समाचार

कांग्रेसले भन्यो-शितल निवासकोझैं षड्यन्त्र पोखरामा नदोहोरियोस्

बहुमत हस्ताक्षर अनुरुप पोख्रेललाई अविलम्ब मुख्य मन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई कांग्रेसकाे आग्रह

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई गण्डकी प्रदेशको मुख्य मन्त्री पदमा नियुक्त गर्न नेपाली माग गरेको छ । कांग्रेसले शनिवार अपरान्ह वक्तव्य जारी गर्दै कृष्णचन्द्र नेपाली पोख्रेललाई अविलम्ब मुख्य मन्त्रीमा नियुक्त गर्न माग गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी वक्तव्यमा भनिएको छ गण्डकी प्रदेशका मुख्य मन्त्रीले विश्वासको मत गुमाएपछि प्रदेश प्रमुखको आह्वान बमोजिम नेपाली कांग्रेसको संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेलले प्रदेश सभाका बहुमत सांसदको हस्ताक्षर सहित मुख्य मन्त्री पदमा दाबी पेश गर्नु भएको सर्वविदित छ । उहाँको पक्षमा हस्ताक्षर गरेका सांसदहरुको भौतिक उपस्थिति समेत दावीको क्रममा हिजो तथा आज फेरि पनि प्रदेश प्रमुखको कार्यालयमा उपस्थित छ । तर मुख्य मन्त्री नियुक्तिको सहज संवैधानिक प्रक्रिया कार्यान्वयनमा ढिलाई गरिएको स्थितिप्रति नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको छ ।

दुईदिन अघि मात्रै संसदमा विश्वासको मत गुमाएका ब्यक्तिको पुनः मुख्य मन्त्रीमा दावी एकातर्फ हास्यास्पद त छ नै अर्कातर्फ यसले षड्यन्त्रको गम्भीर आशंका र आभास पनि गराएको छ । शितल निवासमाझैं षड्यन्त्रको कुनै दबाबमा नपर्न प्रदेश प्रमुखलाई अपील गर्दै बहुमत ३१ सांसदको हस्ताक्षर र उपस्थितिमा प्रस्तुत दावा बमोजिम मुख्य मन्त्रीमा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई अविलम्ब नियुक्त गर्न नेपाली कांग्रेस माग गर्दछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट