समाचार

अर्घाखाँचीका धार्मिक, ऐतिहासिक स्थल र पर्यटनको सम्भावना

अर्घाखाँची। चौबिसे राज्यअन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य मिलेर अर्घाखाँची जिल्ला बनेको हो । नेपाल एकीकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा मिलेको इतिहास छ ।

चौबिसे राज्यको समयमा अर्घा र खाँचीका राजाले लडाइँ झगडा नगर्ने र मिलेर अघि बढ्ने भनी तत्कालीन अवस्थाको खर्कमा सन्धि गरेकाले उक्त स्थानको नाम सन्धिखर्क रहन गएको इतिहासकारहरु बताउँछन् । उक्त ठाउँ अहिले सन्धिखर्क नामले परिचित छ, जुन जिल्लाको सदरमुकाम हो ।

यस्ता ऐतिहासिक र धार्मिकस्थलहरु प्रशस्त रहेको यस जिल्लामा बाह्यभन्दा पनि बढी आन्तरिक पर्यटनको सम्भावना धेरै रहेको छ । यहाँका यस्ता धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरूमा सुपा देउराली, नरपानी, पाणिनि तपोभूमि, बल्कोट पौवा, अर्घा भगवती, छत्र महाराज मन्दिर, पतञ्जलीको जन्म भएको स्थल, मालारानी, शान्ति बगैँचा, नरसिंह थान बामरुकलगायत रहेका छन् ।

सुपा देउराली

सुपा देउराली नेपालका एक प्रसिद्ध शक्तिपीठा मानिन्छन् । सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । कडा चट्टानको बिचमा निर्माण गरिएको सडक छ र त्यही सडकको छेउमा मन्दिर छ । यो मदिर दर्शनका लागि देशभरबाट मानिसहरू जाने गर्दछन् ।

विगतका वर्षहरूमा दैनिक दुई सयदेखि एक हजार जनाले दर्शन तथा पूजाआजा गर्ने गरेकामा अहिले आएर दैनिक पाँच सयदेखि तीन हजार जनासम्म दर्शनार्थी यहाँ पुग्ने गरेका सुपा देउराली मन्दिर संरक्षण समितिका अध्यक्ष पृतम थापाले बताउनुभयो । अहिले भने कोरोना महामारीका कारण यहाँ दर्शन गर्न आउने धार्मिक पर्यटक छैनन् ।

मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलवस्तु, दाङ, प्यूठान, गुल्मी, रुपन्देहीबाट बढी मात्रामा धार्मिक पर्यटक आउने गर्छन् । भारतको उत्तर प्रदेश, विहारबाट समेत धार्मिक पर्यटक सुपा देउराली दर्शन गर्न आउने गरेका छन् ।

पहाडको मनोरम दृश्यले भरिपूर्ण नरपानी प्रमुख वनभोज स्थलका रुपमा विकसित हुँदै गएको छ । गर्मीको समय आजभोलि पनि यस क्षेत्रमा शीतलको आनन्द लिन कपिलवस्तु, रुपन्देही, दाङ, नवलपरासी, बाँके र बर्दियाबाट दैनिक रुपमा हजाराँै मानिस आउने गरेको सन्धिखर्क नगरपालिका–६ का वडाध्यक्ष कृष्णबहादुर आचार्यले बताउनुभयो । कोरोनाका कारण केही समय बन्द भएको यस क्षेत्रमा पुनः आन्तरिक तथा बाह्य पर्यटकहरू बढ्ने अपेक्षा गरिएको छ ।

पाणिनि तपोभूमि पणेना

नेपालका एक सय गन्तव्य स्थलभित्र परेको पाणिनी तपोभूमि विश्वको प्राचीन भाषा संस्कृत व्याकरणको उत्पत्ति एवं रचना भएको स्थान हो । हजारौँ वर्ष पहिले पाकिस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदिममा आएका पाणिनि ऋषिले पणेनाको लेकमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेका थिए । पाणिनि तपोभूमि क्षेत्र विश्वकै भाषा सम्पदाको प्रमुख स्थल मान्न सकिन्छ ।

यसै क्षेत्रमा आएर पाणिनि ऋषिले तपस्या गरेपछि भगवान् शिव प्रसन्न भएर डमरु बजाउँदै चौध सूत्रको स्वर निकालेको र ती चौध सूत्रबाट संस्कृत व्याकरणको रचना गरेको पण्डित केसवानन्द मरासिनीको भनाइ छ । यस क्षेत्रलाई विश्वकै एउटा धार्मिक तथा पर्यटकीय स्थलका रुपमा पनि विकास गर्न सकिन्छ ।

पाणिनि गाउँपालिका–१ पणेनामा यो तपोभूमि पर्दछ । यस तपोभूमिबाट उत्तर फर्कँदा हिमालय शृङ्खला तथा दक्षिण फर्कँदा तराईका फाँटहरु अनि भारतीय भूमि देख्न पाइन्छ । अर्घाखाँचीको पोखराथोक र पाल्पा जिल्लाको तीनधारेबाट केही मिनेट उकालो हिँडेपछि यस क्षेत्रमा पुग्न सकिन्छ । यस क्षेत्रको धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्त्वका बारेमा प्रचारप्रसार गर्न यसबाट यस क्षेत्रले मात्र नभई देशले नै लाभ लिन सक्ने बताइन्छ ।

पाणिनि ऋषिले तपस्या गरेको र संस्कृत तथा नेपाली व्याकरणको उत्पत्ति भएको भन्ने धेरै प्रमाण भेटिएको पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताउनुभयो । पाणिनि गाउँपालिकाको नाम पनि यही तपोभूमिको नामबाट रहन गएको हो ।

बल्कोटको बिचित्रको पौवा

जङ्गबहादुर राणाको न्वारान भएको स्थान भनेर चिनिने विचित्रको बल्कोटको पौवा छत्रदेव गाउँपालिका–२ मा पर्दछ । प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा तत्कालीन कर्नेल सनद सिंह टन्डनको नेतृत्वमा अत्यन्तै आकर्षक शैलीमा पौवा र त्यसभित्र शिवालय मठ तथा अन्य मन्दिरहरूसमेत निर्माण भएका हुन् ।

विसं १९०४ मा निर्माण सुरु गरी १० वर्षमा पौवा तथा मन्दिरहरू निर्माण गरिएको स्थानीयवासीको भनाइ छ । जङ्गबहादुरका बुबा बालनरसिंह सेनाका अधिकारी थिए । उनी बारुदखाना प्युठानको प्रमुख थिए । विसं १८६० को दशकमा जुम्लाको सिञ्जा प्रान्तमा गुठीको जग्गाले विवाद बढायो । विवाद बढेपछि गुठीको विवाद समाधान गर्न बालनरसिंहलाई १८६९ मा जुम्ला खटाइएको थियो । उनी जुम्ला जाँदा श्रीमतीलाई लिएर गएका थिए ।

जुम्लामै रहँदा श्रीमती गर्भवती भइन् । त्यो समयमा गर्भवती हुँदा माइती जाने प्रचलन थियो । उनी तत्कालीन प्रधानमन्त्री भीमसेन थापाकी बहिनी थिइन् । जुम्लाबाट माइती गोर्खा जाने क्रममा अर्घाखाँचीको वाङ्गलामा रहेका लामपाटी अर्थात् मथुरामा विसं १८७४ सालमा उनले सात महिनामा जङ्गबहादुरलाई जन्माइन् ।

त्यस बेला लामपाटीमा घन्घोर जङ्गल रहेको थियो । नजिकैका कृषकहरू पाण्डे थरकाले उनको स्याहारसुसार गरेको र पछि बल्कोटको पौवा रहेको स्थानमा लगी सुत्केरी र बच्चालाई राखेका थिए । त्यही स्थानीय खनाल थरका ब्राह्मणहरुले न्वारान गराएर त्यो बालकको नाम वीरनरसिंह राखेको नेपालको संस्कृतिमा रुचि राख्ने स्थानीयवासी नारायण भट्टराई बताउनुहुन्छ । सुत्केरी दरिएपछि माइती गोर्खा गएकी थिइन् । पछि वीरनरसिंह जङ्गे स्वभावको भएको हुनाले उनको नाम जङ्गबहादुर रहेको भनाइ छ ।

कतिपयले जङ्गबहादुरको जन्म गोर्खा र कतिले काठमाडौँको थापाथलीमा भएको भन्ने गरे पनि उनी लाम्पाटीमा जन्मिएका थिए । इतिहासकारहरु प्रा दिनेशराज पन्त र युवराजशमशेर जवराले जङ्गबहादुर लाम्पाटीमा जन्मिएको र वल्कोटको पौवामा आएर न्वारान भएको त्यसपछि त्यसै स्थानमा कर्नेल सनदसिंह टन्डनको नेतृत्वमा विचित्रको पौवा निर्माण भएको उल्लेख गरेको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताए ।

काठका आकृतिमा यौनाङ्गका चित्र देखाइएको शैलीमा निर्माण भएको विचित्रको पौवा निर्माण गरेका कालीगढको हात पछि राणा शासनकै पालामा काटिएको पनि स्थानीयवासी बताउँछन् । तर कसले कहिले कुन कालीगढको हात काटेका थिए भन्ने बारेमा स्पष्ट तथ्य भने भेटिँदैन । सन्धिखर्क बल्कोट तम्घास सडकको छेउमा यो राणाकालीन इतिहास बोकेको पौवा रहेको छ । तर प्रचारप्रसारको अभावमा यसबारेमा धेरैलाई ज्ञान भने छैन ।

महर्षि पतञ्जलिको जन्मस्थल वलारे पाङ्ग्रे

महर्षि पतञ्जलिको जन्म शीतगङ्गा नगरपालिका–७ ऐरावतीको वलारेपाङग्रेमा भएको विश्वास गर्दै यस ठाउँलाई राम्रो बनाउने काम शीतगङ्गा नगरपालिकाले गरिरहेको छ ।

महर्षि पतञ्जलिको जन्म अर्घाखाँचीमा भएको पुष्टिसहित स्व प्राध्यापक डा विष्णुराज आत्रेयद्वारा लिखित पतञ्जलि नामक पुस्तकमा उल्लेख गरिएको छ । पुस्तकमा महर्षि पतञ्जलिको जन्म शीतगङ्गा नगरपालिका–७ ऐरावतीको वलारेपाङ्ग्रेमा भएको उल्लेख गरिएको छ ।

पतञ्जलिको जन्म भएको कारण अहिले अमराईदेखि जुकेना, जलुके हुँदै लामाताल, ऐरावती जोड्ने सडकको नाम पनि पतञ्जली मार्ग नामकरण भएको शीतगङ्गा नगरपालिकाका नगरप्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिए ।

छत्र महाराजको मन्दिर

छत्र महाराजको मन्दिर छत्रदेव गाउँपालिका–५ मा पर्दछ । किंवदन्तीअनुसार महाभारत युद्धमा उजुकनगरीका छत्रदेव महाराज युद्ध लड्न गएको र श्रीकृष्ण यिनको शक्तिबाट प्रभावित भएका थिए ।

छत्रदेव महाराज जसको पक्षबाट युद्ध लड्यो उसैको विजय हुने भन्ने दाबीपछि श्रीकृष्णले प्राणदान मागेको र प्राणदान दिएको जनश्रुति पनि रहिआएको छ । त्यसपछि छत्रदेव महाराजले महाभारत युद्ध हेर्ने र आफ्नो बासस्थानमै रहने इच्छा व्यक्त गरेकामा भीमसेनले बाँसको टुप्पोमा टाउको राखी महाभारत युद्ध देखाएका र त्यसलाई उनको जन्मस्थलमा लगेको किंवदन्ती पनि यहाँ रहिआएको छ ।

यहाँको मूल मन्दिरको गर्भगृहमा उक्त टाउको राखिएको र सो टाउकामा पूजाआजा गर्दै आएको तर पुजारीलगायत कसैले हेर्न नमिल्ने स्थानीयवासी बताउँछन् । छत्रदेव गाउँपालिकाले छत्रदेवालय मन्दिरको मर्मत सम्भार तथा आवश्यक पूर्वाधारमा जुटेको छ । एक करोड १० लाखको लागतमा छत्रदेव हुँदै गुल्मीको तम्घास जाने सडकबाट मन्दिरमा जाने एक हजार २४८ सिँढी र रेलिङ निर्माण गरेको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताउनुभयो ।

मालारानी

मालारानी गाउँपालिकाको खनदहमा रहेको मालारानी मन्दिर राष्ट्रिय स्तरमा नै परिचित छ । यसको संरक्षण र संवर्द्धनका लागि सरोकारवालाहरूका कारण मन्दिर जीर्ण रुपमा देखा पर्दछ । बाइसे र चौबिसे राज्यको पालामा, माला नाम गरेकी रानी यो स्थानमा बसेका कारण उनैको नामबाट मालारानी रहेको कुरा किंवदन्तीमा उल्लेख छ ।

स्थानीय ज्येष्ठ नागरिकको भनाइअनुसार मन्दिर नजिकै माला नाम गरेकी रानी बसोबास गर्ने समयमा गाउँका गोठालाहरु यहाँको घन्घोर जङ्गलमा गाई चराउन आउने तर यहीँबाटै गाई फर्काउने गरेका कारण यो स्थानलाई गाईखर्केनी पनि भन्ने गरिन्छ । यसरी चर्न आएका गाईहरुले यो स्थानमा रहेको एउटा ढुङ्गामाथि दूध चढाउने गरेका कारण दिन प्रतिदिन यो स्थानको महत्त्व बढ्दै गएको जनविश्वास रहेको छ । मलारानी मन्दिरभित्र कालिका देवी, सिद्ध, गणेश, हनुमान, होमनकुण्ड, शिव लिङ्गलगायत मूर्ति छन् ।

अर्घा

अर्घा अग्लो पहाडको थुम्कोमा अवस्थित प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको रमणीय थलो हो । बाइसे चौबिसे राज्यका समयमा राजकाज चलाउने स्थानका रुपमा रहेको यहाँ हाल महाकाली मन्दिर र पुराना तथा जीर्ण बनेका दरबारहरू रहेका छन् । पन्ध्रौँ शताब्दीदेखि अस्तित्वमा रहेको यो मन्दिरमा विजयादशमीको पूर्णिमाका दिन विशेष मेला लाग्छ ।

अर्घा भगवती मन्दिरमा अहिले देवी भगवतीको मूर्ति राख्न सन्धिखर्क नगरपालिका लागिपरेको छ । रु एक करोड ३५ लाखमा उक्त मूर्ति राख्न थालिएको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसालले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट