राजनीति

कांग्रेस १४ औं महाधिवेशनका बाँकी विषय आजै टुंगो लाग्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनसम्बन्धी देखिएका विवादको टुंगो आज लाग्ने भएको छ । आज पनि केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । बैठकले क्रियाशील सदस्यतासम्बन्धी देखिएको विवाद निरुपण गर्ने कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।

बिहीबार बसेको कांग्रेस बैठकले महाधिवेशनको कार्यतालिका संशोधन गरेको थियो । बैठकले केन्द्रीय महाधिवेशनको मितिलाई यथावत राख्दै तल्ला तहका कार्यतालिकालाई फेरि संशोधन गरेको हो ।

बिहीबारको बैठकले संशोधन गरेको कार्यतालिकाअनुसार १२ साउनमा वडा अधिवेशन, १६ साउनमा गाउँ र नगर समितिको अधिवेशन, २० साउनमा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन, २३ साउनमा संघीय निर्वाचन क्षेत्रको अधिवेशन, २६ साउनमा एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन तोकिएको छ ।

यसैगरी प्रदेश समितिको अधिवेशन १ र २ भदौमा हुनेछ । नयाँ कार्यतालिकाअनुसार कांग्रेसको केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौसम्म हुनेछ । आज (शुक्रबार) बस्ने बैठकले वडादेखि केन्द्रसम्मका कार्यतालिकालाई अनुमोदन गर्ने भएको छ ।

यसअघि पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमार्फत कांग्रेसले ६ साउनमा वडा अधिवेशन गर्ने निणर्य गरेको थियो । यस्तै, ११ साउनमा गाउँ र नगर समितिको अधिवेशन, १६ साउनमा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन, २० साउनमा संघीय निर्वाचन क्षेत्रको अधिवेशन, २० साउनमा एक निर्वाचन क्षेत्र भएका जिल्लाहरुको अधिवेशन र २४ साउनमा एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन तोकिएको थियो । कांग्रेसले क्रियाशील सदस्यता छुट भएकाको अन्तिम मिति असार ६ गतेसम्म तोकिएकोमा एक साता म्याद थप गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट