समाचार

बाढीपहिरोको वितण्डामा सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित

काठमाडौं । मनसुनको सुरुवातमै भएको भारी वर्षाले देशका विभिन्न भागमा विनाश निम्त्याएको छ । सिन्धुपाल्चोकमा बढी क्षति पुगेको छ । गत वर्ष पनि सिन्धुपाल्चोकमै सबैभन्दा धेरै क्षति भएको थियो ।

हिजो मंगलबारदेखि परेको लगातार वर्षापछि आएको बाढी र पहिरोमा परी सिन्धुपाल्चोकमा ७ जनाको मृत्यु भएको छ । अझै केही वेपत्ता छन् । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले देशभर ११ जना बेपत्ता रहेको जनाएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा बाढी–पहिरोले ठूलो क्षति गरेको छ । सञ्चार र सडक पनि भत्किएकाले ति क्षेत्रमा सम्पर्क विच्छेद भएको छ । उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गरिएको छ । मेलम्चीमा पानीको बहाव केही घटे पनि अहिले पनि नदीमा लेदो बगिरहेको छ ।

मेलम्ची क्षेत्रबाट बिहान सेनाको हेलिकप्टरमार्फत २६ जनाको उद्धार गरिएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अन्तर्गत खोला छेउ घर भएकालाई बगाएको र उनीहरुको विस्तृत विवरण आइनसकेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

पूर्वसञ्चारमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत घटनास्थलमा बुधबार बिहानै पुगेका थिए । पूर्वमन्त्री बस्नेतले हेलिकोप्टरको सहयोगमा धरैजनाको उद्दार गरेका थिए । समस्यामा परेकालाई तत्काल राहत उपलब्ध गराएका थिए । उनले स्थानीयवासीलाई थप सचेत रहन सुझाएका थिए । मेलम्ची–इन्द्रावती नदी किनारमा रहेको मेलम्ची बजारमा बाढीले ठुलो क्षति पुर्याएको छ । मेलम्ची बजारका जोखिमयुक्त ठाउँका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ ।

बाढी पहिरोमा फसेकाको उद्धार, पीडितलाई राहत सामग्री वितरण तथा सुरक्षित बासस्थानका लागि काम भइरहेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए । विवरण संकलन गर्ने काम भइरहेकाले अहिले क्षतिको यकिन गर्न नसकिएको उनले बताए ।

बाढी पहिरोले सल्यान, बाजुरा, गोरखा, जाजरकोट, पाल्पा लगायतका जिल्लामा पनि क्षति गरेको छ । मनाङमा हेलिकप्टरबाट राहत पठाउने तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ । त्यहाँ बाढीका कारण जोखिममा रहेका ५०० जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट