देश

भेरी अस्पतालका डाक्टर र नर्स कुट्ने एमाले नेता रावतसहित तीन पक्राउ

काठमाडौं । नेपालगन्जस्थित भेरी अस्पतालमा तोडफोड गरी चिकित्सक तथा नर्सहरूमाथि आक्रमण गर्ने एमाले दाङका नेता मानबहादुर रावतसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार बिहानैदेखि स्वास्थ्यकर्मी आन्दोलित भएपछि डाक्टर र नर्स कुट्ने रावतसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।
कुटपिट र दुर्व्यवहारको विरोध गर्दै भेरी अस्पताल नेपालगञ्जका डाक्टर र स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्। भेरी अस्पताल परिसरमा बिहानैदेखि स्वास्थ्यकर्मीले नाराजुलुस गरिरहेका छन् । उनीहरुले डाक्टर र स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारबाहीको माग गरेका छन् ।

बिहीबार राति ८ बजेतिर बिरामीको उपचारका क्रममा ज्यान गएपछि मृतकका परिवार र आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए । स्वास्थ्यकर्मीले झ्यालबाट हाम फालेर ज्यान जोगाएका अस्पतालका मेसु डाक्टर प्रकाश थापाले जानकारी दिए । डा. चन्द्रप्रकाश साहु, नर्स सदीक्षा गैरे, अश्विनी गुरुङ, रिता अधिकारी र कविता पुनमाथि कुटपिट र दुर्व्यवहार भएको उनले बताए ।

को हुन् रावत ?
मानबहादुर रावत एमालेका कार्यकर्ता हुन्। उनी अहिले दाङ निर्वाचन क्षेत्र नं ३का इन्चार्ज तथा लुम्बिनी प्रदेश कमिटीका सदस्य पनि छन्। उनी ओली निकट मानिन्छन् र गृहजिल्ला दाङकै प्रदेश मुख्यमन्त्री शंकर पोखरेलका विश्वासिला पात्र मानिन्छन्। रावत यसअघि सरकारी कर्मचारी पनि थिए। ६ महिनाअघिमात्रै उनले सरकारी जागिर छोडेका थिए।

सुरुमा उरहरी गाउँविकास समितिमा उनी गाविस सचिव थिए। पार्टीको नवौ महाधिवेशन चलिरहेका बेला उनी निवर्चान क्षेत्रका संयोजक पनि बनाइएका थिए। अधिवेशन तयारीकै लागि देउखुरी पुगेका बेला उनमथि पार्टीकै एक जना महिला कार्यकर्ताले आफूमाथि जवर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन्। ती महिलाका आफन्तले रावतलाई त्यहाँ कुटपिट पनि गरेका थिए।

त्यसपछि रावतमाथि जवर्जस्ती करणी रोपमा लामो समय मुद्दा चलेको थियो। पछि उनलाई अदालतले सफाइ पनि दियो। स्थानीय तह भइसकेपछि उनी वडा कार्यालयमा थिए। त्यहाँ पनि जनप्रतिनिधिलाई होच्याउने र महिला कर्मचारी तथा जनप्रतिनिधिहरूलाई पनि अभद्र व्यवहार गरेपछि उनकै पार्टीका कार्यकर्ताले कारबाहीको माग गर्दै पार्टीमा निवेदन दिएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट