समाचार

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा असार २६ गतेदेखि गर्ने आयोगको तयारी

काठमाडौ । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा असार २६ गतेदेखि गर्ने तयारी गरेको छ। कोरोना संक्रमणका कारण रोकिएको स्नातक तहको एकीकृत परीक्षा असार २६ गते सञ्चालन गर्न आयोगले आन्तरिक रुपमा तयारी समेत गरिसकेको आयोगले बताएको छ । प्रवेश परीक्षा असार २६ गतेदेखि सञ्चालन गर्ने अनुमति माग गर्न सिसिएमसीलाई प्रस्ताव समेत पठाइसकिएको आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले बताए।
अब सिसिएमसीले आयोगको प्रस्ताव अनुसार परीक्षा सञ्चालनको स्वीकृति दिएमा आयोगले २६ गतेबाट परीक्षा सञ्चालन गर्ने छ।


स्नातक तहको एकीकृत प्रवेश परीक्षा भने काठमाडौं उपत्यकामा मात्रै गर्ने योजना बनाइएको छ।

डा गिरीले असार अन्तिम सातासम्ममा निषेधाज्ञा खुल्न सक्ने भएकाले असार २६ परीक्षार्थी सहजै रुपमा काठमाडौं आएर परीक्षा दिन सक्ने जानकारी दिए। एमबिबिएस, बिडिएस, नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ लगायत चिकित्सा शिक्षा तर्फका स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागि हुन आयोगले यसअघि नै अनलाई फारम खुला गरेको थियो।

प्रवेश परीक्षा दिन करिब २५ हजार ५०० परीक्षार्थीले फारम भरेको डा गिरीले जानकारी दिए।

आयोगले चिकित्सा शिक्षा तर्फको स्नातक तहको विभिन्न संकायका लागि देशभरका मेडिकल कलेजहरुमा सिट समेत निर्धारण गरिसकेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट