विचार

भ्रमको राजनीति कहिलेसम्म ?

वैकल्पिक सरकारको सम्भावना कमजोर देखिन्छ भन्ने राम्रोसंग बुझेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्र र बाहिरको दवाब, आग्रह, अनुरोध र अबगालबाट बच्न अग्रसर त भए तर, सफल भएनन् । जनता समाजवादी पार्टी तयार नभएसम्म सरकारको सम्भावना थिएन । यो कुरा विपक्षी गठवन्धले नबुझेका पनि होइनन । ओलीसंगको माया प्रेमबाट सम्वन्ध विच्छेदको अवस्थामा पुगेका पुष्पकमल दाहालको प्रतिक्रियात्मक आक्रोश ओलीको विस्थापन थियो । कांग्रेससंगको सहकार्य तोडेर चोक्टा खान गएका दाहाल जब झोलमा डुबे त्यसले उनको होस खुलेको होला । तर वागमतीमा मेलम्चीको पानी समेत झेरर धेरै बगिसकेको थियो । कांग्रेस नेताहरुले चाहे पनि कांग्रेस कार्यकर्ता अब काम्युनिष्ट संगको सहकार्यका लागि तयार छैनन । कम्युनिष्टहरु संगको सहकार्य र विश्वास घातक भएको आम धारणा बनिसकेको छ । पुष्पकमल दाहाललाई माधव नेपालले कति विश्वास दिलाएका थिए, त्यसलाई देउवा वा अन्य नेता वा दलले कति भरोसा योग्य ठाने र गठवन्धनका लागि अग्रसरता देखाए त्यो उनीहरुले महशुस गरेका होलान । त्यतिमात्र प्रयाप्त हुदैन यस विषयमा जनतालाई पनि स्पष्ट बुझाउन सक्नु पर्दछ । यत्रो महामारीमा अक्सिजन नपाएर मानिसहरु भटाभट मरिरहेको अवस्थामा सत्ताको रस्साकस्सीमा लागेका दलहरुले सत्ता किन र के का लागि ? भन्ने प्रश्नको जवाफ दिनु पर्दछ । यस्तो अनुत्तरदायी,भ्रष्ट र गैरजिम्मेवार सरकार र राजनीति किमार्थ पनि लोकतान्त्रिक हुन सक्दैन । रुप, मान्यता र आदर्शका गफ गर्नेहरुलाई एक मिनेट पनि सत्तामा बस्ने र सत्ता संघर्ष गर्ने छुट र वैधानिकता छैन ।

अब जनतालाई घरभित्र थुनेर आफूहरु सत्ताको घिनलाग्दो खेलमा सामेल हुन थोरै पनि असजिलो महशुस गरेनन, राजनीतिक दलहरुले । अक्सिजन,अस्पतल, बेड, आइसीयु, भेन्टिलेटर जस्ता अत्यावस्यक स्वास्थ्य सामाग्रीहरुको बन्दोवस्तो मिलाउनु पर्ने दायित्व निर्वाह गर्न सरकार सम्पूर्ण रुपले असफल भयो । असंभव सपना देखाउने सरकार सामान्य पूर्वाधार बनाउन र जनताको स्वास्थ्य सेवाप्रति गम्भीर र संवेदनशील हुन नसक्नु आफैमा लज्जाको विषय हो । छिमेकमा महामारीको आगो लागेको देख्दा देख्दै त्यसलाई अनदेखा गरी जनताको बाच्न पाउने अधिकारमाथि सरकारले खेलावाड गरेको छ । यो मानवाता विरुद्धको अपराध हो । कहालिलाग्दो समाचार र दृष्यले थोरै पनि गम्भीर र जिम्मेवार बन्न नसक्ने सरकार आवस्यक छैन ।

संविधानका धाराहरुको व्यवस्थाले मात्र सरकार कायम रहने होइन । जनताको आस्था, विश्वास र समर्थनमा मात्र सरकार वैधानिक हुन्छ । जब जनतालाई विश्वास टुट्छ, संविधानको व्यवस्थाले सरकार रहन सक्दैन । जनताप्रति उत्तरदायी र भरपर्दो नभएको सरकारले खर्च गरेको सरकारी कोषको रकम भ्रष्टाचार ठहर्छ । त्यसबापत राज्यका पदाधिकारीहरु दण्डित हुनुपर्छ ।

कम्युनिष्ट नेतृत्वमा बनेको झण्डै दुई तिहाइको सरकार अल्पमतमा परिणत भएको छ । पाँच वर्षे सरकार चलाउने जनादेशको इमान्दारितापूर्ण पालना गर्न समेत कम्युनिटहरु असफल भए । सत्ताको भगबण्डा नमिलेको बहानामा सरकार अल्पमतमा पर्ने गरी राजनीति बिभाजित भयो । सरकारको बैधानिकतामाथि मात्र प्रश्न उठेको छैन, इमान्दारितामाथि पनि गम्भीर प्रश्नचिन्ह लागेको छ । राजनीतिले वजारबाट अवसरवादी चरित्र उठाएकोे छ र माग बमोजिम आपूर्ति त्यस्तै पात्र र प्रबृत्तिबाट गरेको छ । राजनीतिक नेतृत्वको चहाना र अनुकुलता अनुसारको उत्पादन गरेर राजनीतिक वजारमा पठाएको देखिन्छ । सिद्धान्त,आदर्श, मुल्य, मान्यता नभई लुट, अतंक, गुुण्डागर्दी, अयोग्यता जस्ता विशेषतालाई आजको राजनीतिक नेतृत्वले रुचाएको छ । विहानदेखि बेलुकासम्म त्यही प्रवृत्तिसंग रमझम गर्ने नेतृत्व कसरी आम जनताप्रति इमान्दार र जवाफदेही बन्न सक्छ ? औसधी खरिददेखि अन्य व्यवस्थापन सम्ममा हुने अनियमितता, कालोवजारी तथा कमिशनको लेनदेन त्यही स्वार्थी अवसरवादी प्रबृत्तिले गराएको छ । जायज नाजायज फाइदाका लागि त्यस किसिमका पृष्ठभूमिका मानिसलाई ‘असल सहयोगी’का रुपमा लिने गरिएकाले न्युनतम दायित्व बहन गर्न वा अति संवेदनशील विषयप्रति जिम्मेवार हुन सकरकार र राजनीति असफल भएको हो । सामान्य मानवीय संवेदनासमेत नदेखिएकाले सरकारप्रतिको विश्वास टुटेको अनुभूति हुन्छ । राजनीति यति धेरै बदनाम हुँदासमेत त्याग,तपस्या र वलिदान गरेको पुस्ता पनि बेखवर भएजास्तो देखिनु दुर्भाग्यको विषय हो । साझा राजनीतिक मूल्य र मान्यतालाई आफू र आफ्नो स्वार्थ केन्द्रित बनाउने होडबाजी र प्राथमिकताले लोकतान्त्रिक नेपालको भाग्य र भविश्य नै अनिश्चित भएको छ । भ्रष्ट,दलाल, तस्कर र नाफाखोरहरुको चंगुलमा राजनीतिक नेतृत्व सम्पूर्ण किसिमले समर्पित भएको देखिन्छ । फरक पृष्ठभूमिका व्यक्तिहरुले राजनीतिलाई आफ्नो काबुमा राखेकाले जनताको अपेक्षाभन्दा फरक परिणाम आएको हो । जनता केन्द्रित राजनीति नभई स्वार्थ केन्द्रित राजनीतिमा लिप्त भएकाले नै राजनीतिक नेतृत्वप्रतिको धारणा बदलिएको हो ।

नेपाली राजनीतिका इमान्दार र निष्ठावान व्यक्तिको रुपमा परिचित भीम बहादुर तामाङ, देवी न्यौपाने जस्ता सरल र सादगी नेताहरुको पाठशालामा अध्ययन गरेको व्यक्ति भएकाले बेहमानहरुको हालीमुहाली स्वीकार गर्न नै कठिन लाग्छ । यस्तो परिवेश निश्चय नै सोचिएको र खोजिएको थिएन, लोकतन्त्रको परिभाषा नै बदलिने किसिमको सस्कार र संस्कृतिको विकास गराइएको छ । आफू सत्तामा भएपछि लोकतन्त्र कायम भइहाल्ने सोच र चिन्तनबाट ग्रसित भएको हाम्रो राजनीतिक नेतृत्व,समाजमा क्रियाशील राजनीतिकर्मीहरु मध्ये तुलनात्मक रुपमा असल र इमान्दारहरुलाई अवसर नै प्रदान नगर्ने पद्धति विकास भएको छ । आफ्नो हनुमान खोज्ने,बनाउने, गुटको अनुचर हुनु पर्ने, सबै किसिमका खारावी स्वीकार गरिदिनु पर्ने, पैसा बुझाउन जान्नु पर्ने वा माग्न धाउनु पर्ने, तबमात्र आफ्नो मान्छे हुने मानशिकता नेतृत्वले बनाएको छ । कठिन दिनहरुमा प्रजातन्त्रका लागि संघर्ष गरेका, योगदान पुर्याएका घर परिवारका सदस्यहरुप्रति सामान्य सिष्टचार र सद्भावको व्यवहार प्रकट गर्न पनि हाम्रो नेतृत्व अनिच्छुक देखिन्छ । तर, भीमबहादुर तामाङ, देवी न्यौपानेले हामीलाई त्यस्तो संस्कार र शिक्ष दिएनन । राजनीति विशुद्ध सेवामुखी हो,जहिले पनि जनतासंग प्रत्यक्ष जोडिनु पर्छ भन्ने मान्यता राखेर अगाडी बढ्नु पर्छ भन्ने सन्देस दिन्थे । त्यो विद्यालयबाट हुर्किएकाले नै होला कुनै पनि दवाव,प्रभाव र अपेक्षाभन्दा माथि उठेर आफ्नो आत्माले निर्देशित गरेबमोजिमको निर्णय गर्न हामी स्वतन्त्र छौं ।

कसैको आनावस्यक र अस्वभाविक हैसियत प्रदर्शन स्वीकार्य छैन । न्युनतम राजनीतिक संस्कार र मर्यादा नराख्ने राजनीति व्यवसायीहरुलाई यो वा त्यो नाममा स्वीकार्न सकिदैन ।

आफ्नो क्षमता, हैसियत र प्रदर्शित जीवनशैलीको स्रोत पारदर्शी गर्न नसक्ने चरित्रलाई सार्वजनिक रुपमा नाङ्गेझार गर्ने सहास र दृढता तल्लो तहदेखिनै विकास गर्न अब अति आवस्यक भइसकेको छ । कुनै काम नै नगरी विलासी जीवन बनाउने प्रवृत्तिलाई निरुत्साहित गर्न सक्नु पर्दछ । अपारदर्शी स्रोत परिचालन गरेर पार्टी वा सत्ता कब्जा गर्न खोज्नेहरुलाई यथास्थानमै राख्ने अभियान अगाडी नबढे विचार र सिद्धान्तको राजनीति स्थापित गर्ने अग्रसरता नदेखाई अवसरवाद पराजित गर्न सकिदैन । त्यसका लागि युवा पुस्ता तयार हुनु पर्छ,लुटेराहरुलाई नांगेझार बनाई इमान्दार,सक्षम र योग्यहरुको जिम्मेवारीमा राजनीति सुम्पन आवस्यक छ । अनिमात्र लोकतन्त्रको आसाष गर्ने वातावरण बन्छ । राजनीतिक मूल्य र मान्यता कायम गर्न सकिन्छ । कोरोनाको महामारीले यो चेतना विकास गरोस र इमान्दार मानिसहरुको भूमिका विस्तार गरोस भन्ने कामना पनि गरौं । यो महामारीमा मृत्यु वरण गर्न बाध्य भएकाप्रति हार्दिक श्रद्धाञ्जली ! विरामीहरुको शिघ्र स्वास्थ्य लाभ होस । राजनीति शुद्धिकरणको अभियान आफैबाट सुरु नगरी परिवर्तन र रुपान्तर संभव छैन भन्ने चेतना राजनीतिक क्षेत्रमा पलाओस ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट