कला/साहित्य

मिलन

डम्बर विदेशतिर लाग्यो । महिनैपिच्छे कमाएको पैसा पठाउन थाल्यो । पैसा पुग्दो आएपछि उसकी पत्नी मैया हप्तैपिच्छे हाटबजार जान्थी । छोराछोरीले थाहै नपाई कसैलाई फोन गर्थी ।

खर्च सकियो मात्र भन्थी लोग्नेसँग । किचकिच गर्थी सुखसयलका लागि । सधैं यसो गरेपछि एकदिन डम्बरले पत्नीलाई झपा–यो । अब नजिकिन छोडी ऊसँग । पहिलेको जस्तो बारम्बार फोन हुन पनि छोड्यो ।

तीन वर्षपछि घर फर्कने भो डम्बर । पति फिर्ने कुराले मैयामा खुसी पलाएन । तर नआउनू भन्न पनि सकिन । एकदिन काठमाण्डौं उत्रेपछि आफू आउँदै गरेको कुरा सुनायो पत्नीलाई । उसले एक्कासि मोबायल स्विचअफ गरी ।

ऊ घर आइपुग्ने दिन सखारै मैयाले छोराछोरीसमेत लिई बेपत्ता भई । घर आइपुग्दा न पत्नी न छोराछोरी । छुट्टिइसकेको डम्बर बाबुआमाका घरमा मिसिएर बस्यो । पाँच महिनासम्म जहानको खुटखबर आएन ।

एकदिन उसको फोनमा छोरो बोल्यो – ‘ के गर्छौ बाउ ? तिमी आउने भनेपछि हामीलाई आमाले फका’र ले’र हिंडन् । हामी एैले खान न पिन भा’छौं । हामी त आउँछौ है अब । के भन्छौ तिमी ?’

डम्बरले भन्यो–‘जहाँ भए पनि आइहाल । यहाँ मैले टिभि, लुगाफाटो ल्याइदे’को छु । आमा कता छे ? फोन दि’हेर् त बोलूँ ।’
मैया बोली – ‘मलाई तिम्ले पोइल हिंडिछे भनेछौं, त्यसैले म केटाकेटीसित बसेकी छु । आउनु भन्नेभा’ त आइहाल्छु नि ।’
डम्बरले बतायो – ‘मैले तिमेरूलाई केही भनेको छुइँन । तुरुन्त आओ । यहाँ मेरो पो बिचल्ली छ ।’

छोराछोरी झन् हतारिए घर फिर्न । पर्सिपल्ट तीनैजना घरतर्फ हिंडे । बेलुका आइपुग्छौं भनेर फोन गरे डम्बरलाई । उसमा हर्षको सीमा रहेन ।
परिवार आइपुग्लान् भनेर उसले गाँउबाट कुखुराको भाले किनेर ल्यायो । पाँच बजेतिर टुप्लुक्क घर आइपुगे तिनीहरू । मैयाले डम्बरलाई आइपुग्ने बित्तिकै गएर उसका गोडामा ढोगिदी । छोराछोरी दुबैले बाबुका काखमा छाँद हाले । उसले ल्याएका सामान देखाइदिन ढिपी गरे । डम्बरका आँखाबाट तप्लक तप्लक हर्षका आँसु झरे ।

मादी, संखुवासभा
हालः लोकन्थली, भक्तपुर

९८४२०९९८३१

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट