राजनीति

किन भेटिन राष्ट्रपति भण्डारीले तीनवटै सुरक्षा निकायका प्रमुखलाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज तीनवटै सुरक्षा निकायका प्रमुखसँग भेट गरेकी छन् । उक्त भेटमा गृहमन्त्री खगराज अधिकारीसमेत थिए ।

संविधानतः आलंकारिक भूमिकामा मात्रै रहेकी राष्ट्रपति भण्डारीको यो सक्रियतालाई अर्थपूर्ण रुपमा हेरिएको छ । सुरक्षा निकाय र गृहमन्त्रालयले कार्यकारी प्रमुखका रुपमा प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने व्यवस्था छ ।

विपद् व्यवस्थापनमा भइरहेको तयारीबारे जानकारी लिन भन्दै राष्ट्रपति भण्डारीले गृहमन्त्री अधिकारी, नेपाली सेनाका प्रमुख पुर्णचन्द्र थापा, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र नेपाल प्रहरी प्रमुख शैलेश थापासँग सामूहिक भेट गरेकी हुन् ।

भेटमा गृहमन्त्री र तीनवटै सुरक्षा निकायका प्रमुखले विपद् व्यवस्थापनका लागि भइरहेको तयारीबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए । प्राकृतिक प्रकोपबाट जुध्न भएका तयारीबाहेक अन्य विषयमा कुराकानी नभएको सशस्त्र प्रहरीका महानिरीक्षक खनालले बताए ।

यसअघि पनि अनावश्यक काममा सक्रिय भएको आरोप लागेका बेला राष्ट्रपति भण्डारी अब विपद व्यवस्थापनमा पनि अघि सरेको देखियो । कतिपयले यसलाई सुरक्षा निकायसँग नजिक हुने राष्ट्रपतिको प्रयासका रुपमा अर्थ लगाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट