समाचार

निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौंका सडकमा सवारीसाधनको चाप

काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि लागू निषेधाज्ञालाई केही खुकुलो बनाइएसँगै सडकमा सवारी चाप बढेको छ ।

कोभिड–१९ सङ्क्रमण ओरालो लागेसँगै उपत्यकाका तीन जिल्लाले आजदेखि निषेधाज्ञा केही खुकुलो बनाएको थियो । जसकारण मंगलबार बिहानैदेखि सडकमा गाडी र मोटरसाइकलको चाप बढेको देखिएको छ । डेढ महिनासम्म सडक खुला खुला भएकोमा आज बिहानैदेखि भिडभाड देखिन थालेको छ ।

काठमाडौं उपत्यकामा असार ७ गते राति १२ बजेसम्म निषेधाज्ञा कायम रहनेछ । काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रजिअसहित जेठ ३० मा बसेको संयुक्त बैठकले निषेधको आदेशलाई खुकुलो बनाउँदै असार १ देखि ७ गतेसम्म थप्ने निर्णय गरेको थियो ।

थपिएको निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद÷विक्रीका लागि बिहान ११ बजेसम्मको समय तोकिएको छ । यसअघि ९ बजेसम्मका लागि मात्रै खुला थियो । उक्त सामानको ढुवानी भने राति ९ बजेदेखि विहान ११ बजेसम्म मात्र गर्न पाइने छ ।

पुस्तक पसल र प्रिन्टिङ प्रेस पनि बिहान ११ बजेसम्म खुला गरिएको छ । विकास निर्माणजन्य सामग्री पसल (छड, सिमेन्ट, विद्युत, सेनीटरी, हार्डवेयर पसल) दिउँसो ४ बजेपछि मात्रै सञ्चालन गर्न सकिने भएको छ । अझै पनि स्कुल, रेस्टुरेन्ट, पार्टी प्यालेस, मनोरञ्जन क्षेत्र, पूजापाठ, राजनीतिक भेला र विरोधसभामा रोक लगाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट