रमण बढेर निषेधाज्ञा हुँदा हामीले पनि जिल्ला प्रशासन कार्यालयलाई काम अघि बढाउनु भन्न सकेका छैनौं ।”

निर्माणस्थलमा अहिलेसम्म निर्माण सामग्रीको समस्या छैन । जापानबाट आउनुपर्ने अधिकांश ठूला उपकरण आइसकेका छन् । अन्तिम काम (फिनिसिङ)को केही सामग्री मात्रै ल्याउन बाँकी रहेको आयोजनाले जनाएको छ । जापान सरकारको ‘सफ्ट लोन’मा ४२ महिनामा सो सुरुङको निर्माण सम्पन्न गर्ने गरी नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङदो कर्पोरेसनबीच सम्झौता भएको थियो ।

सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिकरूपमा हुने जाम हट्ने अपेक्षा गरिएको छ । सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यहीँ निर्माणका क्रममा प्रयोग हुने बताइएको छ । कमजोर ढुङ्गा र माटोलाई भने सिस्नेखोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिनेछ । सो स्थानमा बसपार्क, तरकारी सङकलन केन्द्रलगायतका स्टल हुने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *