राजनीति

तीन प्रदेशमा कांग्रेसलाई सरकारमा सामेल गराएपछि पार्टीको संवैधानिक संकट टार्न देउवा सक्रिय

काठमाडौं । साढे तीन वर्षअघि कम्युनिस्ट पार्टीले झन्डै दुई तिहाइ बहुमत हासिल गरेपछि नेपाली कांग्रेस सशक्त प्रतिपक्ष पनि बन्न नसकी खुम्चिएको थियो । धेरैले अब कांग्रेस कम्तीमा पनि १० वर्ष सत्ता बाहिर नै हुने विश्लेषण गरेका थिए । कसैले पनि अनुमान गरेका थिएनन् कि केपी ओलीकै शासनकालमा कांग्रेस सत्तामा पुग्छ भनेर ।

तर, राजनीति भनेको सम्भावनाको खेल भएको फेरि पनि पुष्टि भएको छ । परिस्थितिले साढे तीन वर्षमै ओलीको प्रधानमन्त्री पद नै धरापमा परेको छ भने प्रदेशहरूमा कांग्रेस धमाधम सरकारमा सहभागी हुँदैछ । गण्डकी प्रदेशमा त कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री नै बनिसकेका छन् ।

कर्णाली र प्रदेश २ सरकारमा कांग्रेस सहभागी भएको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा पनि सरकारमा कांग्रेसको सहभागिता नजिकिँदै गएको छ । त्यसपछि प्रदेश १ र बागमती प्रदेशमा नयाँ सरकार गठन हुने बताइएको छ ।

पार्टीलाई प्रदेश सरकारमा सहभागी गराउँदै सम्भव भए संघीय सरकार पनि आफ्नै पार्टीको नेतृत्वमा बनाउन लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ध्यान १४औं महाधिवेशनमा केन्द्रित भएको छ । त्यसैले केन्द्रबाट ओली सरकारलाई विस्थापित गर्ने र महाधिवेशनको कार्यतालिका पनि सँगसँगै अघि बढाउने देउवाको तयारी छ ।

कांग्रेसका पदाधिकारीसँगको छलफलपछि सभापति देउवाले आगामी बिहीबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । शनिबारको बैठकले कांग्रेसको केन्द्रीय महाधिवेशन नौ दिन पर सारी तल्ला तहका अधिवेशन एक महिना पर धकेलेर निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्न कांग्रेस नेताहरू सहमत भएका छन् ।

समसामयिक राजनीतिक परिस्थितिले भदौमा पनि महाधिवेशन होला कि नहोला भन्ने आशंकाले कांग्रेसका नेता कार्यकर्तामा छटपटी देखिँदै गर्दा सभापति देउवाले नेता कार्यकर्ताको चित्त बुझाउन महाधिवेशन पनि गर्न नसकेको कलंक बोक्न नचाहेको प्रष्टिकरण दिँदै आएका छन् ।
असार ३ गते बस्ने केन्द्रीय समिति बैठकमा पार्टीको आसन्न १४ औँ महाधिवेशन र समसामयिक राजनीति घटनाक्रमबारे छलफल हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट