सुदुरपश्चिम प्रदेश

ओली पक्षका ७ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण


सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने नेकपा (एमाले)का प्रदेशसभा सदस्यलाई आज स्पष्टीकरण सोधिएको छ । एमालेको प्रदेश संसदीय दलको बैठकले गरेको निर्णय र ह्विप विपरीत मुख्यमन्त्रीका विपक्षमा मतदान गर्ने सात सदस्यलाई संसदीय दलका नेता प्रकाशबहादुर शाहले २४ घण्टे स्पष्टीकरण सोधेको संसदीय दलका प्रमुख सचेतक दुर्गाकुमारी कामीले बताइन ।   


 विपक्षमा मतदान गर्नेमा नेपालु चौधरी, गेल्बुसिंह बोहरा, लीलाधर भट्ट, रतनबहादुर थापा, माया तामाङ, पठानसिंह बोहरा र बलदेव रेग्मी रहेको जनाइएको छ । माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारका मुख्यमन्त्री पक्षमा संसदीय दलको निर्णयानुसार एमालेका १७ जनाले भने मत दिएका थिए ।    


 एमाले स्थायी कमिटी बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो । प्रदेश एमाले संसदीय दलमा पूर्वनेता माधवकुमार नेपाल पक्षको बहुमत छ ।    


 मुख्यमन्त्री भट्ट सत्तासाझेदार दल एमालेमा उत्पन्न आन्तरिक किचलोका बीच सदनबाट विश्वासको मत लिन सफल भएका थिए । उनले प्रदेशसभाका ५२ सदस्यमध्ये बहुमत अर्थात् ३० मत पाएका थिए ।    

 एमालेका सात र राजपाका दुई गरी नौ जनाले विपक्षमा मत दिए । बाह्र सदस्य रहेको नेपाली कांग्रेस तटस्थ बसेको थियो । प्रदेशसभामा एमालेका सभामुखसहित २५ र माओवादी केन्द्रका १३ सदस्य छन् । सरकार गठनको तीन वर्ष पूरा हुँदा मुख्यमन्त्रीले प्रदेशसभामा आज पहिलो पटक विश्वासको मत लिएका हुन ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट