समाचार

रत्नाकर वाल्मीकि बनेका छन्, दीपक मनांगेहरूलाई किन वञ्चित गर्ने ? – बाबुराम

काठमाडौं । जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले दीपक मनांगेहरूले नयॉ जीवन र नयॉ भूमिका चाहन्छन् भने किन वञ्चित गर्ने ? किन पूर्वाग्रह राख्ने ? भन्दै प्रश्न गरेका छन् ।

दीपक मनांगेलाई भेटेर उनीसँग खिचेको तस्बिर सार्वजनिक भएपछि भट्टराईले रत्नाकर डाकु वाल्मीकि बनेको उदाहरण दिँदै दीपक मनांगेहरूले खोजेको भूमिकामा किन वञ्चित गर्ने, किन पूर्वाग्रह राख्ने भन्दै प्रश्न गरेका हुन् ।

दीपक मनांगे मन्त्री हुनु कुनै नौलो कुरा नभएको उनको भनाइ छ । आइतबार बिहान सामाजिक सञ्जालमार्फत भट्टराईले दीपक मनांगेको भूमिकाको सपोर्ट गरेका हुन् । आफूसँग मनांगेले खिचाएको तस्बिर बारे सामाजिक सञ्जालमा आएको टीकाटिप्पणी हुनुलाई अन्यथा मान्न नहुने उनले बताएका छन् ।

बाबुरामले लेखेका छन्–
राजीव गुरुङ (दीपक मनांगे) अहिले गण्डकी प्रदेशको मन्त्री बनेपछि र यसक्रममा मसँग पनि भेटेपछि मिडियामा विभिन्न टीकाटिप्पणी भएका छन्। यसलाई अन्यथा मान्नु हुन्न। मेरो सुविचारित र अनुभवजन्य मान्यता छ– कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न। समाज र राज्यले मान्छेलाई अपराधी बनाउॅछ। साथै वर्गीय, जातीय, लैंगिक विभेद भएको समाजमा राज्य, समाजको वर्चस्वशाली तप्काले उत्पीडित, बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ। अतः अपराध, अपराधी एक सापेक्ष अवधारणा हो।
मैले २०५९–०६० सालको दोश्रो वार्ताकालमा देशका विभिन्न जेल–बन्दीगृहको भ्रमण गरेपछि भनेको थिएँ– नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका छन्, अनि खुला रूपमा रहनुपर्ने मान्छे जेलमा छन्।त्यही सोचका साथ आफू प्रम छॅदा मैले जेलसुधारनिम्ति तत्कालीन सांसद देवी खड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको थिएँ, जसको प्रतिवेदन अझै कार्यान्वयन हुनसकेको छैन। रत्नाकर बाल्मिकी बनेको हामी सबैले सुनेकै छौं। त्यसैले राजीव गुरुङहरूले नयॉ जीवन र नयॉ भूमिका चाहन्छन् भने किन बन्चित गर्नेरु किन पूर्वाग्रह राख्ने ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट