फिचर

रोगको भन्दा भोकले ज्यान जाने पिर

सप्तरी । हावाहुरी आए भत्किएला झैँ झुप्रो छ । पश्चिममा ६ फिट चौडाइ र ७ फिट लम्बाइ रहेको झ्याल नभएको एउटा कोठा छ । त्यसैमा भान्सा रहेको कोठामा दुई जना सरस्वती नाम गरेकी महिला बस्छिन् । एउटीको थर दास हो भने अर्कीको चौधरी । दुबैको मुहार हिजोआज मलिन छ ।
सस्तोमा पाइएकाले सप्तरीको राजविराज–४ भलुवाही खोला किनारमा एउटा सानो कोठा डेरा लिएका उहाहरूसँगै दासकी १२ वर्षीया छोरी प्रियंका पनि बस्छिन् । एउटा खाटमा सुत्न ठाउँ नपुगेपछि खाटसँग जोडेर बेञ्च लगाइएको छ । प्रियंका पनि निन्याउरो र चिन्तित मुद्रामा आमाको छेउमा सँगै देखिन्छिन् ।
राजविराज नगरपालिका–६ माइत भएकी सरस्वती दासको १६ वर्षकै उमेरमा सप्तरीको हनुमाननगर बजारका उमेश दाससँग मागी विवाह भयो । विवाह भएर घर गएपछि मात्र उनलाई थाहा भयो कि त्यो घर आफ्नो नभई सासुको माइती रहेछ । केही महिनापछि सासुलाई उनका माइतीले घरबाट निकालेपछि सरस्वतीको परिवार घरवारविहीन भयो । सासुले त उनको अर्को भाइकोमा शरण पाइन् । तर नवविवाहिता उनले सहारा पाउनु भएन ।
श्रीमान सन्तोष साहुजीको पसलमा मिठाइ बनाउनु हुन्थ्यो र केही रकम हात लाग्थ्यो । दासका अनुसार उनले पनि मादकपदार्थ र नशालु पदार्थ सेवनकर्ता भएकाले त्यसैमा पैसा सक्नुहुन्थ्यो । दास भन्छिन्,‘‘श्रीमानले त्यतिबेला छाडनु भयो, जतिबेला सबैभन्दा बढी सहाराको जरुरी थियो ।’’ गर्भवती भएका बेलामा श्रीमानले छाडेर बेपत्ता भएको घटनालाई उहाँ सबैभन्दा अप्ठ्यारो समयको रूपमा सम्झिनु हुन्छ । गर्भवती भएका बेला घरपरिवारबाट कुनै पनि सहयोग नपाएपछि माइती घरमा नै गएर छोरीलाई जन्म दिएको उनले सुनाए ।
सानै उमेरमा विवाह गरी आमा बन्नुभएकी दासले रोजीरोटीका लागि तरकारी पनि बेचे । रोजगारी तथा कमाइखान तरकारी बेच्ने व्यवसाय उनको लागि सुरक्षित भएन । तरकारी कुहिने र पर्याप्त पुँजी नभएपछि गुजारा चलाउन उनलाई समस्या भयो । पछिल्लो समय उनी होटलमा भाँडा माझ्ने काम गर्छन्।
तरकारी बिक्री गर्दा दासको चिनजान भवन निर्माणमा मजदूरी गर्दै आएकी सरस्वती चौधरीसँग भयो । एउटै नाम भएका उहाँहरूको चिनजान मित्रतामा परिणत भयो । सुनसरीको भोक्राहा गाउँपालिका–६ नरसिंह घर भएकी चौधरीका श्रीमान् दमका रोगी थिए । श्रीमानको मृत्यु र एक मात्र छोरीको विवाहपछि एक्ली बन्नु भएकी ३९ वर्षीया सरस्वती मजदूरी गर्दै राजविराज आए। भवन निर्माणको ज्याला मजदूरीको काम दैनिक रूपमा नपाएपछि उहाँ स्थायी कामको खोजीमा थिए । यस काममा दासले सघाए र उनीलाई पनि होटलमा सँगै काम दिलाए । बिहान ७ बजे होटल जाने गरेका उनीहरुले राति साढे ९ बजे छुट्टी पाउछन् । दुबै जनाले महिनाको सात÷सात रुपैयाँ हजार पाउनु हुन्छ । खर्च बचतका हिसाबले दुबै जनासँगै एउटा कोठामा बस्न थाले ।
उनीहरु काम गर्दै आएको होटल कोभिड–१९ रोकथामका लागि भएको लगातारको बन्दाबन्दीका कारण अहिले बन्द छ । बन्दाबन्दी खुल्ने अनिश्चित भएसँगै होटल खुल्ने पनि अनिश्चित बनेपछि होटल सञ्चालकले उहाँहरूलाई छुट्टी दिएका छन् । न्यून तलबमा जसोतसो गुजारा चलाइरहेका उनीहरूलाई अहिले हातमुख कसरी जोर्ने भन्ने चिन्ता छ ।
उनीलाई कोभिड–१९ को सन्त्रासभन्दा पनि भोकभोकै मरिन्छ कि भन्ने चिन्ताले सताउन थालेको छ । छोरी जन्मिदा र हुर्कदा माइतीको सहयोग भए पनि हाल सहयोग नभएको दासले बताए । लकडाउनका बेला माइत जाँदा भाइ बुहारीले कोरोनाका बेला नआउन भनेको बताए । बन्दाबन्दीले होटल बन्द भई काम गर्न नपाउँदा आफूहरूलाई घरखर्च चलाउन निकै समस्या परेको उनीहरूको भनाई छ ।
बन्दाबन्दी भएको १७ दिन पुगेको छ । उहाँहरूसँग भएको पैसा पनि सकिएको छ । उनीहरूसँग नत पैसा छ, नत एक छाक गाँसको व्यवस्था गर्ने अन्य उपाय नै छ । पोषणयुक्त खाना खाने कुरा त परै जाओस् घरमा साँझ, बिहानको छाक कसरी टार्ने भन्ने उनीहरूलाई चिन्ता छ । चौधरीको श्रीमानको मृत्यु भइसकेको छ भने दासको श्रीमान सम्पर्कमा छैनन्् । चौधरीको एक मात्र छोरीको विवाह भइसकेको छ भने दासको एउटी छोरी नाबालिका छिन् ।
होटलमा काम गर्दै आउनु भएका उनीहरूले कोभिड–१९ रोकथामका लागि शुरु भएको बन्दाबन्दीका कारण काम गर्न पाएका छैन् । बन्दाबन्दीका कारण काम गर्न नपाएपछि उहाँहरूलाई दैनिक छाक टार्न समेत मुस्किल परेको छ । काम गर्ने होटलमा नै दुई छाक खान पाइरहेका उनीहरूको होटल बन्द भएपछि खाने समस्या भएको हो । त्यसै माथि १२ वर्षीया छोरी भोकाउँदा झनै पिडा थपिने गरेको दासले बताए । आँखाभरि आँसु लिदै दासले भने– “आफ्नो भोकभन्दा पनि छोरीलाई भोकले तडपिएको देख्दा निकै गाह्रो हुन्छ ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट