समाचार

हतारको उदघाटन : आजदेखि मेलम्चीको पानी काठमाडौं नआउने

काठमाडौं । हतारमा कुनै पनि आयोजना उदघाटन हुँदा कस्तो दुःख पाइँदो रहेछ भन्ने उदाहरण मेलम्ची खानेपानी आयोजना बनेको छ ।

सरकारले जनतालाई देखाउन अधुरै आयोजनाबाट तीन महिनाअघि काठमाडौं उपत्यकामा मेलम्चीको पानी झारेको थियो । तर, अहिले सुरुङ मर्मत गर्नुपर्ने भन्दै आजदेखि भदौ १ गतेसम्म मेलम्चीको पानी काठमाडौं उपत्यका नआउने भएको छ । जसकारण काठमाडौँ उपत्यकावासीले असार र साउन महिनामा मेलम्चीको पानी खान नपाउने भएका हुन् ।

सुरुङमा तीन महिना पानी बगिसकेपछि पुनः परीक्षण गर्नुपर्ने भएकाले पानी बन्द गरिन लागेको आयोजनाले सूचना जारी गरेर जनाएको छ । आजदेखि मेलम्ची नदी, सिन्धु, ग्याल्थुमलगायतका क्षेत्रमा र बाग्मती नदीमा समेत पानीको बहाब बढ्न सक्ने भएकाले स्थानीयवासीलाई सचेत रहन अनुरोध गरिएको छ ।

सुरुङमा पानी बन्द गरेपछि विज्ञहरूले सुरुङको निरीक्षण र परीक्षण गर्नेछन् । विज्ञहरूको निरीक्षण प्रतिवेदनका आधारमा थप काम गर्नुपर्ने पनि हुनसक्ने समितिका सूचना अधिकृत राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार सुरुङ परीक्षण गर्न करिब १५ दिन लाग्नेछ । निरीक्षणपछि सबै कुरा ठीक रहे फेरि सुरुङमा पानी भर्न १५ दिन लाग्ने छ ।

सामान्य अवस्थामा ४५ दिनमा सबै काम पूरा हुनेछ । विज्ञहरूले समस्या देखे भने वा थप सुझाव दिए भने अरू काम गर्नुपर्ने पनि हुन सक्छ नत्र सामान्य अवस्थामा करिब ४५ दिनमा सकिने छ ।

आयोजनाले गत फागुन १० गते मेलम्ची नदीको पानी पथान्तरण गरी सुरुङ परीक्षण शुरु गरेको थियो । परीक्षण शुरु भएको १२ दिनपछि सुन्दरीजलमा पानी आइपुगेको थियो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले गत वैशाख ६ देखि नै उपत्यकामा मेलम्चीको पानी वितरण शुरु गरेको थियो । मेलम्चीको पानी अवरुद्ध भएसँगै काठमाडौंमा खानेपानी वितरणमा असमानता देखिएको छ । खासगरी ललितपुरमा १२ दिनपछि खानेपानी वितरण हुने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट