सुदुरपश्चिम प्रदेश

सभापति देउवाले गृहजिल्लामा स्वास्थ्य सामग्री पठाए

अमरगढी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा स्वास्थ्य सामग्री पठाएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि देउवाले सङ्क्रमणको जोखिम व्यवस्थापनका लागि पहिलो चरणमा स्वास्थ्य सामग्री डडेल्धुरा पठाएका हुन् ।

सभापति देउवाको सचिवालयबाट पठाइएका स्वास्थ्य सामग्री जिल्ला समन्वय प्रमुख गणेशराज भट्टले शुक्रबार विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई हस्तान्तरण गरे । सभापति देउवाको सचिवालयले पठाएका स्वास्थ्य सामग्रीमा बेड हाफ फोल्ड गर्न मिल्ने मेट्रेससहित १५ थान, बेडलकर १५ थान, आइभी स्टेन्ड १५ थान, पिपिई ८५ थान, केही थान सर्जिकल मास्क र केही आवश्यक औषधि रहेका छन् ।

आवश्यकतानुसार विपद् व्यवस्थापन समितिले स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालयमार्फत वितरण गर्ने छ । पहिलो चरणमा स्वास्थ्य सामग्री जिल्ला पुगेको र अन्य सामग्री पनि पुग्ने क्रममा रहेको जिल्ला समन्वय समिति प्रमुख भट्टले बताए । गत वर्ष बन्दाबन्दीमा खाद्यान्न पठाउनुभएका देउवाले यस वर्ष स्वास्थ्य सामग्री पठाउनु भएको उनले बताए ।

संघीय सरकार मातहातमा रहेको सुदूरपश्चिम प्रदेशको एक मात्र अस्पताल डडेल्धुरा अस्पतालमा दक्ष जनशक्ति कम रहेको र अक्सिजन प्लान्टको पनि स्तरोन्नति नगरिएकाले यसको उचित व्यवस्थापनका लागि प्रयास भइरहेको उनले बताए ।

यस्तै नेपाल रेडक्रस सोसाइटी डडेल्धुरा शाखाको भवनमा आइसोलेसन तयार पारिएको छ । कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि १६ शय्याको आइसोलेसन बनाइएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

नेपाली कांग्रेस डडेल्धुरा सभापति कर्ण बहादुर मल्लले गत साता आइसोलेसन बनाउन तीव्रता दिन जोड दिएपछि अस्पताल बाहिर अहिले दुई स्थानमा आइसोलेसन बनेका छन् । कांग्रेस पार्टी कार्यालय किसुनजी भवन र रेडक्रम भवनमा आइसोलेसन बनाई सञ्चालनमा ल्याइएका छन् ।

नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखा भवनमा दुई-तीन दिनभित्रै १० शय्याको आइसोलेसन सञ्चालनमा आउने गरी काम भइरहेको छ । डडेल्धुरा अस्पतालमा सामान्य र कोभिडका बिरामीको एकै ठाउँमा उपचार गर्नुपर्ने बाध्यता डडेल्धुरा अस्पतालले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट