कला/साहित्य

भुइँचालोको रहर

कविता

पानी दर्किएको हो कि परतिर
एउटा आवाज बोकेर आँउछ
बादलको धुवाँ उडेको हो कि पर भित्तामा
एउटा अत्यास छोपेर आउँछ
कुनै नृत्यझैँ बोट वृक्षहरू नचाउँदै क्षितिजहुँदि
ऊ धर्तीमाथि कम्पन उचालेर आउँछ
हतारोमा सिङ्गो बस्तीभरि एउटा तरङ्ग
भुइँचालोको रहर भएर थरथराउँछ
ऊ धरातल उफारेर आउँछ
ऊ रसातल लतारेर आउँछ ।
उफार्दै ताल तलैयाका
पानीका तरलताहरूलाई
ढक्ढक्याउँदै टाकुरीमा चुलिएका
हिउँका अग्ला चुल्ठीहरूलाई
थेचार्दै मान्छेका बेपर्बाह जिन्दगीहरूलाई
झुक्यान र सैतान बनेर आउँछ ऊ ।
एउटा दारुणमय कोलाहलमा रँगाउँछ
असह्य वेदनाभित्र मान्छे आँसु बगाउँछ
ऊ अबाटो भएर आउँछ
गाँउबस्ती र भूगोलमाथिको एउटा असरल्लता
कम्पन पिंmजाएर फैलिन्छ
र परपीडन भिराएर फर्किन्छ
उद्दण्ड प्रचण्ड भुइँचालो ।
अत्तालिन्छन् सबै सबै प्राणी जगत्
कहिले खैलाबैलाले
कहिले मुटु दुखिरहेको मौनताले
विस्थापित हुन्छ मानव जगत्
तर, किन निरास नभएर फर्किन्छ ऊ ?
किन विनाश थमाएर चर्किन्छ ऊ ?

०…………०………….०

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *