फिचर

निजामति सेवाका आइकन मैनाली

निजामती कर्मचारीहरूले नेपालको ‘कर्मचारीतन्त्र’ राजनीतिको चेपुवामा परेको गुनासो प्रायजसो गर्दै आएका छन् । राजनीतिकर्मीहरू ‘कर्मचारीतन्त्र’का कारण आफूले जनतासँग गरेका बाचा पूरा गर्न नसकिएको र कर्मचारीहरूले ‘नियम–कानून’का बाधा–अड्चनको ‘व्याख्य–अपव्याख्य’ गरी ‘घुमाउने’ कारण परिणाम दिन नसकिएको आक्षेप लगाउँदै आएका छन् । सरकारले ‘कर्मचारी’ च्याप्ने, कर्मचारीले ‘सरकार घुमाउने’ वा चाप्लुसीमा ‘नेताका पाउ पर्ने’ र ‘सेटिङ’ गरी ‘माल’ उठाएर बुझाउने-रिझाउनेदेखि गुप्त–अगुप्त रुपमा पार्टीको सदस्यता धारण गरी त्यसैका आडमा आफू पालित-पोषित हुने ‘भ्रष्ट’ परम्पराबाट ग्रसित बनेको ‘राजनीतितन्त्र’ र ‘कर्मचारीतन्त्र’को तालमेलबाट ‘इमान्दारिता’ हटेको प्रष्ट देखिएको छ । त्यसो त, ‘सिलो’ खोजेझैं इमान्दार ‘कर्मचारी’ र ‘राजनीतिकर्मी’ खोज्नुपर्ने अवस्था आएको आम जनमासको तर्क छ । त्यही अपवादमा परेका थोरै सचिवमध्येका एक हुन् गोपीनाथ मैनाली । जसलाई नेपाली राजनीतिका दुई टीम ‘प्रजातान्त्रीक’ र ‘कम्युनिष्ट’ले ‘फूटबल’ बनायो र एका पोष्टबाट अर्को पोष्टमा प्रहार गरी ‘गोल’ गर्न उद्दत रह्यो । तथापि इमान्दारिता र नैतिकतामा नचुकेका मैनालीले आफ्नो कार्यकालमा ८ पटक सरुवाको ‘दुष्परिणती’ भोग्न पुगे ।

सचिव भएपछि कहाँ कहाँ भए सरुवा ?


२०७३ सालमा सचिव भएका मैनालीको पहिलो पोस्टिङ क्षेत्रीय प्रशासन कार्यालय पोखरामा भयो । उनले त्यहाँ एक महिना मात्र काम गर्ने मौका पाए । पोखरा हुँदा क्षेत्रभरि गुनासोरहित सार्वजनिक सेवा उनको एजेण्डा थियो । दोस्रो चरणको निर्वाचनभन्दा दुई दिन अगाडि निर्वाचन आचारसंहिता विपरित निर्वाचन आयोगबाट मैनालीलाई नौ महिनामै प्रधानमन्त्री कार्यालयमा जगेडामा पठाइयो ।

प्रधानमन्त्री कार्यालयको जगेडामा चार महिना रहेपछि उनलाई सहकारी तथा गरिबी निवारण मन्त्रालय पठाइयो । कृषि, पशुपन्छी, भूमिसुधार र सहकारी एकैठाउँ गाभिएर बनेको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा चार महिना राखियो ।


त्यसपश्चात फुटेको भूमि, सहकारी र गरिबी मन्त्रालयमा करिब एक वर्ष काम गर्न दिइयो । त्यहाँबाट उनलाई विभागीय प्रमुखको पद महालेखा नियन्त्रक कार्यालयमा सरूवा गरियो । त्यहाँबाट उनलाई शिक्षा मन्त्रालयमा ५ महिना मात्र काम गर्न दिइयो र त्यहाँबाट गत फागुनमा उपराष्ट्रपतिको कार्यालयमा पु¥याइएको छ । दलीय झण्डा नवोक्ने र निष्ठा अनि निष्पक्षतामा काम गर्ने राष्ट्रसेवकलाई कसरी खेदिन्छ भन्ने उदाहरण सचिव मैनालीको सरुवाले दिन्छ । जहाँ पनि सुधार र अग्रसरताको आइकन बने तर सँधै लखेटिइ मात्र रहे ।

कस्तो रह्यो मैनालीको समग्र निजामती यात्रा ? के कस्ता सुधार काममा अग्रसर भए ?


गोपीनाथ मैनाली कलिलै उमेरमा निजामती सेवामा प्रवेश गरे, सानो पदबाट । उनको जागिरको शुरु वि स२०३८ सालमा खरिदारबाट भएको थियो । २०४३ सालमा नायव सुब्बा भई केही समय भीभीआइपी लाउन्जमा काम गरेपछि तत्कालीन पर्यटन राज्यमन्त्री रमेशनाथ पाण्डेको दुव्र्यवहार र अभद्रताबाट मन दुखाएर आफ्नो निष्ठाकै लागि राजिनामा दिए ।


जागिर राजिनामा दिएपनि फेरि प्रशासन, परराष्ट्र र प्रहरीमा परीक्षा सदए र उत्तिर्ण पनि भए, २०४५ बाट प्रशासनतर्फको शाखा अधिकृत बने । त्यसपछि योजना अधिकृत, स्थानीय विकास अधिकारी, नगरपालिकाहरूमा कार्यकारी अधिकृत भएर स्थानीय योजनाको नेतृत्व लिने काम गरे । अन्तरिम समयमा जनकपुर तथा धरान नगरपालिकाको अध्यक्ष (मेयर) को जिम्मेवारी पनि पूरा गरेका थिए । २०५३ सालमा उपसचिव भएपछि मैनालीले रक्षा लेखा नियन्त्रक कार्यालय, शिक्षा मन्त्रालय, राजस्पव प्रशासन तालीम केन्द्र र लोकसेवा आयोगमा आर्थिक प्रशासनको जिम्मेवारीमा काम गरे ।


२०६५ सालमा सहसचिव भएपछि मैनालीले राष्ट्रिय योजना आयोगमा लामो समयसम्म काम गरी योजना तथा नीति व्यवस्थापनको विशेषज्ञता हासिल गरे । यसै समय उनको अग्रसरतामा पूर्वाधार तथा जलवायु परिवर्तनका क्षेत्रमा संम्झिन लायक कामहरू पनि भएका थिए । स्थानीय योजना र आर्थिक प्रशासनमा आर्जित अनुभवले पनि योजना आयोगमा दक्षता देखाउन सघाएको थियो ।


२०७३ सालमा सचिव भएपछि पश्चिमाञ्चल विकास क्षेत्र पोखरामा क्षेत्रीय प्रशासक, निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महालेखा नियन्त्रक, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय आदि ठाउँमा सेवा गरिसकेका मैनाली अहिले उपराष्ट्रपतिको कार्यालयमा कार्यरत छन् । र उनी केही दिनमै ‘रिटायर्ड’ हुँदैछन् । यसरी सरकारी सेवामा तल्लो तहदेखि माथिल्लो तहसम्म पुगेर कुशल प्रशासकको छवि बनाएका मैनाली कर्मचारितन्त्रका निष्ठा र सदाचारका धरोहरका रुपमा चिनिन्छन् ।

विभिन्न सरकारी निकायका सहायक तहदेखि नीति तहसम्म पुगेर विभिन्न जिम्मेवारीदक्षतापूर्वक निर्वाह गरेका कुशल प्रशासक र योजनाविज्ञ मैनालीले थुप्रै उल्लेखनीय कामहरू गरेका छन् । अन्तराष्ट्रिय मञ्चमा सरकारले प्रतिवद्धता गरे पनि लामो समयसम्म अन्तिम रुप पाउन नसकेको जग्गा प्राप्ति तथा पुनर्वास नीतिले उनकै सक्रियतामा स्वीकृत भै कार्यान्वयनमा आएको थियो । त्यस्तै जलवायु परिवर्तनका क्षेत्रमा गरिबी र वातावरणीय प्रयास (पीइआई), जलवायु परिवर्तन बजेट, हरित अर्थतन्त्रको खाका, न्यून कार्बन विकास रणनीति, सबैको लागि दिगो ऊर्जा कार्यक्रमको खाका उनकै संयोजनमा तर्जुमा भएका थिए । स्मरणीय छ कि जलवायु परिवर्तन बजेट अवलम्वन गर्ने नेपाल विश्वकै पहिलो मुलुक हो । यो नेपालको आफनै आविस्कार भने हुन्छ । यही कार्यका लागि नेपाललाई विश्वमञ्चबाट ग्लोवल लिडरसीप अवार्ड प्राप्त भयो । यसलाई राष्टसंघीय प्रणालीले असल अभ्यासका रुपमा पनि राखेको छ । जलवायु बजेट अभिमुखीकरण गर्न उनको समूह चारपटकसम्म विदेशमा आमन्त्रण भएको थियो । यसले नेपालको ख्याति र पहिचान वाह्य मञ्चमा विस्तार गरेको छ ।

दिगो विकासका १७ लक्ष्य मध्ये चार लक्ष्यको प्राविधिक नेतृत्व पनि उनैले लिएका थिए । २०७२ मा गएको भूकम्प पछि विपद पछिको आवश्यकता आँकलन (पिडिएनए) मा २३ विषय क्षेत्रमध्ये ६ को संयोजन मैनालीले नै गरेका थिए । योजना प्रणाली सुधारका सन्दर्भमा एकीकृत वस्ती विकास मापदण्ड, राष्ट्रिय गौरवका योजना मापदण्ड र सहरी विकास सूचकाङ्क तर्जुमा गर्न पनि उनको सक्रियता रह्यो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा रहँदा मालपोत कार्यालयलाई नमूना कार्यालयमा रुपान्तरण, मालपोत प्रशासनका लिखतहरूको नयाँ ढाँचा लागू, सहकारी क्षेत्रको शुद्धिकरण, संघीयता अनुसारको प्रशासनिक नक्सा तर्जुमा गर्न नेतृत्व दिएका थिए । कार्यालय तथा विद्यालयहरूमा गलत विवरण र मानका नेपालको नक्सा हटाउन आफैले अनुगमन समेत गरेका थिए ।

शिक्षा सचिवका रुपमा पाँच महिना मात्र काम गर्न पाएका मैनालीको कामको शुरुवात नै चिकित्सा शिक्षा सुधारका लागि सत्याग्रहरत डा. गोविन्द केसीसँग सम्झौता गरी उनको ज्यान रक्षा र प्रणाली सुधारबाट गरेका थिए । छोटो अवधिमा पनि शैक्षिक सम्बन्धनलाई पारदर्शी बनाउने, नयाँ पाठ्यक्रमको विवाद सुल्झाउने, शैक्षिक वेथिति नियन्त्रण गर्ने र विश्वविद्यालयहरूलाई वित्तीय अनुशसानमा ल्याउने कामको शुरुवात गरेकाले लामो समय मैनालीलाई त्यहाँ पाएको भए सुधारले गति पाउथ्यो भन्नेहरू थुप्रै छन् । उनी शिक्षा सचिव भएपछि सामाजिक सञ्जाल र पत्रिकाहरू मार्फत सुधारका थुप्रै शुभकामना सुझाव आएकाले पनि मैनालीप्रतिको समाजको अपेक्षा बुझ्न सकिन्छ ।


सचिवको उदाहरणीय काम गरिसकेका गोपीनाथ मैनालीलाई अर्थ मन्त्रालय अन्तर्गतको विभाग महालेखा नियन्त्रक कार्यालयमा पुयाएपछि डिमोरलाइज्ड भएर बस्लान कि भन्ने थियो । तर त्यहाँ पनि सुधारको कामलाई निरन्तरता दिन पुगे । आफूभन्दा कनिष्ठ अर्थ तथा राजस्व सचिव भएपछि मन्त्रीले अध्यक्षता गर्ने बैठकमा बाहेक भाग लिन गएनन् र लगातार प्रणाली सुधार गर्न दत्तचित्त भए । कोरोनाको बन्दाबन्दीको समयमा पनि केही सहयोगीका साथ क्रियाकलापमा आधारित लेखा प्रणाली (सिगास) कार्यान्वयन, राजस्व तथा सम्पत्ति लेखा प्रणाली सुधार गरी छदशक अघिको लेखा प्रणालीको उचाइ बढाए । अहिले सार्वजनिक वित्तीय प्रणालीको अवस्था बैज्ञानिक र आधुनिक भएको छ, विकसित देशसंग तुलना गर्न सकिने भएको छ, सूचना प्रणालीको पूर्ण उपयोग गरिएको छ । विद्युतीय रुपमा रकम हस्तान्तरण हुन्छ । प्रणालीबीच इन्टरफेसिङ् हुन्छ र रियल टायममा चाहिएको वित्तीय विवरण तयार पार्न सकिन्छ । गत श्रावणबाट नै पेन्सन भुक्तानी प्रणाली विद्युतीय रुपमा लौजादै थिए तर कामले पूर्णता पाउन केही ढिला भयो । साथै स्थानीय तहलाई वित्तीय अनुशासनमा ल्याउन सुत्र प्रणलीको सवलीकरण र पालिकाहरूको क्षमता विकासका कामहरू पनि भए । गत बर्षबाट सबै पालिकाहरू सुत्रप्रणालीमा आवद्ध भै बजेटिङ्, रिपोर्टिङ् र लेखाङ्कनको कामले संस्थागत रुप पाएको छ । त्यसो गर्न नसकिएको भए स्थानीय तहमा आर्थिक अनुशासनको स्थिति कस्तो हुनेथियो होला ?

संघीयता कार्यान्वयनका सन्दर्भमा पनि मैनालीले विशेष अग्रसरता लिएका थिए । उनले यसलाई ऐतिहासिक अवसरका रुपमा लिएका थिए । जो कुनैलाई इतिहासले सुम्पेका विशेष जिम्मेवारी लिने अवसर कहा प्राप्त हुन्छ र ? निर्वाचन आयोगमा रहँदा निर्वाचन सम्बन्धी नीति संरचना विकास, स्थानीय तहमा महिला लगायत समावेशी प्रतिनिधित्वका लागि दलहरूसँग छलफल-अभिमुखीकरण र निर्वाचन शिक्षा उनका प्राथमिकतमा थिए । मनी इन पोलिटिक्स कसरी तोड्न सकिन्छ भन्नेमा चिन्तित थिए, किनकी राजनीतिमा प्रयोग हुने मनी, मसल र मेडियाकै कारण महिला, दलित र अल्पसंख्यक चुनामा किनारा परिरहेका छन् ।

सहकारी तथा गरिबी निवारण मन्त्रालयमा रहँदा सहकारी ऐन तर्जुमा गरी संघीयता अनुरुप प्रदेश तथा स्थानीय सरकारलाई सहकारी हस्तान्तरण गर्ने काम गरे । यो नै संघीयताअनुरुप संघले हस्तान्तरण गरेको पहिलो काम थियो । सहकारी महासम्मेलन आयोजना, दोस्रो साकोस भेला र सहकारी प्रवद्र्धनमा ऐतिहासिक कामहरू मैनाली कै समयमा भएका थिए । अहिले सहकारीको जानकारका रुपमा पनि उनले चिनारी कमाएका छन् । करिव ६० राष्ट्रिय स्तरका कार्यक्रममा स्रोत व्यक्ति र की नोट स्पीकर बनिसकेका छन् ।७३ लाख सदस्य भएको नेपालको बृहद सामाजिक सञ्जालमा उनको परिचय स्थापित भएको छ ।

भूमि व्यवस्थामा रहँदा मुक्त कमैया तथा हलिया समस्या संधैका लागि समाधान खटिरहे । अतिक्रमित सरकारी, सार्वजनिक गुठी जग्गा खोजी तथा संरक्षणका कार्यक्रम शुरुवात गरे । सार्वजनिक जग्गाको हदवन्दी कायम गरी होडिङ्वोर्ड राख्ने काम काठमार्डौ महानगरका केही वडाबाट शुरुवात गरी मुलुकभरि नै सरकारी, सार्वजनिक जग्गा संरक्षण गर्न स्थानीय तहसंग सहकार्यको शुरुवात भएको थियो । संविधानको भावना अनुरुप भूस्वामित्व र भूउपयोगका लागि कानूनहरू तर्जुमा गर्न अहोरात्र खटे । उनको विशेष सक्रियतामा नै गरिबी निवारण नीति, २०७६ तथा राष्ट्रिय भूमि नीति २०७५ तर्जुमा भयो, जसले तहगत सरकारको भूमिका स्पष्ट उल्लेख गरेको छ । तर ‘मेरो गाऊ जानौं’ अवधारणा कार्यान्वयन गर्न नियतिले दिएन । यदि त्यसले पूर्णता पाएको भए निश्चित गाऊ-बस्तीको उत्पादन, संभावना, आवश्यकता, प्राकृतिक स्रोत, जग्गा बनोट र उपयोग लगायतका भूआर्थिक विवरण फिङ्गरस्टिपमा पाउन सकिने थियो ।


महालेखा नियन्त्रकमा रहँदा पहिलो आन्तरिक लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्ने, विभाज्य कोषका साथै होल अफ दी गभर्नमेन्टको लेखा विवरण महालेखा परीक्षकलाई प्रस्तुत गर्ने कामको शुरुवात पनि उनकै पहलमा भएको थियो । तर शिक्षा मन्त्रालयबाट छोटो समयमा नै लखेटिएपछि अघिल्ला साचिवहरूले थाती राखेको संघीयता कार्यान्वयनका काम पूरा हुन पाएनन् । शैक्षिक क्षेत्रको मनोवल उठाउन पनि थुप्रै गर्नुपर्ने थियो । उनलाई सरुवा गरिएपछि उनलाई होइन, राष्ट्रलाई घाटा लाग्यो ।


यसका अलावा मैनालीले समग्र निजामती सेवाको गरिमा बढाउन, आर्थिक अनुशसान कायम गर्न र सरकारका नीति कार्यक्रम कार्यान्वयनमा संधै समर्पित भै काम गरे।उनीजस्तै थोरै निष्ठाका हिमायती भएकै कारण प्रशासनले यतिसम्म पहिचान राखेको छ । मैनाली निजामती सेवाका थोरै व्यक्तिमध्ये नीति विश्लेषण, विकास व्यवस्थापन र आर्थिक विधामा कलम चलाउने स्थापित लेखकका रुपमा पनि चिनिन्छन् । उनका व्यवस्थापन र समसमयिक पाँच पुस्तक र सैयौ लेख प्रकाशित छन् । राज्य सञ्चालनका आधारहरू उनको सर्वाधिक रुचाइएको कृति हो । उनका विचार र प्रकाशनले निजामति सेवाको गरिमा बढाउन वर्तमान र भावी पुस्तालाई प्रोत्साहन गरिरहने छ ।


प्रशासनिक शुद्धतामा विश्वास राख्नेहरूका लागि ‘निजामती सेवा’बाट रिटायर्ड भए पनि गोपीनाथ मैनाली ‘पारदर्शीता’ र ‘इमान्दारिता’का लागि उदाहरणीय पात्रका रुपमा रहनेछन् सायद । ‘रिटायर्ड जीवन’ सिर्जनशील जीवन हो, न की पट्यारिलो । मैनालीले निजामती प्रशासनभित्र धेरै विरुवाहरूका ‘बिउ’ रोप्नका लागि जीवनको लामो समय पढाएका पनि छन् । उनीबाट शिक्षा आर्जन गरी निजामती सेवा प्रवेश गरेकाहरू भोलिका दिनमा मैनाली र मैनालीभन्दा पनि अझै पारदर्शी, निष्कलङ्कित, सक्षम र उपल्लो ओहोदासम्म पुग्नेछन् सायद ।


निजामती सेवाको झण्डै चारदशक लामो यात्रा निकै आरोह अवरोहपूर्ण र संघर्षमय रहेपनि यसैले वृत्ति विकास र राष्ट्रसेवा गर्ने अवसर दिएकोमा उनी आफैमा सन्तुष्ट छन् । बरु वृत्ति यात्राका अन्ततिर उनलाई मन कुडिने अनुभूति सरकारले नदिएको भए सेवाभित्र अव्वल प्रतिभा भित्र्याउन छुट्टै सन्देश दिने थियो । आउने पुस्ताले उनले पैल्याएको निष्ठा र नैतिकताको बाटो समाउन अरु सहज हुने थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *