रिबन

उपत्यकामा ‘स्मार्ट लकडाउन’ लागु गर्नेबारे आज बैठक बस्दै


काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दैछ । निषेधाज्ञाबारे छलफल गरी आवश्यक निर्णय लिन बैठक बस्ने तयारी गरिरहेका हुन्। बैठकमा यही महिनाको दोस्रो हप्ताबाट आर्थिक क्षेत्र चलायमान हुने गरी निषेधाज्ञा (स्मार्ट लकडाउन) कार्यान्वयन का सन्दर्भमा छलफल हुने बताइएको छ ।

कोभिड–१९ निर्देशक समिति बैठकले असार ७ गतेपछि ‘स्मार्ट लकडाउन’ लागू गर्न निर्देशन दिइसकेको छ । स्मार्ट लकडाउन मुलुकको आर्थिक क्षेत्रलाई चलायमान बनाई कोरोना सङ्क्रमण घटाउने रणनीति हो ।

अहिले खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ भने निर्माण सामग्री विक्री गर्ने पसल अपरान्ह ४ बजेपछि खुल्दै आएका छन्। केही साता यता कारोना संक्रमित घटेपनि नियन्त्रणउन्मुख भने छैन । कोरोना संक्रमित घट्दै गए पनि जोखिम भने कायमै रहेकोले निषेधाज्ञा एक साता बढाउने तयारी छ।
जोर बिजोर कायम हुने गरी सवारी साधन चल्न दिने, सरकारी कार्यालयमा भिड कम गर्न सातामा दुई दिन बिदा दिनेजस्ता विकल्प अगाडि सारेर छलफल गरिए पनि त्यसअनुसार निर्णय भइसकेको छैन।
उपत्यकामा वैशाख १६ गतेबाट जारी निषेधाज्ञाको दुई महिना बितेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आजको बैठकमा निषेधाज्ञा जारी राखी जनजीवनलाई कसरी सहज बनाउन सकिन्छ, त्यसबारे छलफल हुने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट