कला/साहित्य

विवशता

उच्चाटसँग बोल्दाखेरि
मान्छे कहिन्छ पागल
भन्छ कोही ठड्याउदै औंलो
रहँदैन प्रतिष्ठा भइदैन अनमोल
धेरै बोले कहलिन्छ कि धूर्त कि बाठो
थोरै बोले ठहरिन्छ ऊ नै कि निमुखो कि लाटो
त्यसैले, बनेको छ मान्छे बन्दीझैँ
बोलोस् या नबोलोस् रहेको छ पाबन्दीमैं ।
आफूखुसी हिंड्दा बाइफाले बनिन्छ ऊ
त्यसैले, होसियारीपूर्वक बस्न वाध्य छ
नचाहँदा नचाहँदै हाँस्नु पनि असाध्य छ
उन्मुक्त हाँसो खित्खिताए भनिन्छ उत्ताउलो
खुसाउन समेत प्रतिबन्ध छ कसैको
बोले साह्रो सोमत सकिएको मानिन्छ
बिस्तारै बोले कि त बतासले उडाएको ठानिन्छ
कि त डराएकै मानिन्छ
त्यसैले, मान्छे कहाँनेर छ खै स्वतन्त्र ?
विवशतामा जुनी बिताइरहेछ मान्छे
समुदाय आफ्नै बनिरहेछ बाधक
बुझी नबुझी मान्छे भैरहेछ प्रत्युत्पादक
डुबेर नियाल्दा लोभी
आसक्ति ठहरिन्छ मान्छे
हेर्न नखोजे टेढियो भनिन्छ मान्छे
आदर गरौं झुकेको ठान्दछ
नगरे नमस्कार नटेरेको मान्दछ
मान्छे आफ्नै समाजद्वारा बनेझैं छ कैदी
हरपल हरसमय आफैं माझ
कोही न कोही कमाइरहेछ वैरी ।
अझ कोरोनाको मध्य कहरमा
नियम मिच्न जब्बर छ मान्छे
डराउदैन तर बनिएको छ हिंसक
पर्दैैन सम्मुख कसैको भोगिरहेछ कैदी जीवन ।

*                        *                      *
पदम दाहाल
मादी, संखुवासभा,हालः लोकन्थली, भक्तपुर

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट