राजनीति

जसपा अध्यक्ष यादवले निर्वाचन आयोगविरुद्ध राजनीतिक र कानूनी लडाइँ लड्ने

काठमाडौं । जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले निर्वाचन आयोगको निष्पक्षतामाथि राजनीति र कानुनी लडाइँ लड्ने घोषणा गरेका छन् । यादव समूहले संवैधानिक अंग निर्वाचन आयोगले लोकतान्त्रिक मूल्य, मान्यता, विधि र पद्धति तिरस्कार गरेको भन्दै राजनीतिक र कानूनी लडाइँ लड्ने घोषणा गरेका हुन् ।

जसपाको विवादमा बहुमतले गरेको निर्णय अस्वीकार गरेर निर्वाचन आयोग आफ्नो जिम्मेवारीबाट पन्छिएको अध्यक्ष उपेन्द्र यादवको आरोप छ । अध्यक्ष यादवले विज्ञप्ति निकालेर आयोगमाथि गम्भीर आरोप लगाए । जसपा बहुमतको निर्णय अनुसार आयोगले दलसम्बन्धी विवरण अद्यावधिक नगरेकोमा अध्यक्ष यादवले आयोगको भूमिकामाथि प्रश्न उठाएका छन् ।

निर्वाचन आयोगबाट निष्पक्ष, तटस्थ भूमिका निर्वाह हुन नसकेको र पूर्वाग्रहपूर्ण भन्दै एकपक्षीय हित हुने निर्णय नमान्ने पनि अध्यक्ष यादवले प्रष्ट पारेका छन् । यादवका अनुसार आयोगले राजनीतिक दलको बहुमतको निर्णय मान्य हुने लोकतान्त्रिक मूल्य, मान्यता, विधि र पद्धतिको सम्पूर्ण रुपले अवज्ञा, उपेक्षा र तिरस्कार गरेको छ ।

यादव सहितको कार्यकारिणी समितिको बहुमतले जेठ १७ गते महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्काशन गरेको थियो । त्यो विवरण अद्यावधिक गर्न आयोगमा पठाएको थियो । तर आयोगले अस्वीकार गरेपछि यादव समूह आक्रोशित भएको छ ।

आयोगले राजनीतिक दलसम्बन्धी ऐन नियमावली र जसपाको अन्तरिम विधान २०७७ लाई आफ्नो सुविधा अनुरुप बङ्ग्याई अपव्याख्या गरेर महन्थ ठाकुर पक्षलाई वैधानिकता दिन खोजिएको यादवले आरोप लगाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट