विचार

कुन प्रयोजनका लागि कांग्रेस महाधिवेशन

महामारी र बाढीपहिरोको चपेटामा देश परिरहेको अवस्थामा नेपाली कांगे्रसले आफ्नो पार्टीको महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । २०७८ भाद्रसम्म महाधिवेशन सम्पन्न गर्नैपर्ने संवैधानिक बाध्यता रहेकाले पनि कुनै न कुनै किसमले संवैधानिक गर्जो टार्नु परेको छ । समयमा नै महाधिवेशनहरु सम्पन्न गर्न नसक्ने र आखिरी समयमा आइपर्ने चटारो सुल्झाउन उपाय खोज्नुपर्ने बाध्यता आइलागेको छ । यसले नेपालको राजनीतिक मात्र होइन अन्य क्षेत्रको काम गर्ने तौरतरिकाको पनि संकेत गरेको छ । अन्तरिम अवस्थामा गरिने प्रयास र त्यसको परिणाम सन्तोषजनक नहुने रोगबाट नेपाली समाज आक्रान्त हुँदै आएको छ । समयसीमा भित्रै सम्पनन गर्ने कार्यतालिका नभएको भए, यस्ता बाध्यतात्मक टालटुलबाट गुज्रनुपर्ने थिएन ।

नेतृत्व लिन चाहनेहरुले समयमा नै यसको उचित समाधान दिन सकेको भए देशले महामारी र बाढीपहिरोको बीचमा यस्तो चुनौति सामना गर्नुपर्ने थिएन होला । ‘जब प¥यो राति, अनि बुढी ताती’ भन्ने नेपाली उखान हरक्षेत्रमा चरितार्थ भएको छ । कोरोना नियन्त्रणदेखि बाढीपहिरो, विपद् व्यवस्थापन अनि कांग्रेसको घोषित महाधिवेशनसम्मका सन्दर्भहरु केलाउला, कोट्याउँदा यस्ता धेरै दृष्टान्तहरु प्रस्तुत गर्न सकिन्छ । समयमा गर्नुपर्ने कार्य नगर्दा बनाउनुपर्ने कार्ययोजना नबनाउँदा, तयारी नगर्दाको परिणाम सुखद नहुने अनुभवबाट नेपालको राज्य व्यवस्था, संयन्त्र र राजनीतिक नेतृत्वले कहिल्यै सिक्न सकेन, चाहेन ।

भोलिको राजनीतिक अवस्था के होला भन्ने चिन्ताले सताइरहेका बेला कांग्रेसले घोषणा गरेको अधिवेशनको मौषम समेत अनुकूल देखिँदैन ।

एकातर्फ प्रधानमन्त्री केपी ओलीले आफ्नो स्वार्थका खातिर सिंगो शासन व्यवस्था नै असफल बनाउने चाहाना राखेका छन् । जसका लागि जनप्रतिनिधिमूलक संस्था विघटन गरी निर्वाचनको घोषणा गरेका छन् । संवैधानिक मूल्य मान्यता र आदर्शलाई अपमानजनक किसिमले ध्वस्त बनाउन खोजेको देखिन्छ । परिवर्तनका उपलब्धीहरुको रक्षा गर्नभन्दा भत्काएर बद्नाम गरेर असफल घोषित गर्ने उल्टो दिशातर्फको यात्रा गरेको अनुमान गर्न थालिएको छ । यसले ल्याउने दुष्परिणामको आकलन अहिले नै गर्न नसकिने अवस्था छ ।

महामारीले समाजलाई अस्तव्यस्त मात्र बनाएको छैन, गम्भीर मानवीय संकट ल्याउने सम्भावना देखिन्छ । प्राकृतिक प्रकोपको रुप प्रारम्भमा नै खतरनाक देखियो । वर्षायामको सुरुवातमा नै देखिएको विनासले अत्यास लागेको छ । प्रकृतिमाथि गरिएको खेलवाडको चरम रुप यस्तै मात्र होइन योभन्दा निर्मम हुने सम्भावना छ । मध्य वर्षामा के हुने होला भन्ने भय र त्रासबाट आम नेपाली चिन्तित छन् । तर हाम्रो नेतृत्व आपसको लेनदेन, खिचातानी, झगडा, भागवण्डा र बाध्यात्मक व्यवस्थापनले चिथिएको यसबाट माथि उठेर मुलुकका प्रमुख कार्यभार समाल्ने दिशातर्फ थोरै पनि गम्भीरता र इमान्दारिता छैन ।

समयमा गर्नुपर्ने कार्य नगर्दा बनाउनुपर्ने कार्ययोजना नबनाउँदा, तयारी नगर्दाको परिणाम सुखद नहुने अनुभवबाट नेपालको राज्य व्यवस्था, संयन्त्र र राजनीतिक नेतृत्वले कहिल्यै सिक्न सकेन, चाहेन ।

यस्तो अवस्थामा घोषित कार्यतालिका बमोजिम नेपाली कांगे्रसको महाधिवेशन सम्पन्न हुनसक्छ वा सक्दैन ? भएमा कस्तो किसिमले होला, कस्तो नेतृत्व आउला ? कोरोना महामारीको रुप कस्तो होला ? प्राकृतिक विपत्ति, बाढी पहिरो र डुवानको अवसथा कस्तो होला ? पहाडमा बाढी–पहिरो, तराइमा डुवान एकातिर अर्कोतर्फ कोरोनाको त्रास र संक्रमणको जोखिम विस्तारको सम्भावना । यस्तो अवस्थामा कसरी महाधिवेशन सम्पन्न हुनसक्ला ? नभएमा कस्तो संवैधानिक र कानुनी व्यवधान आउला ? भन्ने आम जिज्ञासा उत्पन्न भएको छ ।

नेपाली कांगे्रस पार्टीको नाम र चुनाव चिह्नका लागि मात्र महाधिवेशन हुने वा नीति, विचार र कार्यक्रमको पनि महाधिवेशन हुने हो ? कि नेतृत्व छनोटको मात्र महाधिवेशन हो ? अहँ र गम्भीर सवालहरु छन् । नेपाली कांगे्रसले परिवर्तनको नेतृत्व गर्न सक्छ वा सक्दैन ? लोकतान्त्रिक शासन व्यवस्थाको स्थायित्व, विकास र सुदृढीकरणका लागि कस्तो नेतृत्व र कुन विचार कस्ता कार्यकर्ता र कस्तो कार्यक्रम ? तपाईं प्रधानमन्त्री बन्नुस्, मलाई सभापति बनाउनुस्, तपाईं महामन्त्री वा उपसभापति बन्नुस, उहाँलाई मन्त्री वा अरु केही बनाउँला ? विचार र कार्यक्रम, कार्यकर्ता र नेतृत्वका बारेमा छलफल आवश्यक छैन भन्ने खालका धारणाहरु पनि आउँन थालेका छन् । अधिकांश नेता र कार्यकर्ता सके आफ्नो बढुवा गराउने नसके भएको पदीय हैसियत कायम राख्ने सोच र चिन्तनबाट निर्देसित छन् ।

हाम्रो नेतृत्व आपसको लेनदेन, खिचातानी, झगडा, भागवण्डा र बाध्यात्मक व्यवस्थापनले चिथिएको यसबाट माथि उठेर मुलुकका प्रमुख कार्यभार समाल्ने दिशातर्फ थोरै पनि गम्भीरता र इमान्दारिता छैन ।

पार्टी कब्जा गर्ने रणनीति र कार्यनीतिबाट प्रशिक्षित भएका छन् । पार्टीको सिद्धान्त र आदर्शलाई नभई व्यक्तिको लहडलाई बोक्ने कार्यकर्ताबाट नेतृत्व छनोट हुने बलियो आधार बन्दै गएको छ । योग्यता, क्षमता, निरन्तरता, त्याग र इमान्दारिताको कुनै कदर नै छैन । आफ्नो व्यक्तिगत स्वार्थ पूरा गराउन कसरी सकिन्छ भन्ने सोच र चिन्तनबाट ग्रसित नेतृत्वले बनाएको पार्टी संगठन र प्रशिक्षित लम्पट कार्यकर्ताहरुको पंक्तिबाट आउने नेतृत्वले समयका चुनौतिहरु सामना गर्न सक्छ भन्ने विश्वास नै गर्न सकिँदैन । समयको चापमा रहेको पार्टीले हतारमा, बाध्यात्मक किसिमले गर्ने अधिवेशन, त्यसमा पनि समय काल परिस्थिति प्रतिकूल भएको क्षणमा आउने परिणाम राम्रो त परै जाओस् सन्तोषजनक पनि हुने छैन ।

कम्युनिष्ट नेतृत्वको दुईतिहाइ नजिकको सरकारबाट वाक्क दिक्क भएका नेपाली कांग्रेसको महाधिवेशनको समय, प्रक्रिया र परिणामबाट थप निरास बन्ने सम्भावनामा ज्यादा देखिन्छ । भोलिको राजनीतिक अवस्था के होला भन्ने चिन्ताले सताइरहेका बेला कांग्रेसले घोषणा गरेको अधिवेशनको मौषम समेत अनुकूल देखिँदैन । कर्मकाण्डी अधिवेशनले नाम झन्डा र चुनाव चिह्न त जोगिएला तर नेपाली कांग्रेसको आस्था, विश्वास र भरोसा अनि मूल्य, मान्यता सिद्धान्त पुनर्जागृत होलाजस्तो लाग्दैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *