देश

ओलीले स्थायी कमिटी बैठकमा बोलाए जालान् माधव–झलनाथ पक्ष ?

काठमाडौं । सर्वोच्च अदालतले एमालेको १०औं महाधिवेशन आयोजक कमिटी अवैध ठहर गरेपछि प्रधानमन्त्री केपी ओली आक्रोशित भएका छन् । अदालतको सो आदेश कार्यान्वयनमा रोक लगाउन भन्दै एमाले अध्यक्षसमेत रहेका ओलीकै निर्देशनमा सर्वोच्च्मा भ्याकेट हाल्ने तयारी भएको छ ।

तर, एमालेका दोस्रो तहका नेताहरूले सर्वोच्चको आदेशका कारण पार्टीमा एकता कायम हुने भन्दै मिलेर जानुपर्ने दबाब दिन थालेका छन् । सोही कारण ओलीले माधवकुमार नेपाल–झलनाथ खनालसहितको स्थायी कमिटी बैठक बोलाउने तयारी गरिरहेको बताइएको छ ।

ओली पक्षका एक नेताका अनुसार अध्यक्ष ओलीले यसअघि नेपाल–खनाल पक्षलाई एकताका लागि राखेको ६ बुँदे प्रस्तावका आधारमा ०७५ जेठ २ गते कायम स्थायी कमिटीको बैठक बोलाउने तयारी गरेका हुन् । तर, अझै पनि यो निर्णय र तयारी परिपक्व नभइसकेको बुझिएको छ ।

ओलीले नेपाल–खनाल पक्षको सहमति चाहिरहेका छन् । तर, नेपाल–खनाल पक्षले ओलीले गरेको एकता आह्वानमा विभिन्न सर्त राख्दै अस्वीकार गरिसकेको छ । सो पक्षले पहिले गरिएका सबै निर्णय खारेज गर्दै नयाँ शिराबाट अघि बढ्नुपर्ने सर्त राखेकाले ओली असमञ्जसमा परेको बुझिएको छ । यदि माधव पक्षले राखेको माग पूरा गर्नुपरेमा ओलीको भविष्यको राजनीति भने दाउमा लाग्ने स्पष्ट छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट