देश

सुदूरपश्चिम प्रदेशमा यसकारण कांग्रेसले दिएन मुख्यमन्त्री भट्टलाई विश्वासको मत

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा त्रिलोचन भट्टको सरकार जोगिएको छ । एमाले स्थायी कमिटी बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही कारण भट्टले आज विश्वासको मत लिने निर्णय गरेका थिए ।

आजको प्रदेश सभा बैठकमा उपस्थित सांसद ५१ जना थिए । ५२ सदस्यीय सभामा एकजना सभामुख छन् । विश्वासको पक्षमा (माओवादी–एमाले माधव पक्ष) गरी ३० मत खस्यो । विपक्षमा (एमाले ओली समूह सात र जसपा दुई) गरी नौ मत खस्यो ।

कांग्रेसको १२ मत तटस्थ रह्यो । प्रदेश सभा बैठक सुरु हुनुअघि आवश्यक परे मात्र कांग्रेसले भट्टलाई विश्वासको मत दिने निर्णय गरेको थियो । तर, माओवादी केन्द्रको १३ र एमाले माधव पक्षको १७ मत खसेपछि कांग्रेसको मत आवश्यक परेन । विश्वासको मत लिन २७ मत आवश्यक थियो । सग्लो एमालेको २४ मत छ । तर, पनि माओवादी केन्द्रका मुख्यमन्त्री भट्टले विश्वासको मत पाए ।

कांग्रेसले भट्टलाई विश्वासको मत नदिनुको भित्री कारण प्रमुख प्रतिपक्षको हैसियत राख्नु हो । यदि भट्टलाई विश्वासको मत दिएको भए एमाले ओली पक्ष प्रमुख प्रतिपक्षी हुन्थ्यो । सोही कारण पनि कांग्रेसले तठस्थ बस्ने नीति अंगालेर विपक्षी दलको हैसियत कायम गरेको छ । त्यसै पनि अहिले कांग्रेस, माओवादी केन्द्र र एमालेको माधव पक्षबीच विपक्षी गठबन्धन बनेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट