देश

शीतल निवास र बालुवाटारका सल्लाहकारबाट राष्ट्रपति र प्रधानमन्त्रीकै साखमाथि आँच

काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्री कार्यालय भनेको देश र सरकारको सर्वोच्च संस्था हो । जसमा देशका हरेक नागरिक मात्र होइन, विदेशीले पनि गम्भीर रूपमा लिएका हुन्छन् । विश्वास गरेका हुन्छन् । तर, नेपालमा भने त्यसको मानकमाथि प्रहार भएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीको संस्थालाई हलुका ढंगले लिने गरिएको छ । जबदेखि देशमा केपी ओली प्रधानमन्त्री र राष्ट्रपति विद्यादेवी भण्डारी सत्तामा पुगे, तबदेखि दुवै संस्थाको मानमर्दन हुन थालेको छ । गम्भीर विषयलाई पनि हलुका ढंगले लिन थालिएको छ ।

केही समयअघि राष्ट्रपति कार्यालयले फिलिपिन्समा गएको सुनामीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै त्यहाँको राष्ट्रपतिलाई लेखिएको पत्रमा हार्दिक बधाई भनेर सम्बोधन गरिएको थियो । अहिले फेरि राष्ट्रपति भण्डारीको सञ्चार सल्लाहकार टीका ढकालले देशकै बेइज्जत मात्र गरेका छैनन्, जनतालाई नै झुक्याएका छन् ।

तर, राष्ट्रपति भण्डारीका सञ्चार सल्लाहकार टीका ढकाल र प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अमेरिकाले नेपाललाई ५० लाख डोज खोप दिने भनेर प्रचार गरे । जस लिने होडबाजीले गर्दा उनीहरू अहिले मुख देखाउनै नहुने अवस्थामा पुगेका छन् । राष्ट्रपति भण्डारीले केही दिनअघि नै अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेख्दै खोप उपलब्ध गराउन आग्रह गरेकी थिइन् । त्यसैको जस लिन राष्ट्रपति र प्रधानमन्त्रीका सल्लाहकार होडबाजीमा लागेका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार एसिया, अमेरिका, दक्षिण अमेरिका, युरोप र अफ्रिकालगायतका देशका लागि कोभिडविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरे । जसमा एसियाका १८ देशमध्ये नेपाल पनि सूचीमा परेको छ । एसियाका कोभिड प्रभावित देशलाई ७० लाख डोज खोप उपलब्ध गराउने ह्वाइटहाउसले जनाएको छ ।

१८ देशले दामासाही रूपमा बाँड्दा नेपालले पाउने भनेको दुई लाख डोज खोप भएको बताइन्छ । त्यसमा पनि ठूला राष्ट्रले अझै धेरै लैजालान् । सूचीमा परेको भारतले त खोप सहयोग गर्न भन्दै अमेरिकासम्मै मन्त्रीलाई पठाएको थियो । त्यसैले नेपालले कति डोज खोप पाउने भन्ने स्पष्ट भइसकेको छैन । तर, राष्ट्रपति र प्रधानमन्त्रीका सल्लाहकारले भ्रम छरे । अमेरिकी अनुदानमा ५० लाख खोप आउने भनेर प्रचार गरे । जबकि दक्षिण एसिया र दक्षिण पूर्वी एसियाली मुलुकलाई दामासाही बाँड्दा दुई लाख खोप पनि नेपालको भागमा पर्दैन । भागै नलगाएको खोपबारे यति आउँदैछ भनेर प्रचार गर्नाले राष्ट्रपति र प्रधानमन्त्रीकै साखमाथि आँच पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट