कला/साहित्य

म र मेरो पहाड

ओरालेर झरना
हिंडाएर तल खोलो
बटुलिरहेछ पानी
हर्हराउँदो आँत पर्खेर
मेटाइरहेछ तिर्खा
सुसेली गीत गाउन लाएर
एकोहोरो हेरिरहेछ रमिता
मेरै साम्नेको सुन्दर पहाड
मलाई आफ्नो सुन्दरता चखाउन दिइरहेछ निम्ता ।
म पनि बयेलिन्छु उसैभित्र पसेर
लाग्छ, समदुरीको आफूजस्तै
अग्लो निधार ठम्याएर ऊ
सुम्सुम्याएर हावा
टाँसिएर आकाशसँगै
कुनैबेला सप्तरङ्गी इन्द्रेणीसँग बेरिएर
पालै पालो म्वाइ खाइरहन्छ पहाड
कहिले कुम जोड्न खोजेर
टल्किंदो हिमालसँग आँखा जुधाइरहन्छ
आहा ! मेरो अटल पहाड
म पनि खेलिरहन्छु उसरी नै
उही हिमालसँग उही पहाडसँग ।
आकाश धर्ती छिचोलेर आइपुग्ने
रापिलो घामको पहार तापेर
जिउ तताइरहन्छ ऊ
थाप्लोभरि लालीगुराँसको रङ पोतेर
एकान्तबाट च्याउँदै मलाई
निर्निमेष माया बसाइरहन्छ ऊ ।
कति भाग्यमानी छौँ म र मेरो पहाड
दुईतर्फ उकाली र ओराली
हिंडाएर बाटाहरू आफ्नै छातीमा
र यात्रा गर्न अराएर आफ्नै गतिमा
हेराहेर चलिरहन्छ हामी दुईबीच
आआफ्नै विविधता खोजेर
टिठ्याइरहन्छौं एक अर्कालाई हामी
मिठ्याइरहन्छौं एक आपसमा हामी ।

*………………*……………..*

मादी, संखुवासभा,हालः लोकन्थली, भक्तपुर

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट