धर्म/सस्कृति

भोकमरीको चपेटामा चेपाङहरू

नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ५९ प्रकारका जनजातिहरू सदियौँदेखि दीर्घकालीन जीवन व्यतीत गर्दै आएको पुष्टि राष्ट्रिय जनगणनाको तथ्याङ्कले गरेको छ । सबै जनजातिहरूको रीतिरिवाज पृथक्–पृथक् रहे तापनि नेपाल र नेपाली भएको कारण एकआपसमा सामीप्य रहँदै आएको छ । विश्व एक्काइसौँ शताब्दीको विकास र आधुनिकतामा उभिए तापनि चेपाङहरू भने आधुनिकतातर्फ उन्मुख हुन सकेका छैनन् ।

चेपाङहरूलाई प्रकाशमा ल्याउने पहिलो व्यक्ति बेलायती नागरिक हड्सन (१९४८) हुन् । उनी भन्दछन्– कुसुन्डा र चेपाङहरूको यस देशका अन्य सभ्य वर्ण (Race) सँग कुनै सामीप्य देखिँदैन । यिनीहरू पुराना बासिन्दाका चोइटा जस्तै छन् । अझ उनी चेपाङहरूलाई भग्न जाति (Broken Trible) को नाम दिन रुचाउँछन् । भाषिक सामीप्यका आधारमा चेपाङहरू भुटानका ल्होपाज (Lhopas) जस्ता देखिन्छन् ।१ (प्रज्ञा, खोजमूलक चौमासिक (ने.रा.प्र.प्र. काठमाडौँ) असार–माघ २०५१–५२ पूर्णाङ्क ८२ (क), पृष्ठ १६३ ।)

यस जातिको थर चेपाङ कसरी रहन गयो ? भन्ने सम्बन्धमा एउटा प्रचलित भनाइ रहेको छ । चेपाङ भाषामा ‘चे’ को अर्थ कुकुर, ‘पाङ’ को अर्थ धनुष वाण हो । जङ्गलमा सिकार खेल्न जाँदा साथमा धनुष वाणसँगै कुकुर पनि रहेको हुनाले चेपाङ थर रहन गएको हो । यसरी शब्दको अर्थलाई हेर्दा भनाइको तारतम्य मिल्दोजुल्दो देखिन्छ । चेपाङहरूको मेएरखोरे, डिराई, खलाक, दर्सिरङमाई, सिसिमाई, दोलत, रिन्थली आदि थरहरू रहेका छन् ।

चेपाङको उत्पत्तिसम्बन्धी पौराणिक कथा यस्तो पनि रहेको पाउँछौँ– धेरै वर्षपहिले एक युवतीको एक अपरिचित युवासँग सहवासका कारण गर्भ रही बच्चा जन्मन पुग्यो । समाजमा घृणित हुनबाट बच्न ती युवतीले बच्चालाई जङ्गलमा लगी ढुङ्गामा उठाएर राखिदिइन् तर सो बच्चा भगवान्को कृपाले ठूलो भयो र त्यसको नाम च्यापिएको रहन गयो । पछि बोलीचालीको भाषामा अपभ्रंश भई चेपाङ रहन गयो ।

चेपाङ जातिको उत्पत्ति सम्बन्धमा विद्वान्को भनाइमा एकरूपता रहेको पाइँदैन तर चेपाङ जातिका बूढापाकाहरू आफ्नो जातिको उत्पत्तिका बारेमा पौराणिक कथा रामायणसँग जोडिएको कुरा बताउँछन् । यो जातिका मानिसहरू आफूहरूलाई प्रसिद्ध हिन्दुग्रन्थ रामायणकी सीताको छोरा लवका सन्तान पनि भन्ने गर्दछन् । वनवासबाट फर्केपछि सीतालाई रामले त्यागेका हुनाले सीता भौँतारिँदै जङ्गलको एक ऋषि वाल्मीकिको कुटीमा पुगी बस्न थालिन् । वनवासमा रहँदै सीताको गर्भ रहिसकेका कारण सीताले एक छोरा जन्माइन् । जसको नाम लव राखियो । एक दिन सीता लवलाई लिएर नारायणी नदीमा नुहाउन गइन् । नुहाउन गएको कुरा सीताले ऋषिलाई भनेकी थिइन् । ऋषिले बच्चा सुताइरहेको कोक्रोमा हेर्दा बच्चा देखेनन् । सीता रुन्छे, कराउँछे भनी ऋषिले तत्कालै कुशबाट बच्चा बनाई सो कोक्रोमा राखिदिए । सीता नदीमा नुहाइधुवाइ गरी लवलाई लिएर फर्केको देख्दा ऋषि टोलाइरहे, सो कुरा सबै सीतालाई कहे । कुशबाट बनाएको हुँदा बच्चाको नाम कुश राखियो भन्ने सन्दर्भ रामायणमा आउँछ ।

चेपाङहरू पूर्वको दोलखा जिल्लाको सुनाथली भन्ने ठाउँबाट उहिले यता बस्न आएको भन्ने चलन छ । यता आएपछि चेपाङहरूका चार जना राजा भएका थिए । उनीहरूको नाउँ पोनि राजा, गिल राजा, रिनी राजा र राजी राजा थियो । उनीहरूको सामूहिक दरबार गर्ने ठाउँ पुकन्थली र चार राजामध्येका सबैभन्दा ठूलो राजी राजाको नेतृृत्व हुन्थ्यो तर एक दिन पाटनका मल्ल राजाका फौजले यी चारै चेपाङ राजालाई हराएर यो क्षेत्र आफ्नो अधीनमा लिए । त्यस बेलादेखि आफ्नो राजा नभए तापनि केही वर्ष अघिसम्म उनीहरूले चर्चिआएको जमिनजति चेपाङको किपट रहिआएको थियो । चेपाङहरूको आदिकालको उत्पत्तिबारेमा एउटा अति रोचक तथा खोजी गर्नुपर्ने विषय भएको कथा छ । त्यसलाई सबै चेपाङ विश्वास गर्छन् र त्यो कथा दोहो¥याइरहन्छन् ।२ (बिष्ट, डोरबहादुर, सबै जातको फूलबारी (साझा प्रकाशन काठमाडौँ) २०३०, पृष्ठ ६८ ।)

आजकाल यिनीहरूले आफूलाई ‘चेपाङ’ भन्दा ‘प्रजा’ भन्न मन पराएको पाइन्छ । उनीहरू चेपाङ शब्दले आफूलाई अपमानित गरेको सम्झिन्छन् । यद्यपि छिमेकका ब्राह्मण क्षत्रीहरू चेपाङ भनी जिस्क्याउँछन् । वास्तवमा यिनीहरूका लागि ‘प्रजा’ शब्दको सुरुआत सन् १९७७ मा तत्कालीन अधिराजकुमारी प्रिनसेप शाहको भेटपछि प्रजा–विकास आयोजनाको सुरुआतसँगै भएको देखिन्छ । मकवानपुरको रक्सिराङ भन्ने चेपाङ गाउँमा स्थापित दुई सङ्गठन ‘चेपाङ एकता समिति’ र प्रजा समाज एकता समिति स्थापित भएका छन् । चेपाङ एकता समितिले गर्दा यसका अनुयायीहरू आफूहरूलाई चेपाङ शब्दबाट नै आफ्नो समूहको पहिचान गराउँदै आफ्नो मौलिक संस्कृति र नामलाई बचाइराख्न जागरूक भएको भन्न सकिन्छ ।३ (प्रज्ञा, पूर्ववत्, पृष्ठ १६४ ।)

चेपाङ जाति नेपालको धादिङ, मकवानपुर, चितवन, बारा, पर्सा, लमजुङ आदि जिल्लाहरूमा बसोबास गर्दै आइरहेका छन् । नेपालको जनगणना वि.सं. २०५८ मा चेपाङहरूको जनसङ्ख्या ५२, २३७ थियो भने वि.सं. २०६८ को ६८,३९९ रहेको छ । चेपाङहरूलाई आफ्नो जीवन गुजारा चलाउन हम्मेहम्मे परेको छ । वर्षभरिको उब्जनी अर्थात् कमाइले ३ महिनासम्म खान–लाउन पुग्छ । कन्जुस्याइँ ग¥यो भनेचाहिँ ६ महिनासम्म पु¥याउँछन् । उनीहरूलाई आज खाए भोलि के खाने भन्ने समस्याले पिरोलिरहन्छ सदैव । धेरै चेपाङहरू आधा पेट खाएर वा भोकभोकै पनि सुत्छन् । पहिलेपहिले यिनीहरू आफूलाई जमिनपति भन्थे । समाजमा टाठाबाठाहरूको बलमिच्याइँले गर्दा चेपाङहरू समथर भूमि छाडेर पहाडको उच्च ठाउँमा र खोरिया जग्गामा बस्ती बसाल्न पुगे । खेतीयोग्य जमिन नहुनाले जङ्गलको छेउछाउमा आगो लगाई भ्याकुर, सखरखण्ड, मास, गहत, बेसारका साथै मकै, गहुँ र कोदोको पनि खेती गर्छन् । जङ्गलमा पाइने निगालो तथा बाँसबाट डोको, कोक्रो, पेरुङ्गो, माछा मार्ने सामान र स्थानीय नदी खोलामा माछा मारी नजिकको बजारमा लगी बेचबिखन गर्छन् ।

आफ्नो परिवारलाई जीवन गुजाराका लागि चेपाङहरू गिट्ठा, भ्याकुर, सखरखण्ड आदि जङ्गली फलफूलहरू र जङ्गली जनावरहरू मृग, चित्तल, घोरल, बदेल आदि मारी खानाको रूपमा प्रयोग गर्ने गर्छन् । अझ चमेरो, गँगटो, प्युपाको मासु तरकारी बनाएर खान मन पराउँछन्, चेपाङहरू ।

चेपाङहरू खानका लागि जाँडरक्सी आफैँ बनाउँछन् । चामलको भात खान चाडपर्व नै आउनुपर्ने यिनीहरूलाई चाडपर्वमा माछा, मासु, जाँड, रक्सी, भात पेटभरि खान्छन् । यदि खर्चका लागि आफूसँग पैसा नभएमा ऋणसम्म काढ्छन् ।

यिनीहरूको सामूहिक वार्षिक आम्दानी र सामूहिक वार्षिक खर्च वा प्रतिव्यक्ति आम्दानी र खर्चको विश्लेषण गर्ने हो भने आम्दानीभन्दा खर्च निकै बढी भएको प्रस्ट देखिन्छ । आफ्नो सीमित जग्गामा लगाइने अन्नको बीउसमेत जगेर्ना गर्न नसकेर टाठाबाठासँग दोब्बर बुझाउने सर्तमा यिनीहरू अन्न सापट ल्याएर गरिबीलाई बढावा दिन बाध्य हुन्छन् भने साहुहरू बीउबिजन र अन्य अवस्थामा ऋण दिएर यिनीहरूको कमजोरीको फाइदा उठाउँदै सीमित जमिनसमेत हात पार्न पछि पर्दैनन् ।४ (ढुङ्गेल, राममणि, चेपाङ समुदाय र संस्कृति (साझा प्रकाशन काठमाडौँ) २०५१, पृष्ठ २९ ।)

चेपाङ जातिको शारीरिक बनावट तामाङ जातिसँग मिल्दोजुल्दो देखिन्छ । मोटाघाटा, गहुँगोरो वर्ण, थेप्चो नाक परेका चेपाङहरू फुर्तिला हुन्छन् । पुरुषहरू इस्टकोट, सुरुवाल, भोटो, मजेत्रो ओड्छन् र महिलाहरू भाङ्ग्रो जस्तो कपडा बेरी गर्दनमा बाँध्ने गर्छन् साथै नाकमा फूली, बुलाकी, चुरा, पोते आदि गहना लगाउँछन् । आधुनिक विकासको प्रभावले आधुनिक किसिमकै लुगाहरू लगाउन थालिसकेका छन् चेपाङ जातिका युवायुवतीहरूले पनि ।

चेपाङहरूलाई आफ्नो स्वास्थ्य रक्षाको समेत ज्ञान छैन । पोसिला खाद्यान्नको अभावले र निम्न कोटीको खाद्य वा अर्धविषालु झारपात वा कन्दमूलबाट प्राण धान्नाले यिनीहरूलाई विभिन्न रोगले सताइरहेको हुन्छ । झाडापखाला, पेट दुख्ने, मुटु दुख्ने, दम, क्षयरोग आदि जस्ता रोगले सताइरहन्छ । अझ कैयौँ दिन भोकभोकैसमेत बस्नाको कारण रोगले झन् ग्रस्त पार्दछ र प्रायः रिँगटा लागिरहेको हुन्छ । साथै लुलो, लङ्गडा, अन्धो हुने स्थितिको यिनीहरूले सामना गर्नुपर्दछ ।

पोषण र अज्ञानताबाट यिनीहरू रोग निम्त्याउँछन् र रोगको कारणमा भूतप्रेत, बोक्सी, मसान आदिको खेल सम्झन्छन् । आधुनिक औषधी उपचारको आकर्षण यिनीहरूमा छैन । झाँक्रीले भूत, प्रेत, बोक्सी, मसान सबै पन्छाउन सक्छ भन्ने धारणा छ । यसैले रोगग्रस्त भएर मृत्युशøयामा पुगुन्जेल यिनीहरू ढ्याङ्ग्रो ठोक्न छोड्दैनन् र अकालमा मृत्युको सिकार बन्दछन् । चेपाङहरू डाक्टर, हेल्थ पोस्ट, अस्पतालतर्फ होइन तन्त्रमन्त्र, झारफुकमा गहन विश्वास राख्दछन् । आधुनिक चिकित्सा वा औषधोपचारतर्फ यिनीहरू आकृष्ट नहुनुको कारण प्रमुख त गरिबी नै हो । आधुनिक औषधोपचारका लागि यिनीहरूसँग पैसा हुँदैन । अर्को कारण हो, यिनीहरूमा डाक्टरी औषधीको ज्ञान नहुनु, साथै अर्को कारणमा झाँक्रीप्रति दृढ भरोसा रहनु र झाँक्रीदेखि डर हुनु । यसरी यिनीहरू अस्वथ्य जीवनमा बाँचेका हुन्छन् । बच्चाहरू २० प्रतिशत हुर्कन नपाउँदै मर्दछन् । स्वास्थ्य क्षेत्रमा खानेपानीले पनि महŒवपूर्ण भूमिका खेलेको हुन्छ । खानेपानीतर्फ दृष्टिगत गर्दा समष्टिमा चेपाङ क्षेत्रमा पर्याप्त खानेपानीको सुविधा छैन । पानीका मुख्य स्रोत ढुङ्गेधारा, कुवा, खाँद, खोल्सा आदि हुन् जुन चैत, वैशाखमा सुक्दछन् । वर्षामा मनसुनको कारण पानीको पर्याप्तता भए पनि गरम र सुक्खा मौसममा पानीको समस्या पर्दछ । यस सिजनमा यिनीहरू १.७५ माइलसम्म हिँडेर पानी लिन जान्छन् ।५ (Survey of Chepangs, P.P. 44)

यिनीहरूको आफ्नै छुट्टै भाषा रहेको छ । आफ्नो समुदायमा बोल्नुपर्दा आफ्नै मातृभाषा बोल्दछन् । अन्य समुदाय र समाजमा बोल्नुपर्दा नेपाली भाषाको प्रयोग गर्दछन् । अन्य जनजातिहरूको जस्तै चेपाङ जातिका युवा पुस्ताले पनि नेपाली भाषामा नै बोलीचाली गर्न थालेको हुँदा चेपाङ जातिको भाषालाई संरक्षण दिनतर्फ नलाग्ने हो भने लोप भएर जान सक्ने सम्भावनालाई नकार्न सकिन्न ।

चेपाङ भाषाको वर्गीकरण सर्वप्रथम ‘बन्बो’ ले गरेका थिए, जसअनुसार यो भाषा भोट–बर्मेली भाषापरिवारको सदस्य भाषा हो । यसै गरी चेपाङ भाषाको वर्गीकरण सेफर र तोवाले पनि गरेका छन् । जसअनुसार यो भाषा थामी र हायू भाषाको समीप रहेको र भोट–बर्मेली समुदायमा परेको बताएको छ ।६ (राई, एन.के., पिपुल अफ द स्टोन, पृष्ठ ६ ।) यसै गरी पारिवारिक दृष्टिले यो भाषा नेवारी, गुरुङ, मगर, थामी, थकाली, शेर्पाली भाषाहरूको समीप रहेको छ र यी भाषा पनि भोट–बर्मेली समूहभित्र पर्दछन् । अझ दोलखामा बस्ने थामी जातिसँग यिनीहरूको भाषाको लवजसमेत मिल्दछ । धेरै लामो समयको सम्बन्धविच्छेदपछि भाषामा अन्तर आएको हो कि भन्ने पनि अड्कल गरिन्छ ।७ (अधिकारी, सूर्यमणि, चितवन जिल्लाका चेपाङहरू र उनीहरूको स्थानीय नेतृत्व स्वरूपबारे अध्ययन, त्रि.वि.वि.मानविकी तथा सामाजिक शास्त्र अध्ययन संस्थान डीनको कार्यालय, पोखरा २०३४, पृष्ठ १० ।)

चेपाङ भाषाका केही नमुना
(क) नातागोता बुझाउने शब्दहरू

नेपाली भाषा चेपाङ भाषा
बुबा आपा
दाइ आपु
भाइ हाउ
लोग्ने भाउ
पत्नी ममचो
दिदी आन्यो
बहिनी बाइनी
सासू आई
दिदी आने
आइमाई मोमचो
छोरी चोद्याङ
छोरा चो
भाउजू आई
मामा तो

(ख) शरीरका अङ्ग बुझाउने शब्दहरू :
नेपाली भाषा चेपाङ भाषा

कपाल म्याङ
मुख काम
आँखा मिक
कान नो
नाक ने
घुँडा ङमबुल
हात क्रुत
गोडा डोम
खुट्टा द्रोम
पिँडौला थुम
टाउको तालांग
जिब्रो ले
घाँटी गुक
दात संएक
औँला त्रे

(ग) पशु बुझाउने शब्दहरू
नेपाली भाषा चेपाङ भाषा

बाघ गा
गाई गइ
गोरु थारे
बाख्रा मुछ्या
कुखुरा कुइ
सुँगुर स्यार्सा

घ) क्रियापद बुझाउने शब्दहरू
नेपाली भाषा चेपाङ भाषा

जान्छु आनाङ
पढ्छु सानताङ
खाएँ ज्या
आउनु पायो
फर्कनु गोनाङ
कुट्नु दुभलाउ
फालिदिनु तालाकु

ङ) वस्तु बुझाउने शब्दहरू
नेपाली भाषा चेपाङ भाषा

गिट्ठा लाक
भ्याकुर पास
तरुल मोइ
सिस्नु नेलाउ
धान याम
निगालो निगल
बाँस रिङ
कोदो कदउ
पानी ती
जाँड हान
मासु माई
तिहुन क्यान
चामल चुई
तेल साती
नुन छे
भात आम
खरानी धापु
माछा ङामाइ
दाउरा सिङ
आँप ताकसे

स्रोत : स्थानीय भाषी

चेपाङ समुदायमा पनि अन्य जातिमा जस्तै लोकसाहित्य र सङ्गीतले विशिष्ट स्थान ओगटेको छ । मेलापात जाँदा वा रोपाइँको समयमा यिनीहरू मनोरञ्जनात्मक किसिमले गीतको भाका हाल्दछन् । दसैँतिहार जस्ता चाडपर्वमा मादल बजाएर मादलको तालमा यिनीहरू खुब रमाइलोसँग नाच्दछन् ।
तिहारमा भट्याउँदै देउसी खेल्ने गरेको पाइन्छ । लोकसाहित्यका विभिन्न विधाहरूमध्ये लोककविता वा गीत पनि महŒवपूर्ण विधा हो । यिनीहरूको जीवनमा लोकसाहित्यको पक्षमा दोहोरी गीतले महŒवपूर्ण स्थान ओगटेको पाइन्छ । केटाकेटी विवाहबन्धनमा बाँधिनसमेत मद्दत गर्ने दोहोरी गीतका केही नमुनाहरू तल प्रस्तुत गरिन्छ ।


केटो आह्मै भूमि दाङ आह्मै सिमै दिङ ।
नाङको रानी दाइ नाङको राजा काई ।
नौलाङ गाम्बैची भूमि गाम्बैची दिङ
अह्मै देवी दिङ सात देवीइ
मन भुङको भुङ चित्त भुङको भुङ
देवी भूबैची पढै भूबैची ।

(हे भूमि देवता ! हे सीमे देवता ! तिम्री छोरी जो नबोलेर बसेकी छ, तिम्री छोरी मप्रति आकर्षित गराइदेऊ, हे सात गुरु ! हे सात देवी ! तिमी सबै बसेर यो केटीको रन भुलार देऊ ।
केटी (रिसाउँदै)
आह्मै हजुरी गाना स्वालाङको गाना बाबान्को
देवी तिम्रा न्यासाम विनासाम
(आम्मै नि हजुर ! तिमी कुन ठाउँको हो ? र तिमी कुन देवीको बच्चा हौ ? अर्थात् तिमी कुन देवीको अङ्ग लिएर बोलेका छौ ?८ (ढुङ्गेल, पूर्ववत्, पृष्ठ ८७ ।)


यसबाहेक सामूहिक रूपमा नाचगान गर्ने प्रचलन पनि यिनीहरूमा रहेको छ । दिउँसोभरि कामकाजमा अलमलिएको थकित शरीरलाई केही आनन्द दिन र मनोरञ्जन प्रदान गर्न बेलुका गीत गाएर नाच्ने प्रवृत्ति पनि यिनीहरूमा पाइन्छ । विशेष गरी बेलुका काम सकिएपछि अगेनाको वरिपरि केटाकेटी, बूढाबूढी, युवकयुवती जम्मा हुन्छन् र गीत गाउँदै नाच्छन् । यस अवसरमा गाइने गीतहरू पनि प्रायः दोहोरी वा हजुरी किसिमका हुन्छन् ।९ (थपलिया, भोजराज, चेपाङ जाति एक परिचय, कोशी अचल, सुनसरी २०४४, पृष्ठ ४८ ।)

यिनीहरूमा गरगहनाको आकर्षण बाध्यतावश पनि नभएको जस्तो लाग्दछ । सुनचाँदीका गरगहना यिनीहरूका लागि क्षमताभन्दा बाहिरको वस्तु जस्तो छ । सिँगारपटारले झकिझकाउ हुन मन पराउने स्त्री जातिको स्वभाव चेपाङ महिलाहरूमा जन्मँदै कुण्ठित भएजस्तो लाग्दछ । चेपाङ महिलाहरूमा गरगहनाको कुनै आकर्षण देखिँदैन भने पनि हुन्छ । तर कसैकसैले हातमा सिल्बरका बाला र कानमा पित्तलका गहना लगाएर सिँगारपटारमा रमाउने स्त्री जातिको स्वभाव प्रकाश पार्न खोजेको भेटिन्छ ।

नाचगान गर्दा विशेष सिँगारपटार गर्नुपर्ने प्रक्रियाको प्रभाव यिनीहरूमा पनि परेको पाइन्छ । चाडबाडमा नाच्दा–गाउँदा लोग्नेमानिसले टाउकोमा टोपी जस्तो गरी मयूरको प्वाँख लगाउँछन् र खुट्टामा रुमाल बाँध्ने गर्छन् । आइमाईले चाहिँ फलामे सिक्री गहनाको रूपमा प्रयोग गरेका हुन्छन् भने कपडामा घाँघर वा बाँकटे चोलो पनि लगाएका भेटिन्छन् ।१० (मेचीदेखि महाकाली, पृष्ठ ९८९ ।)

चेपाङहरू आफूलाई पुकुन्थली र कछारे भनी दुई वर्गमा छुट्याउन सजिलो मान्छन् । पुकुन्थली भन्नेहरू खेतीपाती र पशुपालनमा लागिसकेका र अरू जातजातिको सम्पर्कमा बसउठ, लेनदेन थालिसकेका हुनाले आफूलाई अति सभ्य र शिष्ट मान्छन् । कछारेहरू पुकुन्थलीहरूको भन्दा पश्चिम भागमा अलि भिरालो जङ्गलको छेउछाउमा सानातिना छाप्रा हालेर बस्ने गर्छन् । खेतीमा सम्पूर्ण भर नपरी जङ्गलको उत्पादन खोज्ने रहर गर्छन् । बाहिरका मानिससँग निकै तर्सने, डराउने बानी हराइनसकेको हुनाले सकेसम्म नजिक नपरेर भाग्ने स्वभावका हुन्छन् । यी कछारेहरू आफूलाई कछारे चेपाङ भन्नुभन्दा सुनप्रजा भन्न मन पराउँछन् ।११ (बिष्ट, पूर्ववत्, पृष्ठ ६९ ।) आफूलाई प्रजा भन्ने पुकुन्थलीहरूको जारङ्गे, भारा, रुम प्रोशो, बरे, साउने, जुङरागे, ज्यामरागे, रिङबागे, पोदबागे, बाङ्रागे, रूपाकोटे, नाइके आदि थर पनि हुन्छन् । प्रायजसो चेपाङहरू संयुक्त परिवारमा बस्छन् । कथङ्कदाचित् छुट्टिएर भिन्न बसे तापनि गाउँ नै छाडेर जाने चलन छैन । कुनै काम गर्नुपरेमा आफ्नो जन्म दिने आमालाई सोधिन्छ । किनकि आमालाई धर्ती सम्झन्छन् चेपाङहरू । आमालाई नसोधी गरेको काम शुभ हुँदैन भन्ने मान्यता रहिआएको छ । तसर्थ आमालाई सोधनीबिना घरका अन्य सदस्यहरूले केही पनि गर्दैनन् । छोराहरू छुट्टिएर भिन्न रहे तापनि आफ्नो घरमा मीठो खाने कुरा पकाएको बेलामा आमालाई पहिले नै छुट्याएर राख्छन् । चेपाङहरूलाई जीवन धान्न र हातमुख जोर्न समस्या छ, उसले लुगाफाटो र गरगहनाहरूको आवश्यकता कसरी पूरा गर्न सकोस् । त्यसैले यिनीहरूको पहिरनको दृश्य सारै दयनीय रहेको हुन्छ । केटाकटीहरू प्रायः नाङ्गै हुन्छन् । उमेर पुगेका वयस्कहरूले मुस्किलले लाज ढाकेका हुन्छन् भने महिलाले अलि केही ठूलो कपडा वा मजेत्रो बेरेर लाज बचाउँछन् ।१२ (थपलिया, पूर्ववत्, पृष्ठ १ ।)

चेपाङहरूले मनाउने चाडपर्वमा दसैँ, तिहार, साउने सङ्क्रान्ति न्वागी प्रमुख हुन् । न्वागीलाई यिनीहरू ‘छोनम्’ भन्दछन् । न्वागी भदौ महिनामा घैया धान पाकेपछि मनाउँछन् । न्वागी मनाउन पनि उनीहरूकै घरभित्रको पाँडे भन्ने धामी नै चाहिन्छ । उसैले ढ्याङ्ग्रो ठटाएर पूजा गर्दछ । भाले काट्छ अनि देवीदेवता, कुलदेवता र पुर्खाहरूलाई चढाएर खानुपर्छ । भूमिपूजा गर्नुपर्दा पाँडे चाहिँदैन । तालिम लिएका र सपनामा देवताले मन्त्र दिएका गरी पाँडे २ थरीका हुन्छन् । सपनामा देवताबाट मन्त्र पाएकाले तालिम लिनु पर्दैन ।१३ (पाण्डेय, मधुसूदन, नेपालका जनजातिहरू, पैरवी प्रकाशन २०६०, पृष्ठ १९ ।)

चेपाङहरू पनि हिन्दु देवीदेवताहरूको पूजा आराधना गर्छन् । यी जाति दैवी शक्तिमा विश्वास राख्छन् । दैवी शक्ति खुसी भएमा जीवनमा परिवर्तन आउने तर दैवी शक्ति रिसाएमा प्रलय हुने विश्वास राख्छन् । दैवी शक्तिलाई खुसी पार्नका लागि पूजाआजा गर्ने र बलि वध गर्ने गर्छन् । समय–समयमा आफ्नो परम्परा र रीतअनुसार धार्मिक कार्यहरू गर्छन् । परिवारका कुनै सदस्य बिरामी परेमा बोक्सी, पिचासले दुःख दियो भनी धामी–झाँक्री (पाँडे) लाई देखाइन्छ । पाँडेले तन्त्रमन्त्र गरी अक्षता छर्कने कुखुरा, बोका काट्ने, दोबाटोमा दशा काट्ने र बोक्सी–पिचासले पनि छुन नसक्ने जनविश्वास पनि विद्यमान रहेको छ ।

अन्य जातिहरूमा जस्तै यिनीहरूमा पनि जातिगत भावना रहेको पाइन्छ । जातिगत हित तथा सुरक्षाका लागि देउकुल अर्थात् देवाली गर्ने प्रचलन पनि यिनीहरूमा रहेको पाइन्छ । नेपालका कतिपय जातिहरूमा झाँक्रीवादतर्फ सम्बद्ध भएर पनि ब्राह्मणहरूलाई पनि पुरोहितका रूपमा मान्ने प्रचलन पाइन्छ । तर यिनीहरू गुरु वा पुरोहितको रूपमा झाँक्रीलाई मात्र मान्दछन्, जसलाई पाण्डे वा महापाण्डे भन्दछन् । यिनीहरू आफ्नो भाषामा फाल पनि भन्ने गर्दछन् र झाँक्री आफ्नै जातिभित्रको हुने गर्दछ । यिनीहरूमा झाँक्रीको ठूलो महŒव हुन्छ । कुनै पनि चाडपर्व र संस्कारहरू सम्पन्न गर्दा झाँक्रीको उपस्थिति अनिवार्य मानिन्छ । भूमिपूजा गर्दा मात्र यिनीहरू झाँक्रीको आवश्यकता महसुस गर्दैनन् । देवता खुसी पार्ने, पितृ खुसी पार्ने, भूतप्रेत पन्छाउने, रोगव्याधि हटाउने आदि कार्य झाँक्रीले गर्न सक्तछ भन्ने विश्वास गरिन्छ । यसरी झाँक्री यिनीहरूको धार्मिक ठेकेदार जस्तो लाग्दछ । यिनीहरू वर्षको एक पटक आफ्नो सिकार पेसामा प्रयोग हुने धनुष काँडको पूजा पनि गर्दछन् ।१४ (बिष्ट, पूर्ववत्, तेस्रो संस्करण, २०३४, पृष्ठ ३४ ।)

आज आधुनिक संयन्त्र र भौतिक साधनको उपयोगिताले संसार निकै साँघुरिँदै गएको छ । जसको प्रभाव धर्ममा पनि पर्नु स्वाभाविकै हो । धर्म भन्नाले मन्दिरमा, तीर्थमा, गुफा वा स्वच्छ जीवनमा मात्र प्रयोग हुने वस्तु होइन बरु जस्तोसुकै कठिनाइ वा बाधाअड्चन परेको अवस्थामा वा हरहमेसा चिन्तन–मनन वा पालन हुनलाई मानवधर्मको नामले चिन्न सकिन्छ ।

मानवलाई जन्मेदेखि मृत्युसम्म पुग्नलाई अनेक अवस्था पार गर्नुपर्दछ । देशकाल परिस्थितिअनुसार आधारशास्त्रको निर्माण भएको छ । सम्पूर्ण मानवजीवन क्षेत्रमा एउटै किसिमको धार्मिक कार्य मानवले आत्मसात् गर्न सक्दैन । आगोले पोल्नु उसको धर्म हो, पोलेन भने आगोको अस्तित्व रहँदैन । यसै गरी धर्म रहेन भने मानव–समाज पनि रहँदैन । धर्ममा नै विभिन्न सभ्यता, संस्कृति अवलम्बित छ ।१५ (शास्त्री नेपाल, बलराम, आचार्य, संस्कृति सञ्चार मन्त्रालय, सूचना विभाग, पृष्ठ २९ ।)

चेपाङ समुदायको धार्मिक प्रवृत्तिको विश्लेषण गर्दा किरात कालसम्म पुग्नुपर्ने देखिन्छ । सम्भवतः किरात कालदेखि यता नेपालमा हिन्दु धर्मावलम्बी कट्टर आर्यहरूको आप्रवास बढ्दै गएको र कालान्तरमा किरातहरूलाई तिनै अप्रावासीहरूको सङ्ख्याले जितेर अन्ततः किरातीहरूको राज्यच्युत हुनुको साथै उपत्यकाको भूमिमा हिन्दुकरण नीति राजकीय तवरबाट लागू गरेको कुरा लिच्छविकालीन अभिलेखहरूको सन्दर्भले स्पष्ट पार्दछ । यसरी नेपाली समाजमा हिन्दु धर्म र दर्शनले प्रमुख स्थान ओगट्दै आएको देखिन्छ । खास गरी काठमाडौँ उपत्यकाको समाजमा हिन्दुधर्मकै बाहुल्य रहँदै आयो । पूर्व मध्यकालमा काठमाडौँ उपत्यकाको केन्द्रीय राजनीतिमा आएको अस्थिरताले गर्दा हिन्दुधर्मको खास उत्थान तथा संरक्षण हुन सकेन साथै दक्षिण भारतीय मैदानी भूभागमा मुस्लिमहरूको दिग्विजय बढ्दै गएकाले भारतमा रहेका हिन्दु तथा बौद्धमार्गीहरू नेपालको पहाडी भूभागतिर प्रवेश गर्न थाले । यिनीहरूको प्रवेशपछि चेपाङहरूको आफ्नै धर्म तथा जातीय रक्षा प्रमुख उद्देश्य रहन गयो । यसै बेला त्यहाँ रहेका बौद्ध धर्मदर्शन नेपाली भूभागमा भित्रिए । यसरी काठमाडौँ उपत्यका तथा पश्चिमी कर्णाली प्रदेशको खस राज्य बौद्ध धर्मका प्रमुख केन्द्रका रूपमा यति बेला विकसित भएको देखिन्छ ।१६ (ढुङ्गेल, पूर्ववत्, पृष्ठ ३९ ।)

चेपाङहरू आफ्ना सन्ततिलाई भगवान्को वरदान मान्छन् र भगवान्ले दिएको उपहार सम्झी परिवार नियोजन गर्न हुँदैन भन्ने धारणा हालसम्म यथावत् रहिआएको छ । चेपाङहरूमा बच्चा जन्मँदा तामाङ जातिको जस्तै जुन बारमा जन्मेको हो, सोही बारको नामबाट राखिन्छ । जस्तै ः आइते, सोमे, मङ्गले आदि । विशेष गरेर बालक भए घरको जेठो पुरुषले र बालिका भए घरकै जेठी महिलाले नाम राखिदिने चलन छ । पास्नी (भात खुवाउने) चलन अन्य जातिहरूको तुलनामा खासै पृथक् भने देखिँदैन । महिलाले बच्चा पाउन गाह्रो परेमा झाँक्री (पाँडे) लाई बोलाइन्छ । झाँक्री (पाँडे) ढ्याङ्ग्रो ठोकी फलाक्न बस्छन् र तन्त्रमन्त्र गरेको पानी महिलालाई खुवाइन्छ । सो पानी खान दिएपश्चात् बच्चा सजिलैसँग जन्मन्छ भन्ने विश्वास रहेको छ । खासै सुत्केरी बार्ने चलन भने भेटिएको छैन । बच्चा जन्मेको सात दिनपछि नै सुत्केरी महिला दैनिक गर्ने कामकाजमा लाग्छन् ।

हिन्दु र बौद्ध धर्म मान्नेले पनि चूडाकर्म अर्थात् छेवर गर्दछन् । छेवर गरेमा बच्चा शुद्ध हुने विश्वास गर्छन् चेपाङहरू । ३ अथवा ४ वर्षको उमेरमा छेवर गर्ने यिनीहरूले मगर जातिले जस्तै छेवर गर्ने बालकलाई पशु बाँध्ने दाम्लोले बाँध्ने चलन छ । मामाद्वारा केश मुण्डन गरी छेवर गरिन्छ । काटिएका कपालहरू बालकको फुपूले टपरीमा थाप्छन् । केश भुइँमा झर्न दिन हुँदैन भन्ने विश्वास रहेको छ । काटिएको कपाल फुपूले खोला वा नदीमा लगी सेलाउँछन् । छेवरमा मामाले आफूले सकेको लुगाफाटा र खाने कुरा दिन्छ । छेवरमा जम्मा भएका सबैलाई कुखुराको मासु, भात, जाँड, रक्सी खान दिइन्छ ।

तामाङ जातिको जस्तै चेपाङ समुदायमा मामा चेला र फुपू चेलीबीच बिहेबारी गर्न पहिलो प्राथमिकता पाउँछन् । ती युवायुवतीबीच एकआपसमा समझदारी भएको खण्डमा विवाह नहुन पनि सक्छ । यो जातिमा मागी विवाह नै गर्ने चलन छ । विवाहको कुरा चलाउन केटाको बुबा एक बोतल रक्सी लिई केटी खोज्न गाउँतिर पस्छन् । घर गरेर खान सक्ने केटी हेरिन्छ र केटीको बुबासँग विवाहको प्रस्ताव राखिन्छ र सो रक्सी केटीको बुबाले स्वीकार गरेमा विवाहको कुरो टुङ्गिन्छ । कुन मितिमा विवाह गर्ने ? भन्ने मिति तय गर्न केटीको बुबा एक बोतल रक्सी लिई केटाको घरमा प्रस्थान गर्छन् । केटीको बुबाले लगिएको रक्सी ग्रहण गरी केटा पक्षका परिवार र केटीको बुबा एकै ठाउँमा बसी जाँड, रक्सी र भोज खाई विवाहको मिति टुङ्गो लगाउने चलन पाइन्छ ।

विवाह गर्दा दुलाहा र दुलहीको उमेर १४ वर्षदेखि १८ वर्षको बीचमा उपयुक्त मानिन्छ । विवाह हप्ताको मङ्गलबार, शुक्रबार मात्र गरिन्छ । विवाह गर्दा नजिक भए एकै दिनमा र टाढा भए दुई दिन लगाएर घर ल्याइन्छ । दुलाहाको घरबाट जन्ती दुलहीको घरमा पु¥याउँदा जन्तीलाई उचित सम्मानपूर्वक जाँड, रक्सी, माछा, मासु र रोटी सगुनका रूपमा दिन्छन् । दुलहीको घरआँगनमा जग्गे बनाई दुलाहा र दुलहीलाई राखी विवाहको संस्कार गर्छन् तर विवाह गर्न पुरोहित (पाँडे) र बाजागाजाको प्रयोग गरिँदैन । दुलही लिई दुलाहा र जन्तीहरू नाचगान गर्दै दुलाहाको घरतर्फ फर्कन्छन् । दुलाहाको घरमा पस्ने मूलद्वारमा डोरी राखिएको हुन्छ । राखिएको डोरी दुलहीलाई काट्न लगाइन्छ । त्यस दिन विवाहको भोज खान डाकिएका इष्ट, मित्र, आफन्त र गाउँलेहरू भोजमा सरिक हुन्छन् ।

चेपाङहरू बहुविवाहको प्रचलनलाई अमान्य सम्झिँदैनन् । यसैले यिनीहरू दुईटा वा अझ बढी स्वास्नी बटुल्न हिचकिचाउँदैनन् । यतिसम्म कि स्वास्नी ल्याएर आफूमाथि थपिने बोझसम्मको ख्याल राख्दैनन् । दुई वा सोभन्दा बढी स्वास्नी हुने परिवारमा विशेष झगडा भइरहन्छ । कसैकसैले कान्छी स्वास्नी ल्याएपछि जेठी स्वास्नीलाई कटेरो भए कटेरातिर छुट्टै राखिदिने गरेको पनि पाइन्छ । तर सबैमा छुट्टै राखिदिने क्षमता पनि हुँदैन । तर पनि दुई गुणका छोराछोरी बढेपछि कलहले सँगै बस्न नसकिने भएकाले छोराहरू छुट्टै बस्ने गरेको पाइन्छ । छुट्टै बसे पनि ठूलो काममा आमासित सरसल्लाह गरी बढी आमाको कदर गर्दछन् । यसबाट आमाप्रतिको यिनीहरूको राम्रो दृष्टिकोण प्रस्ट हुन्छ । भिन्नै बसे पनि यिनीहरूमा वैरभाव हुँदैन । ठूलो काम पर्दा मिलेर काम गर्दछन् ।१७ (मेची महाकाली, पूर्ववत्, पृष्ठ ९८९ ।)


चेपाङ समुदायमा कसैको मृत्यु हुनासाथ आफन्तहरू जम्मा हुन्छन् । आफन्तहरूले मृतकको परिवारलाई दुःख पीडाबाट विचलित हुन नदिन सान्त्वना दिन्छन् । मृतकको लासलाई सेतो कपडाले बेरी बाँसद्वारा बनाइएको खटमा राखी चिहानतर्फ लग्छन् । प्रायजसो लासलाई गाड्नु र जलाउनुअघि मृतकको शरीरमाथि भाँडामा अन्न र सूर्ति राख्ने गरिन्छ । यसो गर्नाले मृतकको आत्मा सरासर स्वर्ग जान्छ भन्ने विश्वास विद्यमान रहेको छ । मलामी जाँदा बिजोर सङ्ख्यामा जान्छन् । महिलाहरू मलामी जाने चलन छैन । मृतकको शिर पश्चिम दिशातर्फ फर्काएर साथमा कसैले धनुष वाण र बन्चरोसमेत राखिदिन्छन् । यसो गर्नाले मृतकले स्वर्गलोकमा सिकार गरी भोको बस्न पर्दैन भन्ने मान्यता रहेको छ ।

दाहसंस्कार गरी फर्केपछि मलामीहरूलाई मृतकको परिवारले मासु खान दिन्छ । बरखी नफुकाएसम्म साग सिस्नु खाँदैनन् । किरिया जुठो १३ दिनमा फुकाइन्छ नसक्नेले १ वर्षभित्र फुकाउँछन् । मृतकका परिवारले पाँच दिनसम्म नुन बार्छन् । मृतकका छोराहरूले ७ देखि १३ दिनसम्म किरिया बस्छन् । किरिया बस्दाको समयमा किरियापुत्रीहरूले कपडा लगाउनु हुँदैन । अझ गाउँमा मान्छे मर्दा सो दिन खेतबारीमा काम गर्न नहुने भन्ने भनाइ हालसम्म पनि यथावत् रहेको छ । किरियाको अन्तिम दिन नातेदार र गाउँलेहरू जम्मा हुन्छन् । त्यस दिन चेपाङ जातिका ब्राह्मण (पाँडे) सजिएको पहिरनमा ढ्याङ्ग्रो ठोक्दै नाच्छन् र जम्मा भएका पाहुनाहरूलाई जाँड, रक्सी, माछा, मासुसमेत खान दिन्छन् ।

निष्कर्ष
नेपाल विविध जनजातिको साझा फूलबारी हो । ती अनेकन् फूलमध्ये चेपाङ जाति पनि एक हो । चेपाङ जातिको उत्पत्ति कसरी भयो भन्ने सन्दर्भमा विद्वान् एवं स्थानीय भनाइहरू फरकफरक रहेका छन् । अन्य जातिहरूको तुलनामा साह्रै नै पिछडिएका चेपाङहरूको खेतीयोग्य जमिन छैन । उनीहरू खोरिया जग्गामा बसोबास गर्दै आएका छन् । यिनीहरू जङ्गलमा पाइने कन्दमूल र पशुलाई सिकार गरी भोक टार्ने गर्छन् । यस्तो दयनीय स्थितिबाट गुर्जेका चेपाङहरूको गाँस, बास र कपासका लागि राज्यले दीर्घकालीन कार्य योजना लागू गर्नै पर्ने आवश्यकता रहेको देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *