अर्थ

आयआर्जन वृद्धि गर्न पाठी उपहार

फुङ्लिङ । पाथीभरा याङवरक गाउँपालिकाले महिलालाई बाख्राको पाठी उपहार दिन सुरुवात गरेको छ । महिलाको आयआर्जनमा विकास गर्नका लागि गाउँपालिकाले सो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

महिला लक्षित आयआर्जन तथा सीप विकास कार्यक्रममार्फत गाउँपालिकाभित्रका लक्षित महिललाई बाख्राको पाठी उपलब्ध गराएको गाउँपालिकाका पशु शाखा कार्यालय प्रमुख भीमलाल बयलकोटीले जानकारी दिए ।

विपन्न तथा लक्षित समुदायको आयआर्जन विकास गर्नका लागि गाउँपालिकाले छनोट गरेको महिलालाई पाठी उपलब्ध गराउने उनले बताए ।

गाउँपालिको प्रत्येक वडामा दशजना विपन्न महिलालाई पाठी खरीद गर्नका लागि छ हजारका दरले ६० हजार र प्रत्येक वडामा बीउ बोका खरीद गर्न लागि १५ हजार पशु शाखा कार्यालयको कार्यक्रममार्फत पाठी उपलब्ध गएको पशु शाखाले जनाएको छ ।

गाउँपालिकामा आठ वडा रहेको छ । प्रत्येक वडामा दश वडा बाठी र बीउ बोका गरी ८० बाठी र आठ बोका वितरण हुने पशु शाखाले जनाएको छ ।

महिला तथा बालबालिका शाखा र गाउँपालिकाको संयुक्त कार्यक्रमअन्तर्गत महिलालाई लक्षित गरेर आवश्यकताअनुसार समूह गठन गरेर विभिन्न आयआर्जनको विकास गर्नका लागि भिन्न कार्यक्रम सञ्चालन गर्दै आएका उपाध्यक्ष रनमाया गुरुङले बताए ।

महिलालाई जीविकोपार्जनसँगै व्यावसायिक बन्न प्रेरित गर्ने उद्देश्यले महिला लक्षित कार्यक्रमलाई निरन्तरता दिँदै आएको उनले जानकारी दिए ।

गाउँपालिकाभित्रका ३ सय ७० घरका महिलालाई पाठी उपहार उपलब्ध गराइसकेको जनाइएको छ । उनले भने, “महिलाहरुको सीप विकास र आयआर्जन विकास गर्नका लागि म निर्वाचित भएसँगै लागिपरेको छु ।”

समुदायको माग र आवश्यकताअनुसार पशु शाखा कार्यालयका प्राविधिक कर्मचारीहरुले समूह गठन गर्ने र आवश्यक परामर्श र सहजकर्ताको काम गर्दै आएको गाउँपालिकाका महिला तथा बालबालिका शाखाप्रमुख रामकला कार्कीले बताए ।

विपन्न परिवार तथा लक्षित महिलालाई प्रत्यक्ष जीविकोपार्जन गर्नमा टेवा पुगेको उनले बताए ।

अघिल्लो आवमा ३०० महिलालाई उन्नत जातको बाख्रा उपलब्ध गराइएको थियो । भने चालु आवमा ३ सय ७० महिलालाई पाठी उपलब्ध गराइएको थियो ।

महिलाहरु आयआर्जन तथा जीविकोपार्जन कार्यक्रममा चालु आवमा गाउँपालिकाले २० लाख विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । आगामी आवको बजेटमा पनि कार्यक्रलाई निन्तरता दिने उपाध्यक्ष गुरुङले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *