रिबन

मेलम्चीमा भीषण बाढी र पहिरोले मच्चायो वितण्डा (तस्वीरसहित)


काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्चीमा भीषण बाढी र पहिरोले वितण्डा मच्चाएको छ । सोमबारदेखि लगातार पानी परिरहेको छ। मंगलबार साँझ आएको बाढीले हेलम्बुमा रहेको शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बगाएको छ।
बाढीले जिल्लाका कतिपय ठाउँमा विद्युत् र खानेपानी अवरुद्ध भएको छ । प्रहरीले मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटर माथि हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको जनाएको छ । हेलम्बुको तिम्बु बजारका कतिपय घरहरु बगाएको छ । प्रहरीले एक दर्जनभन्दा बढी हराएको अनुमान गरेको छ । मेलम्ची खानेपानीको तिम्बुमा रहेको बाँधमा क्षति पुगेको छ । तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजारमा बाढी पस्दा बगरजस्तो बनेको छ ।
मेलम्ची र ईन्द्रावती नदीमा आएको बाढीले घर, पुललगायत संरचनामा क्षति पुर्‍याएको स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले उल्लेख गरेका छन्।
उनका अनुसार पचास जनाको हाराहारीमा मानिस बेपत्ता भएका छन् ।
बाढीले नाकोते, तिम्बु, फट्टे, मेलम्ची नवलपुर जोड्ने पुल बगाएको छ । बाहुनेपाटीमा बन्दै गरेको मध्यपहाडी लोकमार्गको पुलसमेत बगाएको छ । दोलालघाटसम्मका सम्पूर्ण पक्की पुल बगाएको छ । बेपत्ताहरूको खोजी शुरू गरिएको तथा क्षतिको अरूको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट