देश

डेढ महिना लामो निषेधाज्ञा खुकुलो बनाउन गृहकार्य सुरु, यी क्षेत्र खुला गरिँदै

काठमाडौं । सरकारले डेढ महिना लामो निषेधाज्ञा खुकुलो बनाउने तयारी थालेको छ । कोरोना भाइरसको दोस्रो लहरको जोखिमबाट बच्न सावधानीस्वरुप सरकारले लागू गरेको निषेधाज्ञाको डेढ महिना पुगेको छ । पछिल्लोपटक काठमाडौं उपत्यकामा ३१ जेठसम्म निषेधाज्ञा तोकिएका कारण सबै क्षेत्र ठप्प छ।

कोरोना संक्रमण र मृत्युदरमा उल्लेख्य कमी नआए पनि जनजीविकासँग जोडिएका सवालहरुलाई मध्यनजर गर्दै निषेधाज्ञाको ‘मोडालिटी’ परिवर्तन गर्दै जाने नीति अपनाउने सरकारको तयारी छ। देशका ७७ मध्ये खोटाङ र मनाङबाहेक ७५ जिल्लामा निषेधाज्ञाका कारण जनजीवन प्रभावित बनेको छ ।

गृह मन्त्रालयले एक सातापछि असार १ गतेबाट निषेधाज्ञाको मोडालिटी परिवर्तन गरी सर्वसाधारणको दैनिकी सहज बनाउनेगरी तयारी थालेको छ । गृहका अनुसार सोमबार साँझसम्म हालकै मोडालिटीमा निषेधाज्ञा कायम रहनेछ।

गृह मन्त्रालय प्रवक्ता जनकराज दाहालले कोरोनाको जोखिम नघटे पनि निषेधाज्ञाले जनजीविकामा अप्ठेरो परेकाले अब निषेधाज्ञाको मोडालिटी परिमार्जनबारे छलफल भइरहेको जानकारी दिएका छन् ।

जेठ मसान्तमा निषेधाज्ञा सकिएपछि अत्यावश्यक सवारीसाधनका अलावा निजी सवारीमा जोरबिजोर प्रणाली लगाउने गरी तयारी थालिएको छ । गृहले मोडालिटीका आधारमा अघि बढाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशनसमेत दिइसकेको छ।

गृहले यसपालि मोडालिटी बनाएरै निश्चित क्षेत्र खोल्दै क्रमशः कोरोना नियन्त्रण तथा रोकथामसँगै जनजीविका सहज बनाउँदै जाने तयारी गरेको छ । अब अबलम्बन गर्न लागिएको मोडालिटीमा निर्माण, उत्पादनजन्य, कृषि कार्य खुला गर्ने सरकारको तयारी छ।

गृह स्रोतका अनुसार तत्काललाई उत्पादन र कृषि क्षेत्र, पाठ्यपुस्तक ढुवानी जस्ता कार्यमा सहजीकरण गरिनेछ । तर विद्यालय, कलेज, होटल व्यवसाय, पार्टी प्यालेस, सपिङ मल, मठमन्दीर, पार्कसहितका भीडभाड हुने क्षेत्र भने तत्काल खुल्ने छैनन् । यस्तै बढी भीडभाड हुने विवाह, व्रतवन्ध, सभा, गोष्ठी गर्न रोक लगाइनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट